भर्खरै :

सत्ताको रापमा विस्तारवादी भारतको प्रशंसा !

कम्युनिस्ट पार्टीहरू आमूल परिवर्तनको निम्ति राजनीति गर्छन् या लड्छन् । आमूल परिवर्तनको निम्ति लड्ने दलका सच्चा नेताहरू कम्युनिस्टविरोधी गतिविधि गर्दैनन्; कम्युनिस्टको सिद्धान्त र विचार छोड्दैनन् या छोडेर भागबन्डा या पदको निम्ति राजनीति गर्दैनन् । कम्युनिस्टहरू पुँजीवादी व्यवस्थाको पक्षपोषण गर्दैनन्; विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको पछि दगुर्दैनन् या उठबसमा बस्दैनन् । प्रतिक्रियावादी, सामन्तवादी, पुँजीपतिहरूले कम्युनिस्टको विरोध गर्नु स्वाभाविक हो । उनीहरूले कम्युनिस्टलाई फाइदा हुने काम गर्दैनन् । तर, कम्युनिस्ट भनिने शासक र ठूला दलका नेताहरूले कम्युनिस्ट सिद्धान्त र विचार उल्लङ्घन गरेर नक्कली कम्युनिस्टको आचरण देखाउनु खतरनाक हुन्छ । नेकपा माओवादी र एकीकृत समाजवादी दलले गएको निर्वाचनमा नेकासँग गठबन्धन गर्नु र नेकाको सरकारमा सामेल हुनु कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन मजबुत पार्न होइन पुँजीपतिवर्गको पक्षपोषण गर्न हो ।
पद र पैसाको निम्ति या सरकारको नेतृत्व गर्न र मन्त्री बन्न कम्युनिस्ट भनिने दाहाल र नेपालजस्ता नेताहरू आफ्नो वर्गीय विचार छोडेर किन पत्रु बनेका हुन् ? आफूहरूलाई कम्युनिस्ट भनी चिनाउने ती नेताहरू पुँजीवादी पार्टी काङ्ग्रेसले गर्ने काम गर्न किन हौसिन्छन् ? नागरिकता विधेयक प्रमाणीकरण गर्न नेकाका नेताहरू लागे पनि कम्युनिस्टहरू लाग्नुहुँदैनथ्यो । कम्युनिस्ट दलहरू सबै मिलेर नागरिकता विधेयक पास नगराउन एकत्रित हुनुपर्नेमा नेका र भारतीय शासकहरूको स्वार्थ पूरा गर्न दाहाल र नेपालजस्ता ‘कम्युनिस्ट’ हरू नागरिकता विधेयक पारित गर्न र एमसीसी सम्झौता गर्न किन अघि सरेका हुन् ? नेपाल जोगाउन सङ्घर्ष गर्नुपर्ने दलका नेताहरू देशकै अस्मितामा आँच पु¥याउने काममा किन सही ठोक्छन् र देशघाती काम गर्छन् ?
एक समय भारतीय विस्तारवादको विरोध गर्ने, भारतीय फिल्मको बहिष्कार गर्न आह्वान गर्ने माओवादी नेताहरू अहिले सत्ताको रापमा विस्तारवादी भारतको प्रशंसा गरेर नेपालमाथि भइरहेको हस्तक्षेप र सीमा अतिक्रमणको किन समर्थन गर्छन् ? भारतीय प्रम नरेन्द्र मोदीसमक्ष नेपाल–भारत सीमाबारे पहिलो पटक प्रस्टसँग कुरा राखेको भन्न पछि नपर्ने दाहालले नेपालको के सीमा समस्याबारे बताए भन्नेबारे प्रस्ट पारेनन् । आफ्नो देशको स्रोत, साधन विदेशलाई सुम्पेर ‘विदेशी प्रभु’ लाई खुसी पार्न पाएपछि मख्ख पर्ने, भ्रमण पूर्ण सफल भएको दाबी गर्ने प्रम दाहाल किन ‘विदेशी प्रभु’ को आज्ञाकारी बन्छन् ? शासकहरूको यस्तै दास मनोवृत्ति, सङ्कीर्ण र अवसरवादी विचारको कारण विदेशी शक्ति राष्ट्रहरूले नेपाललाई हेपेका हुन्, थिचोमिचो गरेका हुन् । यही कारण नेपाल साँगुरिँदै गएको हो, नेपाल परनिर्भर देश भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *