भर्खरै :

विश्व वातावरण दिवसको अवसरमा च्वङा गणेश मन्दिर परिसरमा वृक्षरोपण

विश्व वातावरण दिवसको अवसरमा च्वङा गणेश मन्दिर परिसरमा वृक्षरोपण

भक्तपुर, २२ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. १ स्थित च्वङा गणेश मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम सोमबार बिहान सम्पन्न भयो ।
वृक्षारोपण कार्यक्रमपश्चात् भएको कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गर्मीयामसँगै खानेपानी मुहान सुकिरहेको अवस्थामा नगरपालिकाले खानेपानीको अभाव कम गर्न विभिन्न ठाउँमा डिप बोरिङ गर्दै ट्याङ्करमार्फत खानेपानी वितरणमा जोड दिँदै आएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले नगरको सुन्दरता कायम राख्न नगरको मूल सडकमा ढुङ्गा छपाइ, सम्पदा क्षेत्रमा रात्रीकालीन बत्ती व्यवस्थापनलगायतका कार्य गर्दै आएको बताउँदै भक्तपुरलाई विश्वकै हेर्नलायक सहरको रूपमा विकास गर्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले वातावरण दिवसको नारा समय सान्दर्भिक र मार्मिक रहेको बताउँदै भक्तपुर नगरमा श्वासप्रश्वासका रोगीहरूको सङ्ख्या बढिरहेको अवस्थामा वातावरणप्रति सबैजना सजग र सचेत हुनुपर्ने बताउनुभयो ।
वर्तमान समयमा पानीको अभाव भइरहेको र सरकारको अकर्मण्यताको कारणले खानेपानी वितरण सहज नभएको बताउँदै उहाँले खानेपानी अभाव कम गर्न घर घरमा आकासेपानी सङ्कलन गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले हरियाली विकास गरेमा मात्र मानिस स्वस्थ हुने बताउँदै ओजोन तह पातलिँदै गइरहेकोले वातावरण जोगाउन पहल गर्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले च्वङा गणेश परिसर धार्मिक हिसाबले महत्वपूर्ण स्थल रहेको बताउँदै यो क्षेत्रको हरियाली व्यवस्थापन, संरक्षण र संवद्र्धनमा बन कार्यालयसँग समन्वय गरी कार्य अगाडि बढेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले कलकारखानाबाट प्रदूषण गर्नेलाई बढी करको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
वातावरण समितिका संयोजक एवम् वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले मानव समाजको विकास गर्ने क्रममा पृथ्वीलाई जोगाउनु मानिसको प्रमुख कर्तव्य रहेको बताउनुभयो । पृथ्वीको दोहन भइरहेको अवस्थामा मानिसले आफ्ना आवश्यकता पूरा गर्ने क्रममा अत्यधिक स्रोत साधन प्रयोग गरिँदै आएकोले प्राकृतिक स्रोतसाधन घट्दै गइरहेको उहाँले बताउनुभयो ।
स्वागत मन्तव्य दिँदै भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेंँले मानिस वातावरणप्रति सचेतता हुनुपर्ने र वातावरण संरक्षण र संवद्र्धन गर्न विज्ञहरूसँग हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा च्वङा गणेश परिसरको उत्तरतर्फ सल्लाका बिरुवाहरू रोपिएको थियो । कार्यक्रममा २ नं. वडाका वडा सदस्य मन्जु लाखाजुले पनि बोल्नुभएको थियो । वृक्षरोपण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय समुदायको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *