भर्खरै :

‘पचहत्तरवर्से कम्युनिस्ट राजनीति वल्लो घात न पल्लोतिर’

‘पचहत्तरवर्से कम्युनिस्ट राजनीति वल्लो घात न पल्लोतिर’

नेपाली कम्युनिस्ट आन्दोलन सुरु भएको पनि ७५ वर्ष पुगिसकेको छ । सुरुका केही वर्षमा बाहेक नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न चिराहरूमा विभक्त भए । पुष्पलाल समूह, मनमोहन समूह, रायमाझी समूह, साहना समूह, पूर्व कोसी समूह, कोअर्डिनेसन समूह, झापाली समूह, चौम समूह, मशाल समूह, मसाल समूह, बर्मा समूह, तुलसीलाल समूह, मानन्धर समूह आदि । विभिन्न सैद्धान्तिक बेमेल र मतभिन्नताको कारणले यी नेपाली कम्युनिस्ट पार्टीहरू समूह समूहमा विभाजित भएको पाइन्छ । यति हुँदाहुँदै नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढिरहेको थियो । यसै विषयमा गत वैशाख १३ गते शुक्रबारको ‘घटना र विचार’ साप्ताहिकमा डा. केशव देवकोटाको ‘पचहत्तरवर्से कम्युनिस्ट राजनीति वल्लो घात न पल्लोतिर’ शीर्षक लेख पढ्ने अवसर मिल्यो । लेखमा डा. केशव देवकोटाजीले ७५ वर्षको बुढो नेपालको कम्युनिस्ट आन्दोलनले जनता र समाजलाई समाजवादतर्फको बाटोमा डो¥याउन नसकेकोमा दुःख पोखेका छन् । हुन पनि २०४६ सालको पहिलो जनआन्दोलनको सफलतापछि कुनै न कुनै रूपमा नेपालका कम्युनिस्टहरू सत्तामा गएका थिए । तर, सरकारमा गएर ‘कम्युनिस्ट’ सरकारहरूले पुँजीपतिवर्गको सेवा गर्नेबाहेक जनताको सेवा हुने कुनै पनि काम हुन नसकेको पक्कै हो । ‘कम्युनिस्ट’ सरकारहरूकै पालामा भारतसँग देशघाती सम्झौताहरू भए, त्यसैबेलादेखि नदीनालाहरू बेच्दै आएका छन् । आफ्नो नागरिकलाई ‘शरणार्थी’ बनाएर विदेश पठाउनेजस्तो देशद्रोही काम ‘कम्युनिस्टहरू’ बाटै भएका छन् । ठूलठूला भ्रष्टाचारका काण्डहरूमा हाम्रा (कम्युनिस्ट) नेताहरू मुछिएका छन् । ती नेताहरूलाई पार्टीले कारबाही गर्नु त कताकता उल्टो बचाउन न्वारानदेखिको बल प्रयोग गरिरहेका हुन्छन् । यी र यस्तै कारणले गर्दा जनतामा चरम निराशा देखापरेको छ । डा. केशव देवकोटाले यी नै कुराहरू आफ्नो लेखमार्फत कम्युनिस्ट आन्दोलनको नकारात्मक वास्तविकतालाई पाठकसमक्ष राखे ।
यही क्रममा डा. देवकोटा अन्त्यमा लेख्छ, “नेमकिपा र मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) पनि आ–आफ्नो अलग पहिचान राखेर अगाडि बढेका छन् । दुवैको संसदीय राजनीतिमा संलग्नता छ ।” “नेमकिपाले संसद्लाई देशको आमूल परिवर्तन वा क्रान्तिको निम्ति प्रयोग गर्दै आएको छ । त्यसलाई ‘क्रान्तिकारी संसद्वाद’ भनिन्छ । मोहन विक्रमको ‘मसाल’ वा जनमोर्चा हिजो पनि पुँजीवादी सरकारमा थियो आज पनि छ । यसमा अन्योल छैन ।
डा. देवकोटा लेख्छन्, “यसरी नेपालको ७५ वर्षे कम्युनिस्ट आन्दोलन आफैभित्र अन्योलग्रस्त रहेको देखिएको छ ।”
यहाँ मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) को छुट्टै नामको संयुक्त जनमोर्चामार्फत चित्रबहादुर के.सी. पनि पुँजीवादी पार्टीहरूको नेतृत्वको सरकारमा सहभागिता जनाइसकेकोले अब नेपालमा सरकारमा नजाने नीति नारायणमान बिजुक्छँेज्यूको मात्र बाँकी रहेको छ । नारायणमान बिजुक्छेँको नेमकिपा सरकारमा नगएर नेपालको कम्युनिस्ट आन्दोलनमा अन्योलको स्थिति सिर्जना गरेको भन्नु आफैँमा भ्रमपूर्ण छ । नेपालका सबैजसो नामका कम्युनिस्ट पार्टीहरूले समय समयमा आफूले लिएको नीति सच्याउने गरेको कुरा घामजत्तिकै प्रस्ट छ । आजभन्दा ४०/४२ वर्षअगाडि नेकपासँग अलग भए बखत राखेको सैद्धान्तिक अडानमा आज पनि नारायणमान बिजुक्छेँ नेतृत्वको नेमकिपा अटल छ । ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’, ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’, ‘नेपाल–भारत सम्बन्ध र भारत’ आदि नेमकिपाका प्रकाशनहरूको महत्व आज पनि कम छैन । संसद्मा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँलगायतका अरू सांसदहरूले खेलेको प्रखर प्रतिपक्षको भूमिका आज पनि सबैले सम्झने गरेका छन् । भक्तपुरमा जनताको सैद्धान्तिक, राजनीतिक र जीवनस्तर उकास्न नेमकिपाले भूमिका खेल्यो । नेमकिपाले मोहियानी हक सुरक्षाको लागि गरेको सङ्घर्ष, बाली काट्ने आन्दोलन, लगाएको बाली सुरक्षाका लागि साँढे धपाउ आन्दोलन, प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसंस्थाभित्र गएर जनताको सेवा गर्ने, शैक्षिक तथा सांस्कृतिक स्तरमाथि उठाउन गरेको सङ्घर्ष, स्वास्थ्यको स्तर माथि उठाउन गरेको सफाइ आन्दोलन, जनस्वास्थ्य केन्द्र, अस्पतालदेखि कलेजसम्म खोलेर सस्तोमा सेवा प्रवाह गरेको कुरा सबैको लागि अनुकरणीय नै छ । केही पनि प्राकृतिक स्रोत साधनहरू नभएको भक्तपुर नगर, जहिले पनि केन्द्रीय सत्ताबाट अपहेलित भएर पनि आत्मनिर्भर भएर भक्तपुर नगरको आर्थिक स्तरमाथि उकास्न नेमकिपाले गरेको सङ्घर्ष सबै नेपालीको लागि अनुकरणीय बनेको जिल्ला–जिल्लामा चर्चाको विषय हो । एउटा कम्युनिस्ट भएर पालना गर्नुपर्ने सबै किसिमको आचरणको नेमकिपा र नारायणमान बिजुक्छेँले राम्रै पालना गर्नुभएको छ । यस्तो स्वच्छ चरित्रको पार्टी र नेताहरूले अँगालेको सिद्धान्त र विचारले कसरी अन्योलको अवस्था सिर्जना गर्यो भन्ने प्रतिप्रश्न केशव देवकोटाजीसँग गर्नु आवश्यक छ । हो, राजनीति हाई वेजस्तो सिधा हुँदैन । यो घुमाउरो, उकाली ओराली र बिचबिचमा खाडल पनि हुन्छ । क्रान्ति एकै दिनमा पूरा हुँदैन । यो सय वर्ष पनि लाग्न सक्छ । अध्यक्ष माओले भन्नुभएको छ, “क्रान्ति सफल हुन अजङ्गका सय वर्ष पार गर्नुपर्ने हुन्छ ।” देवकोटाज्यूको कलमबाट ‘…………राजनीति वल्लो घात न पल्लोतिर’ होइन कि हामी कहाँ चुक्यौँ भन्नेबारेमा समीक्षा आवश्यक छ । देशले अब लिनुपर्ने बाटोको बारेमा छलफल हुनुपर्दथ्यो । त्यसैले डा. देवकोटाजस्ता लेखकबाट नेमकिपाले भक्तपुर नगरमा गरेको असल अभ्यासको बारेमा र नेपालका अन्य पार्टीहरूले गरेको राम्रो कामको साथसाथै देशविदेशका असल अभ्यासको बारेमा अध्ययन गरेर कलम चलाएको भए नेपालको कम्युनिस्ट आन्दोलनले अबका दिनमा अगाडि बढाउन सहयोग मिल्ने थियो ।
कम्युनिस्ट आन्दोलन व्यक्ति र समाजको जीवनजस्तै हो । कसैको जीवन आफूले चाहे जस्तो काम–माम–कपडाको भएको होला, तर नेपालमात्रै होइन, चीनबाहेक संसारको कुनै पनि देशमा मानव समाजको इतिहासमा हरेक नागरिकको गरिबी हटेको थिएन । समाज र देशको उन्नति र अवनतिका आ–आफ्नै कारण होलान् । उपनिवेश देशहरू पछि पर्नु साम्राज्यवादी र उपनिवेशवादी देशहरूकै शोषणको कारण हो । नेपालको कम्युनिस्ट आन्दोलन कमजोर पार्नमा सामन्तवाद र पुँजीवादी पार्टीहरूकै कुटिल राजनीति पनि जिम्मेवार छन् । पुँजीवादी पार्टीहरूले सुनको थालीमा कम्युनिस्टहरूलाई ‘समाजवाद’ दिने होइन । को ‘कम्युनिस्ट’ हो र कुन दल ‘कम्युनिस्ट’ होइन भन्ने कुरा व्यवहारले देखाउँछ । पुँजीपतिवर्गको नेतृत्वमा सरकारमा जाने र सरकारमा गएर घोषणापत्र र कार्यक्रमअनुसार काम नगर्ने कुनै पनि कम्युनिस्ट नामका पार्टीहरू कम्युनिस्ट पार्टी होइनन् । ती दलहरू नेका, राप्रपा र अन्य मधेसवादी पार्टीहरूजस्तै पुँजीवादी पार्टी हुन् । डा. देवकोटा पनि पहिले ती कम्युनिस्ट भन्नेहरूकै लाममा थिए । उनी पनि पुँजीवादी नै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *