भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा फोटो प्रदर्शनी अवलोकन

नगर प्रमुख प्रजापतिद्वारा फोटो प्रदर्शनी अवलोकन

काठमाडौँ, २२ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय समाचार समितिको आयोजनामा भएको नेपालको संस्कृति र सम्पदासँग सम्बन्धित तस्बिर प्रदर्शनीको सोमबार स्थलगत अवलोकन गर्नुभएको छ ।
रासस भवनमा आयोजित उक्त फोटो प्रदर्शनी अवलोकनपश्चात् नगर प्रमुख प्रजापतिले देशका विभिन्न क्षेत्रका जनताले मनाउने जात्रा, पर्व, संस्कृति समेटिएको फोटो प्रदर्शनीले विविधतायुक्त नेपालको प्रतिबिम्बित गरेको बताउनुभयो ।
कुनै एक सम्पदा वा संस्कृति लोप हुनु भनेको देशको सम्पत्ति समाप्त हुनु हो भन्दै उहाँले देशको सम्पदा र संस्कृतिलाई महत्व दिएर राष्ट्रिय समाचार समितिले आयोजना गरेको फोटो प्रदर्शनीबाट देशको संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सोही क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस नेपालको पुरानो समाचार संस्था भएको बताउँदै नेपालमा गणतन्त्र स्थापनापछि राससमा छापिएका नेपालका सम्पदा र संस्कृतिसँग सम्बन्धित फोटोहरू समेटिएर राससले फोटो प्रदर्शनीको आयोजना गरेको बताउनुभयो । उहाँले राससको सङ्गठन, स्वरुप र सेवाबारे विस्तृतमा अवगत गराउँदै राससको सेवा भनेको समाचार सम्प्रेषण भएको र यसले समाचार सेवा उत्पादन, प्रशोधन र वितरण गर्ने काम गर्दै आएको बताउनुभयो ।
हाल राससले नेपाली तथा अङ्ग्रेजी भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार सेवा उपलब्ध गराउनुका साथै फोटो सेवा र श्रव्यदृश्य सेवा पनि सुरुआत गरेको बताउनुभयो । फोटो प्रदर्शनीमा ७८ वटा संस्कृति र सम्पदासम्बन्धी फोटोहरू प्रदर्शनमा राखिएको सोही क्रममा उहाँले बताउनुभयो ।
अवलोकनमा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको पनि उपस्थिति थियो । नगर प्रमुख प्रजापतिले अध्यक्ष झालाई नपाका महत्वपूर्ण प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभएको थियो भने अध्यक्ष झाले प्रमुख प्रजापतिलाई राससको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *