सहरमा हराउँदै छिमेकीपन
- आश्विन २०, २०८३
भक्तपुर, २७ असोज । भक्तपुर नगरपालिका वडा नं. ९ स्थित वाकुपति नारायण मन्दिर परिसरमा रहेको भजन पाटीमा लगाइएको ताला स्थानीय बासिन्दाहरूको सहयोगमा बिहीबार खोली भजन कार्यलाई निरन्तरता दिइएको छ । वडा कार्यालयको अगुवाइ तथा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी कर्मचारीहरूको रोहबरमा स्थानीय जनता र मिनप्रसाद धन्छाको परिवारबीच छलफल गरी ताला खोलिएको वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताउनुभयो ।
२०७२ सालको विनासकारी भूकम्पको कारण उक्त पाटी रहेको घर क्षति भएको थियो । त्यतिबेलादेखि नै स्थानीय धन्छाले घरका सामग्रीहरू पाटीमा सुरक्षित गरी ताला लगाइरहेको थियो ।
छलफलमा स्थानीय बासिन्दाहरूले पाटीको ताला खोलेर टोलवासीहरूलाई भजन गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । तर धन्छा परिवारले ताला खोल्न अस्वीकार गरेपछि वडा कार्यालय र प्रहरीको रोहवरमा उक्त ताला खोलिएको हो । स्थानीय आशाकाजी प्रजापतिले टोलवासी र नगरपालिकाको संयुक्त प्रयासमा ताला खोलिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भजन कार्यलाई निरन्तरता दिन आगामी दिनमा पाटी सुधार कार्यका लागि टोलवासीहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
पाटी खोलिएपछि त्यहाँ रहेका भजनसँग सम्बन्धित सामग्रीहरू स्थानीय भजन मण्डललाई जिम्मा दिइएको थियो भने धन्छाले राखिरहेका केही व्यक्तिगत सामग्रीहरू निजलाई बुझिलिन आग्रह गरिएको र उनले बुझ्न नमानेपछि वडा कार्यालयमार्फत लिएर पाटी सफा गरेको वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताउनुभयो ।
उक्त पाटीमा नेपाल संवत् ८९५ को शिलापत्र भेटिएको उल्लेख गर्दै उहाँले त्यस शिलापत्रको अध्ययन भइरहेको बताउनुभयो ।

Leave a Reply