भर्खरै :

नेमकिपा प्रदेश १ समितिको कार्यकर्ता भेला तथा प्रशिक्षण

नेमकिपा प्रदेश १ समितिको कार्यकर्ता भेला तथा प्रशिक्षण

काठमाडौँ, १३ जेठ । नेपाल मजदुर किसान पार्टी १ नं. प्रदेश समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
प्रशिक्षण कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले कम्युनिस्ट पार्टीको पार्टी सदस्यता प्राप्त गर्न सजिलो नभएको कुरा राख्दै कार्यकर्ताले पार्टी अनुशासनलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले शासक दलका सांसद, मन्त्री र प्रधानमन्त्रीहरू विदेशी गिरोहबाट सञ्चालन भइरहेको हुँदा नेपाल र नेपाली जनताको हित नहुने बताउनुभयो । उहाँले पुँजीवादी व्यवस्थामा कामदार जनताले सुख नपाउने भएकोले नयाँ पुस्तालाई सङ्घर्षको भावना अभिपे्ररित गर्न निर्देशन दिनुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालय विधेयक दर्ता गरेको १० वर्ष भइसक्दा पनि संसद्मा पेश नगर्नु कामदार वर्गका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्नबाट शासक दलले वञ्चित गर्नु हो उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सन् १९५० को नेपाल–भारत सन्धि देशघाती हो । भारतीय एकाधिकार पुँजीले गर्दा देशमा आर्थिक मन्दी निम्तिएको हो । नक्कली भुटानी शरणार्थी, सीसीटीभी काण्ड, ३३ किलो सुन, वाइडबडी काण्डहरूमा ठूल–ठूला नेताकै हात भएको हुनाले सरकारले केही गर्न सक्दैन ।”
प्रदेश समितिका संयोजक उकेश कवांले पुँजीवादी व्यवस्थामा छायाको रूपमा रहेको भ्रष्टाचारले गर्दा महँगी बढ्ने र कामदार जनताले दुःख पाउने उल्लेख गर्नुभयो । उहाँले पार्टीमा अवसर खोज्नेहरू लामो समय टिक्न नसक्ने बताउँदै विभिन्न जिल्लामा भइरहेको पार्टी गतिविधिबारे जानकारी गराउनुभयो ।
समितिका संयोजक उकेश कवांको सभापतित्वमा भएको कार्यक्रममा भोजराज बस्नेत, विष्णु खत्री, महेन्द्र बखुन्छेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *