भर्खरै :

सरकार भारतीय एकाधिकार पुँजीको पक्षमा

भारतसँग भएका हरेक नेपालका सन्धि, सम्झौता र सहमतिहरू भारतको हित या पक्षमा छन् । नेपालका शासकहरू स–साना स्वार्थमा अल्झेर या सानो स्वार्थको लागि भारतलाई देशका नदीनाला मात्र होइन ठूलठूला योजनाहरू दिँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले चारदिने भारत भ्रमणमा फुकोट कर्णाली योजना भारतीय कम्पनी या उद्योगीहरूलाई सुम्पे । भारतका शासकहरू नेपाललाई स–साना विकासको योजना देखाएर, आर्थिक सहयोगको प्रलोभन देखाएर यहाँका ठूलठूला योजना, स्रोत–साधन कब्जा गर्न लागिरहेका छन् । तर, नेपालका शासकहरू ठूलठूला योजना र स्रोत र साधन सुम्पेर स–साना स्वार्थमा फसेर देश विकासको बाटो खुल्ने भन्दै मख्ख परिरहेका छन्† भ्रमण पूर्णतः सफल भन्दै गर्व गर्दै छन् ।
भारतीय प्रमसमक्ष नेपालको सीमा समस्याबारे पहिलो पटक प्रस्टसँग विचार राख्ने पहिलो प्रम भएको दाबी गर्ने दाहालले देशको के सीमा समस्याबारे भने प्रस्ट बताएनन् । पेट्रोलियम पाइप बिछ्याएर फाइदा कसलाई हुन्छ ? यसले त भारतको एकाधिकार व्यापार या पुँजीलाई फाइदा गर्छ । नेपालको बिजुली नेपालीलाई भन्दा भारतलाई सस्तोमा दिएर कसलाई फाइदा हुन्छ ? बरू उत्पादित बिजुली देशभर पु¥याउन सके नेपालको आम्दानी नेपालमै हुन्छ, अर्काको भरमा बस्नु पर्दैन । नेपालीलाई बिजुली वितरण गर्दा आम्दानी बढ्छ । उद्योगधन्दाहरूको विकास हुन्छ । रोजगारीको अवसर मिल्छ । यसले देशको विकासमा टेवा पु¥याउँछ । नेपालको इन्धन र विद्युत् योजनाहरू सबै एउटै देशले कब्जा गर्दा भोलि यसले कस्तो परिणति ल्याउँछ ? यो चिन्ताको विषय छ ।
भारतीय समकक्षसँग स्पष्ट धारणा राख्ने प्रम दाहालले कालापानी लिपुलेकमा भारतीय सेनाले बनाइरहेको सडक निर्माण रोक्न आवाज उठाए कि उठाएनन् ? यदि उठाएको छैन भने प्रचण्डलाई कसरी नेपाली जनताले निडर र देशभक्त भनी विश्वास गर्ने ? भारतीय शासकहरू चिढिएलान् भनेर नागरिकता विधेयक पारित गर्न पछि नपर्ने नेपाली शासकहरूमा देशभक्तिको भावना कति छ भन्ने कुरा थाहा हुँदैन र ! देशले उत्पादन गर्ने बिजुली भारतले कति मूल्य दिने हो ? त्यो पनि कुनै निश्चित छैन । अहिले जस्तै नेपालीलाई भन्दा भारतीयलाई सस्तोमा बिजुली बिक्री वितरण ग¥यो भने नेपालको लागि के फाइदा ?
शासकहरूको गतिविधि र अभिव्यक्ति हेर्दा, बुझ्दा उनीहरूको स्पष्ट नीति नभएको, राजनीतिक आचरण नभएको, प्रतिबद्धता नभएको पुष्टि हुन्छ । यस्तै कारण देशमा शासकहरूप्रति वितृष्णा बढेको हो; जनतामा असन्तोष बढेको हो, आक्रोश बढेको हो । यो हुनुको कारण शासकहरूमा देखिएको पुँजीवादी छाप हो; पुँजीवादी विचार हो । यसकारण, देशको राजनीतिक अवस्था जटिल बन्दै गएको हो । यसले देशमा अराजकता निम्त्याउँछ । शान्ति, सुशासन र विधिको शासनमा असर पु¥याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *