भर्खरै :

एकदिने ऋण जोखिम न्यूनीकरण तालिम

एकदिने ऋण जोखिम न्यूनीकरण तालिम

भक्तपुर, १७ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्रका सहकारी संस्थाहरूलाई एकदिने ऋण जोखिम न्यूनीकरण तालिम सञ्चालन भएको छ ।
तालिमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जोखिम र सफलता सँगसँगै आउने बताउँदै नीति, नियम र कानुनबमोजिम सञ्चालन भएका सङ्घ संस्थाहरूमा न्यून जोखिम हुने बताउनुभयो ।
सहकारीमा आएको समस्यालाई ध्यानमा राखी अन्य सहकारी सञ्चालक तथा बचतकर्ताहरूलाई सचेत गराउँदै भक्तपुर नपाले अनियमित गरी भागेका सहकारीका सञ्चालकहरूको नाउँमा रहेका घर—जग्गा रोक्का गरी जनताको रकम सुरक्षित गर्ने प्रयास गर्दै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नपाभित्र सञ्चालित १५६ वटा सहकारीहरूको नियमित अनुगमन गरी सम्भावित जोखिम कम गर्ने प्रयास नगरपालिकाले गर्दै आएको बताउँदै उहाँले आर्थिक, राजनीतिक, सामाजिक, स्वास्थ्यलगायतका सङ्कट जुनसुकै समयमा सक्नेतर्फ सहकारीकर्मीहरू सचेत हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले सहकारीमा कार्यरत कर्मचारीहरू सहकारी ऐन तथा कानुनमा पोख्त हुनुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष तथा सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले सहकारी संस्थामा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्दै सामुदायिक विकास कोषमा जम्मा भएको रकम जनताको सेवामा खर्च गर्न भनपा र सहकारीकर्मीबिच समन्वय भएको र केही सहकारी संस्थाहरूले कोषको रकम भक्तपुर नपामा जम्मा गर्न ल्याइसकेको अवगत गराउनुभयो ।
कार्यक्रममा ऋण जोखिम न्यूनीकरण तालिमका सहजकर्ता कृष्णगोविन्द लाखाले आर्थिक मन्दी सँगसँगै सहकारी क्षेत्रमा पनि सङ्कट निम्तिने खतरा रहेको बताउँदै सुशासन कायम नभएको सहकारीले गर्दा समुदायमा आधारित सहकारीमा समेत तरलता अभाव रहेको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *