आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले नक्कली भुटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताए । उनले अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह गरे ।
उनले भने, “नक्कली भुटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ । संलग्न देखिएका मानिसलाई धिक्कार छ । यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अनुसन्धान प्रक्रियालाई पूर्णरूपले टुङ्गोमा लैजानबाट बञ्चित गरियो भने नेपाली जनताले सहन छैनन् । आन्दोलनको सम्भावना छ । यो आजको सरकार र प्रहरीले सुनोस् ।”
हालका उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी केसी आउनुअघि नै पीडित उपत्यका अपराध अनुसन्धान कार्यालयमा धाउन थालेका थिए । त्यसअघि हालका आइजीपी कुँवर अपराध अनुसन्धान कार्यालय प्रमुख हुँदा उजुरी आउन थाले पनि चर्को राजनीतिक दबाबले अनुसन्धान टुटेको थियो । गिरोहकै योजनामा उनीपछि एसएसपी जनक भट्टराई कार्यालय प्रमुख भए । ६ महिना कार्यालय प्रमुख भएका भट्टराईको कार्यकालमा पनि उक्त प्रकरणको अनुसन्धान अघि बढ्न सकेन । भट्टराईपछि कार्यालय प्रमुख भएका एसएसपी केसीले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा चासो राखे । उनी कार्यालय प्रमुख भएर आउँदा यो प्रकरणसँग जोडिएका मुख्य योजनाकारहरू भागेका थिए । उनीहरूले भित्रभित्रै पीडितको पैसा फिर्ता गरेर यो प्रकरणलाई सामसुम पार्न खोजे पनि सफलता मिलेन । केही पीडितलाई पैसा फिर्तासमेत गरे । तर, सयौँ व्यक्तिबाट करोडौँ रकम उठाएर उपल्लो स्तरसम्मै पु¥याएका कारण उनीहरूले सबैको रकम फिर्ता गर्नसक्ने अवस्था थिएन । ठगिएको निवेदन दिनेको सङ्ख्या दिनदिनै बढ्न थाल्यो । उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पनि चुनौती थपिँदै गयो । यसैबीच काठमाडौँ प्रहरी परिसरले यो प्रकरणमा सङ्गठित अपराधमा अनुसन्धान गर्ने जुक्ति निकाल्यो । (नागरिक, २०८० जेठ १३)
नक्कली शरणार्थीका नाममा ठूलो गोरखधन्दा चलिरहेका बेला झापा, बेलडाँगीको शिविरमा बस्ने दुई सक्कली शरणार्थी आमाहरूको हतारो आफ्नै काइदाको देखिन्थ्यो । वैशाखको अन्तिम आइतबार बिहान सखारै डम्बरकुमारी अधिकारी र कलावती मगर मेचीपुल नाघेर पानीट्याङ्की–सिलिगुढीतिर जाने क्रममा थिए । यी आमाहरूका साथमा ५÷७ वटा ठूला ब्याग र आ–आफ्ना हातेझोला थिए, भुटानी रङ्ग–प्रकारको मजेत्रोले मुख ढाक्दै उनीहरू एकअर्कामा बात पनि मार्दै थिए– “आज अलिक चाँडै फुन्चोलिङ पुग्न पाए माथि जेलमा खबर पुग्थ्यो होला, भोलि बिहानै चेम्गाङ उक्लिन सजिलो हुन्थ्यो नि ।”
उमेरले ६० नाघेका आमाहरूले मनमा थुप्रिएर बसेका वर्षौंवर्षका गुम्फनहरू निरन्तर पोखिरहे । हाम्रा छोराहरू झेल (भुटानी लवज) मा छन्, १५ वर्ष बितिसक्यो खोरमा बसेको । डम्बरकुमारी बोल्दै थिइन्, “तिनेरलाई नभेटेको पनि ५ वर्ष छुनै लागेछ । त्यही भएर बल्लतल्ल मौका जुरेकाले हामी छोरा भेट्न हिँडेका नि ।” (कान्तिपुर, २०८० जेठ १३)
यो प्रकरणमा संलग्नविरुद्धको अभियोगपत्रमा जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदन, गजेन्द्र बुढाथोकी, रामकुमार रेग्मीसमेतको किटानी जाहेरी दर्खास्त, विभिन्न कागजातको प्रतिलिपि समावेश छन् । त्यस्तै नक्कली भुटानी शरणार्थी बनाउने प्रलोभन दिएका दाङका सन्देश शर्माले बुढाथोकीलाई ह्वाट्स एपमा पठाएका विभिन्न सूचनाहरू पनि बुझाइएको छ । नेपाली नागरिकको नाममा जारी भएको भुटानी शरणार्थीहरूको परिचयपत्रका प्रतिलिपिहरू पनि समावेश छ । जाहेरवाला बुढाथोकी र रेग्मीको नाममा शर्माले काटेको चेकको प्रतिलिपि, कल विवरण, विभिन्न बैङ्कहरूको पत्र तथा बैङ्क स्टेटमेन्ट, प्रहरी प्रतिवेदन, रकम असुल्ने सागर राईको मोबाइलमा रहेको स्क्रिन सर्ट विवरण पनि समावेश छ । (अन्नपूर्ण, २०८० जेठ १२)
केही कानुन व्यवसायीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपितहरूको कानुनी प्रतिरक्षा नगर्ने भएका छन् । कुनै सार्वजनिक प्रतिक्रिया नजनाई उनीहरूले ‘व्यस्तताको कारण’ भन्दै मुद्दा नहेर्ने निधो गरेका हुन् । सामान्य छलफलबाट यस्तो निष्कर्षमा पुगेपछि उनीहरूले प्रक्रियाको क्रममा ‘व्यक्तिगत रुचि’ भन्ने तय गरेका छन् ।
‘यो राष्ट्रहितविरुद्धको काम हो, मुलुकको छवि नै अन्तर्राष्ट्रियस्तरमा गिराउने गरी लज्जाको विषय बनेको छ’ एक कानुन व्यवसायीले अनलाइनखबरसँग भने, ‘मन्त्रिपरिषद्देखि गृह मन्त्रालयमा भ्रष्टाचार र माफियाको जालो फैलाएर गरिएको यो मुद्दाबाट हामी टाढा नै बसौँ भन्ने भएको हो ।’ (अनलाइन खबर, २०८० जेठ १२)
Leave a Reply