भर्खरै :

लिबियाका दिवङ्गत नेता गद्दाफीका छोरा आमरण अनसनमा

लिबियाका दिवङ्गत नेता गद्दाफीका छोरा आमरण अनसनमा

बेरूत, २२ जेठ (एपी) । लिबियाका दिवङ्गत नेता मुअम्मर गद्दाफीका छोरा हनिबालले बिनासुनुवाइ हिरासतमा राखेको विरोधमा शनिबारदेखि आमरण अनशन सुरु गर्नुभएको छ । उहाँलाई लेबनानमा सात वर्षभन्दा बढी समयदेखि थुनामा राखिएको र आफूलाई कुनै मुद्दामाथि सुनुवाइ नगरिएको भन्दै उहाँले आमरण अनशन सुरु गरेको उहाँका वकिलले बताउनुभयो ।
सन् २०१५ मा सिरियाबाट अपहरणमा परेका गद्दाफी सन् २०१५ देखि लेबनानको जेलमा रहनुभएको छ । करिब ४५ वर्षअघि लिबियामा बेपत्ता भएका एक शिया धर्मगुरुको स्थितिबारे जानकारी माग्दै लेबनानी लडाकूले उहाँलाई अपहरण गरेका थिए ।
गद्दाफीलाई पछि लेबनानी अधिकारीहरूले नियन्त्रणमा लिएका थिए र बिना कुनै सुनुवाइ बेरुत जेलमा राखिएको थियो । अधिवक्ता पल रोमानोसले बताएअनुसार उहाँका सेवाग्राही गद्दाफीले शनिबार बिहान भोक हडताल सुरु गर्नुभएको हो । उहाँले आन्दोलन अन्त्यसम्म जारी राख्ने बताउनुभएको रोमानोसले बताउनुभयो । अधिवक्ता रोमानोसले यस मामिलामा सञ्चारमाध्यमसँग विस्तृत विवरण राख्ने अधिकार नभएको भन्दै थप कुरा नगर्ने बताउनुभयो ।
यद्यपि, गद्दाफीले एक विज्ञप्ति जारी गर्दै आफ्नो अवस्थाको वर्णन गर्नुभएको छ । लेबनानी महिलासँग विवाह गरेका गद्दाफीको विज्ञप्तिमा भनिएको छ, “यतिका वर्षसम्म निष्पक्ष सुनुवाइबिना नै राजनीतिक बन्दीलाई कसरी राख्न सकिन्छ ? लिबियाली नागरिक रहेका गद्दाफिले आफू भोक हडतालमा रहेको र आफूविरूद्ध अन्यायपूर्ण व्यवहार गर्नेहरू नै नतिजाका लागि जिम्मेवार हुने बताउनुभएको छ । उहाँले वर्तमान् (शासक) राजनीतिज्ञहरूको हातबाट कानुनलाई मुक्त गर्ने समय आएको बताउनुभयो ।
रोमानोसका अनुसार आफ्ना सेवाग्राहीलाई वर्षौँसम्म सानो कोठामा हिँडडुल गर्न वा व्यायाम गर्न पनि नमिल्ने गरी राख्दा ढाड दुख्ने समस्या भएको छ । सन् १९७८ मा लेबनानका प्रमुख शिया धर्मगुरु मौसा अल–सदर बेपत्ता हुनु लेबनानमा लामो समयदेखि पीडादायी विषय बनेको छ । धर्मगुरुको परिवारले उहाँ अझै पनि लिबियाको जेलमा जीवितै रहेको हुनसक्ने विश्वास गरेका छन्, यद्यपि, अधिकांश लेबनानीहरूले अल–सदरको मृत्यु भएको अनुमान गरेका छन् । उहाँ जीवितै रहेमा उहाँ अहिले ९४ वर्ष पुग्नुभएको छ ।
अल–सदर एक शिया राजनीतिक र सैन्य समूहका संस्थापक हुनुहुन्थ्यो र उहाँले १९७५ मा सुरु भएको लामो लेबनानी गृहयुद्धमा भाग लिनुभएको थियो । इरानको पवित्र शहर कोममा जन्मिएका अल–सदर सन् १९५९ मा लेबनानको दक्षिणी बन्दरगाह सहर टायरमा शियाहरूको अधिकारका लागि काम गर्न आउनुभएको थियो । सन् १९७४ मा लेबनानको १५ वर्षे गृहयुद्ध सुरु हुनुभन्दा एक वर्ष अघि अल–सदरले मुभमेन्ट अफ डिप्रात्को स्थापना गर्नुभयोे, जसले हजारौँ अनुयायीहरूलाई आकर्षित ग¥यो ।
मुभमेन्ट अफ डिप्रात्को स्थापना भएको अर्को वर्ष उहाँले अमाल नामक सैन्य एकाइको स्थापना गर्नुभएको थियो । अमालको अर्थ अरबी भाषामा आशा हो र यही नामको लडाकू समूहको नाममा उहाँको समूह लेबनानको गृहयुद्धमा लडेको थियो । यस समूहको नेतृत्व लेबनानको शक्तिशाली संसदका सभामुख नाबिह बेरीले गरिरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *