भर्खरै :

ह्वा कोफेङ (सन् १९२१ – २००८) को सङ्क्षिप्त जीवनी

ह्वा कोफेङ (सन् १९२१ – २००८) को सङ्क्षिप्त जीवनी

कामरेड ह्वा कोफेङ (Hua Guofeng) सन् १९२१ तिर शान्सि (Shanxi) प्रान्तको च्यानचेङ प्रान्तमा जन्मेका थिए । शान्सि प्रान्त चीनको उत्तरी भागमा पर्दछ । यस प्रान्तको उत्तरमा मङ्गोलिया स्वायत्त प्रदेश, दक्षिणमा हेनान (Henan) प्रान्त, पूर्वमा हुपेई (Hubei) प्रान्त र पश्चिममा शाङसि (Shaanxi) प्रान्त पर्दछ ।
चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताले सन् १९३७ मा जापानको साम्राज्यवादी आक्रमणको विरोधमा रक्षात्मक लडाइँ छेडेका थिए । त्यस जटिल र जेलिएको लडाइँमा सन् १९३८ मा ह्वा कोफेङले पनि भाग लिएका थिए । त्यसबेला उनी भर्खर १७–१८ वर्षका नवयुवक थिए । जनरल चु तेहको कमान्डको आठौँ मार्ग सेनामा प्रचार प्रमुखको रूपमा उनले काम गरे । उनी अध्यक्ष माओ त्सेतुङका विभिन्न रचनाहरू सा¥है मन लगाएर पढ्थे र साथीहरूलाई पनि पढ्न लगाउँथे । अध्ययनबाहेक उनी बैठक, तालिम कक्षाहरू र छलफलहरूमा भाग लिन्थे । उनी पार्टी साहित्य, जापानविरोधी नीति र चीन निश्चितरूपले विजयी हुन्छ भन्ने कुरा पनि प्रचार गर्थे ।
सन् १९४२ को शरद्को बेला थियो । ह्वा कोफेङ भर्खर २१–२२ वर्षका थिए । गुरिल्ला युद्धमा उनले नयाँ नयाँ जुक्तिहरू झिकेर शत्रुहरूलाई हैरान पार्थे । जनताको बिचमा गएर जनताको सुख–दुःखमा साथ दिन्थे । जनतालाई बेलाबेलामा आइपर्ने सङ्कटहरूलाई किसिम किसिमका जुक्ति निकालेर समाधान गरिदिन्थे । यस्तो भद्र व्यवहार र तीखो बुद्धिबाट गाउँले किसानहरू उनीसँग खुसी हुन्थे । यसरी उनी ‘जापानविरोधी सङ्घ’ को एक महत्वपूर्ण अगुवा सदस्यको रूपमा चिनिए ।
आखिरमा सन् १९४५ अगष्ट महिनामा जापानले विनासर्त घुँडा टेक्यो । तर, च्याङ काइ–शेक र कोमिनताङ युद्ध सरदारहरूले साम्राज्यवादी जापानसँग गठबन्धन गरेर कम्युनिस्टहरूलाई धोका दिए । क्रान्तिकारी इलाकाहरूमा कम्युनिस्टहरूले ‘हत्याकाण्ड’ मच्चाए । त्यसबेला वा कोफेङ च्याउचेन प्रान्तको पार्टी सचिव र प्रान्तीय जनसेनाको राजनैतिक निर्देशक थिए । एकातिर उनी च्याङ काइ–शेकको अमानवीय ‘हत्याकाण्ड’ को विरोधमा सङ्घर्ष गर्दै गए भने अर्कोतिर पार्टीभित्र देखापरेका क्रान्तिकारी सेनालाई समेत च्याङ काइ–शेकको हातमा सुम्पेर देशमा पुँजीवादी व्यवस्था ल्याउने विचारको विरुद्ध सङ्घर्ष गर्दै गए । त्यसबेला उनी २४ वर्षका लक्का जवान थिए । उनी १२ वर्षसम्म त्यही सेना र काउन्टी पार्टी समितिमा रहेर सङ्घर्षरत रहे ।
सन् १९४७ देखि जोडतोडले गृहयुद्ध चल्यो । च्याङ काइ–शेक प्रतिक्रियावादले एकपछि अर्को हार खाँदै थियो । सन् १९४९ अगष्ट महिनामा चीनको मुख्य भूमि मुक्त भयो । ह्वा कोफेङ स्याङइन प्रान्तको पार्टी समितिको पहिलो सचिव भए । स्याङइन प्रान्त हुनान प्रान्तमा पर्दछ । हुनान प्रान्त चीनको दक्षिणमा पर्दछ । उनी त्यसबेला भर्खर २८ वर्षका थिए ।

अध्यक्ष माओका साथ ह्वा कोफेङ

मुक्ति भर्खरै भएको थियो, स्याङइन प्रान्त बरोबर बाढीले पुरिन्थ्यो । एक लाख जनता घरवारविहीन थिए । फेरि बाँकी रहेका कोमिनताङ प्रतिक्रियावादीहरूले ठाउँठाउँमा गोलमाल मच्चाउँदै थिए । यस्तो सङ्कटको घडीमा अलिकति पनि विचलित नभई ठूलो साहस लिएर वा कोफेङले प्रान्तीय पार्टीको नेतृत्व सम्हाले । किसान र खेती मजदुरहरूको भरमा जनता सङ्गठित हुँदै गए । प्रतिक्रियावादी कोमिनताङलाई दबाइयो । त्यसपछि जिल्लामा छिट्टै शान्ति सुरक्षा कायम भयो । स्थानीय जनसरकारको स्थापना भयो । उत्पादन कार्यहरू पनि सुरु भयो । त्यसैबेला उनको विवाह भयो ।
चीनको क्रान्ति किसान क्रान्ति थियो । चीनको मुख्य समस्या किसान समस्या थियो । अतः पार्टीको नीतिअनुसार प्रान्तभरि भूमिसुधार आन्दोलन जोडतोडले चल्यो । घरबार र जग्गाविहीन गरीब किसानहरूले जग्गा पाए । युगौँदेखि चलिआएको पुरानो सामन्ती व्यवस्था वा किसानहरूमाथि जमिनदारवर्गको शासन र शोषण समाप्त भयो । सन् १९५२ तिर ह्वा कोफेङ स्याङइन प्रान्तको पार्टी प्रथम सचिवका साथै स्याङतान र त्यसका चारैतिरका प्रान्तीय पाटी समितिका सचिव भए । त्यसबेला देशभरि कृषि सहकारी संस्था बनाउने आन्दोलन चलेको थियो । उनी हुनान प्रान्तबाटै पहिलो सबभन्दा अगाडि बढेको कृषि सहकारी संस्था बनाउन चाहन्थे । उनले पारस्परिक सहायता दल र सहकारी संस्थाहरूलाई सङ्गठित गरे ।
सन् १९५६ मा त्यस सहकारी आन्दोलनले तीव्रगति लियो र सन् १९५६ जूनसम्म ७ करोड ५४ लाख १७ हजार परिवारले अर्थात् ६२.३ प्रतिशत चिनियाँ किसानहरूले त्यसमा भाग लिए । त्यतिखेर उनी ३४–३५ वर्षका थिए ।
सन् १९५७ मा मस्कोमा समाजवादी देशका कम्युनिस्ट र मजदुर पार्टीहरूको एक बैठक बस्यो । चिनियाँ कम्युनिस्ट पार्टी र रुसी कम्युनिस्ट पार्टीबिच चर्को सैद्धान्तिक मतभेद भयो । केही रुसपन्थीबाहेक अरू पार्टीका प्रतिनिधिहरूले चीनको पक्ष लिए । रुसी कम्युनिस्ट पार्टीको नेतृत्व गुटले चिनियाँ पार्टीको भित्री मामलामा हस्तक्षेप गर्न थाल्यो । चिनियाँ कम्युनिस्ट पार्टीले समाजवाद निर्माणको नीतिलाई स्वीकार गर्यो । पार्टीको त्यस मुख्य नीतिलाई व्यवहारमा लैजान ‘लामो फड्को’, ‘जन कम्युन’ स्थापना गर्ने र ‘प्राविधिक आविष्कार र क्रान्ति’ को अभियान चलाइयो ।
तर, सन् १९५९ मा पेङ–तेह ह्वाले मुख्य नीति ‘ठूलो फड्को’ र ‘जन कम्युनको स्थापना’ को विरोध गरे । उनले रुसको मुख नताकी चीनलाई आफ्नै खुट्टामा उभिन सक्ने तुल्याउने ‘आत्मनिर्भर नीति’ को विरोध गरे । यस्तो सैद्धान्तिक र व्यवहारिक सङ्घर्षको बेला ह्वा कोफेङ हुनान प्रान्तीय जनसेनाको एक नेतृत्वदायी सदस्य भइसकेका थिए । उनले पार्टीको मुख्य नीतिलाई समर्थन गर्दै गए । मुख्य नीतिको विरोधीहरूसँग पनि सङ्घर्ष गर्दै गए । त्यसै वर्ष लुशान पहाडमा चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय समितिको आठौँ बृहत् बैठकले पेङ तेह ह्वालाई रक्षामन्त्रीबाट हटायो । माओको प्रस्तावमा बैठकले ह्वा कोफेङलाई हुनान प्रान्तको पार्टी समितिको सचिवमा नियुक्ति ग¥यो । त्यसबेला उनी ३९ वर्षका थिए ।
सन् १९६० मा मस्कोमा भएको बैठकमा चिनियाँ कम्युनिस्ट पार्टी र रुसी कम्युनिस्ट पार्टीबिच भएको चर्को सैद्धान्तिक मतभेदलाई रुसले राज्यस्तरसम्म पु¥यायो । रुसको सहायताबाट चीनमा भइरहेको विकास योजनाहरूलाई बिचमै रोक्यो । जसबाट अस्थायीरूपमा चीनको अर्थतन्त्रमा ठूलो समस्या पर्यो, फेरि त्यसै वर्ष सुख्खा र असिनाजस्ता प्राकृतिक विपत्तिहरूले पनि अर्को सङ्कटलाई निम्त्यायो । त्यस्तो बेला पनि उनी माओकै नीतिमा अडिग भएर लागेका थिए ।
कार्यदलको प्रमुखको रूपमा उनले येहयोग प्रान्तको माउतिन जिल्लामा चारपटक भ्रमण गरे तथा जनताले सामना गरिरहेका कठिनाइहरूलाई सुल्झाइदिए । माउतिन जिल्लाको अनुभवलाई लोकप्रिय बनाउन उनले त्यस जिल्लाबाट सबै प्रान्तहरूले सिक्न र समाजवादी भूमिकालाई कायम गर्न प्रचार गरे । ‘जनकम्युन सफल हुँदैन’ भन्ने भावनालाई पन्छाइदिए । ह्वा कोफेङको माउतिनको प्रतिवेदन सुनेर अध्यक्ष माओ त्सेतुङ खुसी भएका थिए । त्यसको प्रशंसा पनि गरेका थिए ।
सन् १९६३ मा ठूल्ठूला प्राकृतिक विपत्तिहरूमाथि विजय पाउँदै हुनान प्रान्तले राम्रो बाली भित्यायो । तर, ह्वा कोफेङ त्यत्तिकैमा सन्तुष्ट भएनन् । प्रान्तीय पार्टी समितिका अर्का सचिव र अरू प्रान्त र नगर पार्टी समितिका अगुवा साथीहरूसँगै क्वाङतुङ प्रान्तको अगाडि बढेको कम्युनको अध्ययन गर्न उनी त्यहाँ पुगे । अध्ययन भ्रमणबाट फर्केपछि उनले क्वाङतुङको प्रतिवेदन लेखे । प्रतिवेदनमा हुनान प्रान्तको सफलता र कमजोरीलाई औँल्याएर आफूभन्दा अगाडि बढेका प्रान्तहरूको अनुभवबाट सिक्न आह्वान गरे । कृषि र उद्योगको विकासको सिलसिलामा ह्वा कोफेङले हुनान प्रान्तलाई एक महत्वपूर्ण औद्योगिक क्षेत्रमा फेर्न निकै मेहनत गरे । आज हुनान एक महत्वपूर्ण औद्योगिक क्षेत्रमा फेरिएको छ । प्रसिद्ध शावशान सिँचाइ योजना निर्माण भइरहँदा उनी पनि कामदारहरूसँगै काम गर्ने गर्थे । प्राविधिज्ञहरूको साथमा योजनाहरू बनाउन उनी पनि संलग्न हुन्थे ।
सन् १९६६ को सुरुमा माओ त्सेतुङको अगुवाइमा सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गरियो । सांस्कृतिक क्रान्तिको सिलसिलामा ह्वा कोफेङ पनि ल्यू शाउ चीको नीतिको विरुद्धको सङ्घर्षमा सामेल भए । सांस्कृतिक क्रान्तिको बिचमा विभिन्न पक्षले काम गरे । लिन पियाओ र ‘चार जनाको गुट’ को सत्ता हत्याउने षड्यन्त्रको विरुद्ध पनि सङ्घर्ष गरे । अप्रिल १९६९ मा पार्टीको नवौँ महाधिवेशनको साथै १७० जवानको केन्द्रीय समितिको चुनाव भयो । त्यसमा ह्वा कोफेङ पनि चुनिए । त्यसबेला उनी ४९ वर्षका थिए । सन् १९७३ को २४ अगष्टदेखि २८ अगष्टसम्म चिनियाँ कम्युनिस्ट पार्टीको दसौँ पार्टी महाधिवेशन भयो । महाधिवेशनले उनलाई केन्द्रीय समितिको पोलिटब्युरोको सदस्यमा चुन्यो ।
८ जनवरी १९७६ को दिन प्रधानमन्त्री चाउ एन लाई बित्नुभयो । पार्टीभित्र नेतृत्वको भोकाहरूले पदको लागि दाउपेच खेल्दै थिए । तर, ७ अप्रिल १९७६ को दिन माओकै प्रस्तावअनुसार पार्टी केन्द्रीय समितिले उनलाई पार्टीको प्रथम उपाध्यक्ष र प्रधानमन्त्री मनोनीत गर्यो । चिनियाँ कम्युनिस्ट पार्टी राजनैतिक सिद्धान्त र अर्थतन्त्रबारे अनेक नागबेली बाटो र जटिल समीकरणभित्र प्रवेश गर्यो ।
९ सेप्टेम्बर १९७६ को दिन अध्यक्ष माओ त्सेतुङ सदाको निम्ति बिते ।

युवावस्थामा ह्वा कोफेङ

२१ जुलाई १९७७ मा बसेको दसौँ केन्द्रीय समितिको तेस्रो बृहत बैठकले ७ अक्टोबर १९७६ को दिन ह्वा कोफेङलाई अध्यक्ष बनाउने निर्णय गर्यो । उनी योजनाबद्ध समाजवादी आर्थिक विकासको पक्षमा थिए भने तङ स्याओपिङको पक्ष बजारमा आधारित आर्थिक बन्दोबस्तको पक्षमा थिए ।
सन् १९७७, १२ अगष्टदेखि १८ अगष्टसम्म चिनियाँ कम्युनिस्ट पार्टीको ११ औँ महाधिवेशन भयो । अधिवेशनले वाङ हुन वन, च्याङ च्युन चियाओ, च्याङ चिङ र याव वेन चुनलाई पार्टी र सरकारी सबै पदहरूबाट निकाला ग¥यो । पोलिटब्युरो अर्थात् स्थायी समितिमा चुनावबाट अध्यक्षमा ह्वा कोफेङ र उपाध्यक्षहरूमा येह चिङ इङ, तङ स्याओपिङ, लि स्यान–न्यान र वाङ तुङ निर्वाचित भए । सन् १९७७ र सन् १९७८ मा ह्वा कोफेङले तङ स्याओपिङका विचारहरूसँग सङ्घर्ष गर्दै गए । चिनियाँ कम्युनिस्ट पार्टीको ११ औँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठक सन् १९८१, २७ जूनदेखि २९ जूनसम्म बस्यो । त्यस बैठकमा केन्द्रीय समितिका १९५ सदस्यहरू, ११४ वैकल्पिक सदस्यहरू र ५३ जना मत दिन नपाउनेहरूसमेत उपस्थित भएका थिए । ह्वा कोफेङले अध्यक्ष पदबाट राजीनामा दिए । बैठकले उनको राजीनामा स्वीकार ग¥यो । गुप्त मतदानद्वारा केन्द्रीय समितिका मुख्यमुख्य पदहरूको चुनाव भयो । ह्वा कोफेङ केन्द्रीय समितिको उपाध्यक्ष चुनिए । पार्टीमा पछि उपाध्यक्ष पद नै खारेज हुँदा उनी महत्वपूर्ण पदमा रहेनन् ।
सन् १९८२ मा चिनियाँ कम्युनिस्ट पार्टीको १२ औँ महाधिवेशन भयो । महाधिवेशनमा तङ स्याओपिङ पक्ष अगाडि बढ्यो । ह्वा कोफेङ पार्टी केन्द्रीय समितिमा चुनिए । तर, सैद्धान्तिक मतभिन्नताको कारण उनी केन्द्रीय समितिको पोलिटब्यूरो र कुनै महत्वपूर्ण सरकारी पदमा रहेनन् । सन् १९९१ मा ७० वर्षको उमेरमा ह्वा कोफेङले अवकास लिए । तर, नोभेम्बर २००२ को १६ औँ पार्टी महाधिवेशनसम्म उनी केन्द्रीय समितिको सदस्य रहिरहे ।
सन् २००२ पछि उनी पार्टीको केन्द्रीय समितिको औपचारिक सदस्य नरहे पनि सन् २००७ को १७ औँ पार्टी महाधिवेशनमा ह्वा कोफेङ विशेष प्रतिनिधिको रूपमा आमन्त्रित थिए । पार्टीको औपचारिक पद र समसामयिक राजनीतिबाट अलग्ग भएपछि उनको रुचि अङ्गुर खेती र पत्रकारहरूसँगको भेटघाटमा रह्यो ।
मिर्गौला रोग र मुटुसम्बन्धी रोगको कारण सन् २००८ मा उनी तीनपटक अस्पतालमा भर्ना भए र सन् २००८, २० अगष्टमा ८७ वर्षको उमेरमा पेइचिङमा बिते । उनका चार जना छोराछोरी छन् । जेठो छोरो सु ह्वा (Su Hua) एक अवकाश प्राप्त हवाईसेनाका अधिकृत हुन् । माहिलो छोरो सु विन (Su Bin) सेनाको अवकाश प्राप्त अधिकृत हुन् । छोरी सु लिङ (Su Ling) चीनको नागरिक हवाई सेवाको पार्टी र सङ्गठनका पदाधिकारी हुन् । कान्छी छोरी सुलि (Su Li) राज्य परिषद् (State Council) मा काम गर्छिन् ।
स्रोत : चिनियाँ नेताहरूको सङ्क्षिप्त परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *