भर्खरै :

सहकारी नीतिहरूको परिमार्जन गर्न अन्तरक्रिया

सहकारी नीतिहरूको परिमार्जन गर्न अन्तरक्रिया

भक्तपुर, १३ जेठ । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले विद्यमान विभिन्न नीतिहरूलाई समय सापेक्ष परिमार्जन गर्ने उद्देश्यले संस्थाको समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरूबिच शनिबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो ।
जेठ १२ गतेसम्ममा कुल वासलात ३ अर्ब ३६ करोड, ४६ लाख ४१ हजार ७३८ रूपैयाँ २७ पैसा रहेको भक्तपुर साकोसलाई नीतिको आधारमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढाउने उद्देश्यले आयोजित सो अन्तरक्रिया कार्यक्रमको उद्घाटन संस्थाका कानुनी सल्लाहकार रामप्रसाद प्रजापतिले गर्नुभएको थियो ।
देशको संविधान नबाझिने गरी सहकारीको नीति, नियम र विनियम बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले समय अनुकूल नीति निर्णय भए संस्था सहज ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
विदेशमा रोजगारी पठाउने सरकारको एक नीतिले आज ८० लाख युवाहरू विदेसिएको उल्लेख गर्दै उहाँले त्यही नीतिको कारण नेपाली भूमि बाँझो रहेको, उत्पादन शून्यसरि भई आयात बढिरहेको बताउनुभयो ।
नीतिको आधारमा नै ऐन कानुन बन्ने उल्लेख गर्दै उहाँले शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भन्ने नीतिको आधारमा ऐन, नियम र कार्यक्रम बनेको हुन्छ भन्नुभयो ।
सहकारी अभियानकर्ता भरत सिंह थापाले सहकारी संस्थाहरू कठिन स्थितिमा गुज्रिरहेको बेला भक्तपुर साकोस सहज ढङ्गले अघि बढिरहेकोमा धन्यवाद दिँदै सुशासनमा चल्ने सहकारी बलियो र जनताको विश्वासिलो संस्था हुने विश्वास व्यक्त गर्नुभयो ।
सहकारी मूल्य र मान्यताको आधारमा चलेको सहकारी संस्थाले देश विकास र रोजगारीमा महत्वपूर्ण काम गरेको हुन्छ भन्नुभयो ।
संस्थाका सभापति एवम् अन्तरक्रिया कार्यक्रमका अध्यक्ष बलराम प्रजापतिले अन्य सहकारी, उद्योग, व्यापार, व्यवसायको स्थिति नाजुक भइरहेको बेला सहकारी भावना, प्रभावकारी नेतृत्व, इमानदारिता, दक्ष जनशक्ति, सदस्य सहभागिता र सफलताले भक्तपुर साकोसले नाउँ पाएको चर्चा गर्दै संस्था नीति, विधि र प्रक्रियामा जान अन्तरक्रिया फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा सत्यनारायण साय्जुले कर्मचारी प्रशासन नीति, नीभा कोजुले आर्थिक प्रशासन नीति, अञ्जना छुस्याबागले ऋण नीति, दिनेश धौबञ्जारले बचत नीति तथा दयालक्ष्मी धन्छाले शेयर र सदस्य नीतिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
संस्थाका सदस्य जगन्नाथ प्रजापतिले संस्था व्यक्तिमुखी होइन नीतिमा आधारित रहेर चल्नुपर्ने बताउनुभयो भने अर्का सदस्य विष्णुकुमार प्रजापतिले अन्तरक्रिया कार्यक्रमको महत्वबारे चर्चा गर्नुभयो ।
दोस्रो चरणको कार्यक्रममा अन्तरक्रियाको निचोड निकाल्न विभिन्न समितिलाई जिम्मा दिइएको थियो ।
सामूहिक छलफलपछि आफ्नो सुझावसहितको निचोड प्रस्तुत गरिएको थियो । उक्त संस्थामा हालसम्ममा निक्षेप २,८४,८०,७१,३६६।८४, ऋण लगानी २,७६,४९,४५,९८०। तरलता ४६,९२,३४,४४०।९३, कुल आम्दानी २९,५२,१६,२२२, ब्याज खर्च २५,४३,६६,२३२ र कुल नाफा २,९५,३४,२२१ रूपैयाँ रहेको छ ।
जेठ १२ गतेसम्ममा संस्थामा सदस्य सङ्ख्या ८,२२० र बाल बचत सदस्य १,३०० रहेका छन् । हाल संस्थामा १३६८ जना ऋणी सङ्ख्या रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *