भर्खरै :

संस्थागत विद्यालयका प्रअहरूसँग राय–सुझाव सङ्कलन

संस्थागत विद्यालयका प्रअहरूसँग राय–सुझाव सङ्कलन

भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिकाले राय–सुझाव सङ्कलनको लागि शुक्रबार भनपा सभाकक्षमा संस्थागत विद्यालयका प्रअहरूको भेला गरेको छ । भक्तपुर नगरपालिकाको आ.व. २०८०/८१ को बजेट तर्जुमासम्बन्धी राय–सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजित उक्त भेला कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले रचनात्मक सुझावहरू दिनुभएको थियो ।
भेलामा नगर प्रमुख सुनिल प्रजापतिले बजेटलाई स्थानीय आवश्यकता र मागअनुसार प्रभावकारी बनाउन भक्तपुर नपाले वडागत तह र विभिन्न सरोकारवालाहरूबाट सुझाव सङ्कलन गर्ने कार्य चालु रहेको बताउँदै छलफलबाट उठेका सुझावलाई प्राथमिकताको आधारमा आगामी बजेटमा समावेश गरिने बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेको लगानीका कारण आज शिक्षामा भक्तपुरले फड्को मारेको बताउँदै उहाँले शिक्षा र आर्थिक विकासमा अन्तरसम्बन्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरका विद्यालयले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्न सके देशभरिका विद्यार्थीहरूको शैक्षिक गन्तव्यस्थलको रूपमा यो ठाउँको विकास हुनेछ ।”
सरकारमा गएका राजनीतिक दल तथा नेतामा ख्वप विश्वविद्यालयको विषयमा आश्वासन मात्र बाँड्ने तर कहिल्यै पूरा नगर्ने मानसिकता रहेको बताउँदै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणमा गरिरहेको गतिविधि अन्य पालिकाहरूको लागि अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास भइरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी विभिन्न प्रअ तथा प्रतिनिधिहरूले भक्तपुरको शैक्षिक रूपान्तरणको निम्ति छुट्टै नीति तथा कार्यक्रम आवश्यक भएको, भक्तपुर नपाको विभिन्न गतिविधिहरूमा संस्थागत विद्यालयहरूलाई पनि सहभागी गराउनुपर्ने, नयाँ विद्यार्थी भर्ना गर्दा लब्धाङ्कपत्र अनिवार्य गर्नुपर्ने, अनियमितरूपमा उठाइएका शुल्कबारे अनुगमन गर्नुपर्ने, उत्कृष्ट विद्यार्थी सम्मानको लागि बजेट छुट्याउनुपर्ने, प्रश्नपत्र निर्माणबारे तालिम, एसईई तयारी परीक्षाको व्यवस्था गर्नुपर्नेलगायतका सुझावहरू राख्नुभएको थियो ।
कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले संस्थापक विद्यालयले पनि नियमितरूपमा वार्षिक लेखापरीक्षण गराउनुपर्ने भन्दै सामुदायिक र संस्थागत विद्यालयले भक्तपुरको शैक्षिक विकासमा अझ क्रियाशील भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *