भर्खरै :

आज पनि फरक ढङ्गमा ज्ञानमाथि प्रतिबन्ध छ !

आज पनि फरक ढङ्गमा ज्ञानमाथि प्रतिबन्ध छ !

भक्तपुर नगरपालिका युगअनुसार समुदायको उत्थानको निम्ति आधुनिक ज्ञानविज्ञान र प्रविधिको क्षेत्रमा नवीनतम पाइला चाल्ने प्रयास गर्दै छ । विद्युतीय पुस्तकालय सञ्चालनको प्रयास एउटा दृष्टान्त हो । विद्युतीय पुस्तकालय कोसेढुङ्गा नै साबित हुने विश्वास छ । विद्युतीय पुस्तकालयले ज्ञानको स्रोत नजिक पु¥याउने विश्वास लिन सकिन्छ । यसका निम्ति विशेषगरी नयाँ पुस्ता नगरपालिकाप्रति अनुग्रहित हुनेछन् । अनुसन्धानमा अभिरुचि राख्नेहरूका निम्ति सहज वातावरण तयार हुनेछ । सर्वसाधारण जनतालाई शिक्षित बनाउने नेमकिपाको उद्देश्यबमोजिम जनज्योति पुस्तकालय अगाडि बढिरहने आशा छ । पुस्तकालय भनेको किताबहरूको घरमात्र होइन, ज्ञानको चौतारी हो, समुदायको उत्थान गर्ने उत्तोलक हो । मानसिक तथा सामाजिक विकासको ऊर्जा केन्द्र हो, पुस्तकालय । इतिहास, भूगोल, अर्थशास्त्र, राजनीतिशास्त्र, विज्ञान, दर्शनशास्त्रको ज्ञान बाँडेर हजारौँ हजार जीवनहरूसँग जोड्ने ठाउँ पुस्तकालय हो । एउटा भनाइ छ– पुस्तकालयविना न हामीसँग इतिहास/हिजो हुन्छ, न त भविष्य नै ।
ज्ञान आमूल परिवर्तनको निम्ति हुनुपर्छ । समुदायमा पुस्तक अध्ययन संस्कृति हुर्काउन पुस्तकालयको बेजोड भूमिका रहन्छ । पुस्तक अध्ययन सौखको विषय मात्र हुनुहुँदैन, आमूल परिवर्तनले घच्घच्याएको हुनुपर्छ । सुसंस्कृत समाज निर्माणको हुटहुटीले छोएको हुनुपर्छ । अध्ययन केका लागि ? ज्ञानको लागि । ज्ञान केका लागि ? युगको सेवाको निम्ति, तल्लो वर्गको उत्थानको निम्ति र परिवर्तनको लागि । अँध्यारा बस्तीहरूमा उजेली छर्नको निम्ति । यही दृष्टिकोणबाट जनज्योति दशकौंँदेखि अगाडि बढिरहेको छ ।
समाजको बुद्धिजीवीकरण हाम्रो साझा सपना हो । त्यसको एउटा बलियो हतियार पुस्तकालय हो भन्दा फरक नपर्ला । यो पुस्तकालयतिर हेरिरहँदा ‘सयवर्ष पछिको भक्तपुर’ मा श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेंले कल्पना गर्नुभएको पुस्तकालयले आकार लिइरहेको हामी देख्दै छौँ । कला, साहित्य, संस्कृति, भाषा, इतिहासको अध्ययनस्थल मात्र नभई प्राचीन बजागाजा, नाचगान, अमूर्त संस्कृति र वैभवको खोजकेन्द्र भक्तपुर बन्नेछ र पुस्तकालय त्यसको अभिलेखालय बन्ने छ । अध्येताहरूको स्रोतकेन्द्र बन्ने कल्पना छ । पुस्तकालयभित्र र सेरोफेरोमै नयाँ पुस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरूमा चिया या कफी खाँदै छलफल, बहस र अन्तरक्रिया गर्नेछन्, हरेक नयाँ–पुराना पुस्तकहरूको छलफल हुनेछ भन्ने उहाँको कल्पनाले साकार रुप लिन त्यति समय नलाग्ने निश्चित छ । सय वर्षपछिको भक्तपुरका भविष्य द्रष्टा श्रद्धेय अध्यक्षज्यूले पुस्तकमा एक अर्जेन्टिनी अध्येता “लक्ष्मीप्रसाद देवकोटा काव्यबारे विद्यावारिधी गर्न आएका छात्रको सन्दर्भ छ । भक्तपुरमा अध्ययनको निम्ति आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका निम्ति यो पुस्तकालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्न आवश्यक छ ।
चे ग्वे भारा हाम्रो निम्ति नयाँ नाम होइन । हामीलाई थाहा छ, बम बारुद र बन्दुकको गडगडाहटबिच पनि अध्ययन र लेखनलाई निरन्तरता दिने चे ग्वेभारा र फिडेल क्याष्ट्रोहरूबाट नयाँ पुस्तालाई अभिप्रेरित गर्न आवश्यक छ । चे ग्वेभाराको ‘बोलिभियाको डायरी’ युद्धमैदानमै तयार पारिएको पुस्तक हो । अध्ययन र लेखनको महत्व यसले पनि उजागर गर्छ ।
पुस्तकालय र पुस्तकहरूको उत्कृष्ट प्रेमबारे चर्चा हुँदा कार्ल माक्र्स र माओको स्मरण गर्नु सान्दर्भिक हुन्छ । उहाँहरूको जीवन अध्ययनबाट महसुस हुन्छ । विद्युतीय पुस्तकालयको सन्दर्भ उठिरहँदा – संसार फेरि किताबतिरै फर्किरहेको अनुभव गरिँदै छ । केही समयअघि पुस्तकको विकल्प आयो भन्ने होहल्ला सुनिन्थ्यो । यद्यपि, विषयवस्तुको पिँढतिर पुग्ने बाटो पुस्तक हो भन्ने मानिस चर्चा गर्दै छन् ।
हामीले यो पनि महसुस गर्दै छौँ, ज्ञान, परिवर्तन, आमूल परिवर्तनलाई रोक्ने षड्यन्त्र हिजोजस्तै आज पनि चालू नै छ । राणाशासनमा पुस्तकालय खोल्दा दमन भयो । ज्ञानमाथि प्रतिबन्ध लगाइयो । आज पनि फरक ढङ्गमा ज्ञानमाथि प्रतिबन्ध छ ! ‘ख्वप विश्वविद्यालय’ आजसम्म स्वीकृत नहुनु त्यसको उदाहरण हो । संसद्मा सांसद प्रेम सुवालज्यू निरन्तर सङ्घर्ष गर्दै हुनुहुन्छ ।
पुस्तकालयको आधुनिकीकरण विश्वविद्यालयको एउटा बलियो आधार बन्न सक्दछ । बुद्धिजीवीकरण र आधुनिकता सँगसँगै हिँडेको हुनुपर्छ । समाजको बुद्धिजीवीकरणविना आधुनिकता पङ्गु हुनसक्दछ । यतातर्फ हामी सचेत छौँ ।
परिवर्तित समयअनुसार भक्तपुर नगरपालिका आधुनिकतातर्फ पाइला चाल्दै अगाडि बढोस् । ज्ञान तथा जानकारीको स्रोत बढाउँदै लानु र स्रोतमाथि सर्वसाधारण जनताको सहज पहुँच महत्वपूर्ण सवाल हो । जनज्योति पुस्तकालयले यस विषयलाई हृदयङ्गम गरी आगामी दिनमा नयाँनयाँ आयाम थप्दै अगाडि बढोस् ।
शिक्षा, ज्ञान तथा जानकारीले सर्वसाधारण जनताको सेवा ग¥यो कि गरेन ? कुन वर्गको सेवा ग¥यो भन्ने महत्वपूर्ण सवाल हो । यसबारे गहन चिन्तन–मनन गर्दै ज्ञानमा आधारित नयाँ समाजको निर्माणतर्फ भक्तपुर नगरपालिकाले सत्प्रयास जारी राखोस् ।
(नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सृजना सैंँजूले जनज्योति पुस्तकालयको विद्युतीय पुस्तकालय सञ्चालन आरम्भ कार्यक्रममा व्यक्त विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *