भर्खरै :

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइएको बारे टिपोट – २२

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइएको बारे टिपोट – २२

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पुर्पक्षको बहस चलेको ९ दिन पुग्दा आरोपीहरूले जिल्ला अदालतमा अधिवक्ताहरूको ‘शक्ति प्रदर्शन’ नै गराएका छन् ।
नवौँ दिनसम्म प्रतिवादीका ५५ जनाले बहस गरिसकेका छन्, ५५ जना नै बाँकी छन् । हालसम्म प्रतिवादीहरू टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, रामशरण केसी, नरेन्द्र केसी र गोविन्द चौधरी गरी १२ जनाको बहस सकिएको छ । अब बालकृष्ण खाण, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाल, लक्ष्मी महर्जन र हरिभक्त महर्जनको पक्षबाट बहस हुन बाँकी छ ।
प्रतिवादीहरूका कानुन व्यवसायीको बहसको बुँदा हरेक दिन नोट गरिरहेकी सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनी यस मुद्दामा जति लामो पुर्पक्षको सुनुवाइ पहिले कहिल्यै नभएको बताउँछिन् । “आधा प्रतिवादीको पक्षमा बहस नसकिँदै एक साता कटिसक्यो, प्रतिवादीतर्फबाट अझै ५५ जनाले बोल्नै बाँकी छ ।” मरासिनीले डायरीमा टिपेको त्यही नोटका आधारमा सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जवाफी बहस गरेपछि यो शृङ्खला अन्त्य हुनेछ । त्यसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रतिवादीलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने निर्णय गर्नेछ ।
गृह मन्त्रालयका कर्मचारीहरू यन्तोष प्रधान, सागरमणि पाठक, फणीन्द्रमणि पोखरेल तथा चोमेन्द्र नेउपानेले पूर्वगृहसचिव पाण्डेका सम्बन्धमा बयान दिने क्रममा भनेका थिए, “भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपाय पहिल्याउन गठित कार्यदल २०७६ को प्रतिवेदनलाई साटफेर गरेर मन्त्रालयमा नक्कली प्रतिवेदन राखिएको थियो, यो काम सचिवबाटै भएको हो ।” तर, पाण्डेका कानुन व्यवसायीले भने, “टेकनारायण पाण्डे गृहसचिव भएकोमा आरिस गर्ने कर्मचारीले झूटो बयान दिएका हुन् । त्यसलाई प्रमाणका रूपमा लिन मिल्दैन ।”
प्रहरीको लामो अनुसन्धानको आधारमा अदालतमा दायर भएको २२४ पृष्ठ लामो अभियोजनपत्रको बुँदाबुँदामा प्रतिवादीका कानुन व्यवसायीले खण्डन गर्ने प्रयत्न गर्दा इजलासको समय निकै खर्च भइरहेको छ । आइतबार इजलास टुङ्गयाउनुअघि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले भनेका थिए, “तपाईँहरू बहस छिटो सक्नुस् किनभने मङ्गलबारसम्म यो टुङ्गयाउनुपर्छ । अब धेरै लम्ब्याउन सकिन्न ।” तर, उनले जति छिटो गर्न भने पनि आधा अधिवक्ताको बहस अझै बाँकी छ । (२०८० जेठ ३०, कान्तिपुर)
नक्कली भुटानी शरणार्थी मुद्दामा पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई शङ्काको भरमा मुद्दा चलाइएको भन्दै उनका कानुन व्यवसायीले साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका छन् ।
“गृहसचिव भएकै भरमा उसलाई थाहा भएकै होला भन्ने आधारमा मुद्दा चलाइएको छ । शङ्का लागेको कुरा पनि प्रमाणको रूपमा लिन मिल्छ ?,” वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भने ।
सरकारी पक्षले छानीछानी आफूखुसी मुद्दा चलाएको उनको भनाइ थियो । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको विषयमा विचाराधीन मुद्दाको उदाहरण दिँदै वरिष्ठ अधिवक्ता श्रेष्ठले सीमित व्यक्तिलाई स्वार्थका लागि मुद्दा दायर गरिएको दाबी गरे । “टेकनारायण पाण्डेले निमित्त गृहसचिव रामकृष्ण सुवेदी र सचिव प्रेमकुमार राईले लगेको जस्तै प्रस्ताव मात्रै लगेका हुन् । राई र सुवेदीलाई त्यही प्रस्ताव लाँदा केही नहुने, तर टेकनारायण पाण्डेचाहिँ तानिने ?” उनले प्रश्न गरे । (२०८० जेठ ३०, नयाँ पत्रिका)
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार, चार दिनदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस भइरहेको छ । उनले भने, “इजलासबाट मङ्गलबारसम्ममा बहस सक्न समय दिइएको छ । बहस समयमै सकियो भने बुधबार आदेश आउला । बहस तन्किँदै गएमा आदेशपछि पनि आउन सक्छ । आदेशको टुङ्गो छैन ।”
मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ६७ अनुसार तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा अदालतले कारण खुलाई पुर्पक्षको लागि थुनामा राख्नेछ । त्यस्तै दफा ६८ अनुसार, अभियोग प्रमाणित हुने मनासिब आधार भएमा अदालतले धरौट, जमानत वा बैङ्क जमानत माग्न सक्ने छ । त्यस्तै दफा ६९ अनुसार तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिनसक्ने कानुनी व्यवस्था छ ।
गजेन्द्र बुढाथोकी वादी रहेको यस मुद्दामा अभियुक्तहरूलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर गरेको आरोप छ । जिल्ला सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो । भुटानी शरणार्थी समस्याको स्थायी समाधानको उपाय पहिल्याउन २०७६ सालमा गठन भएको कार्यदल र त्यसको प्रतिवेदनमा आधारित रहेर सुरु भएको चलखेलमा राजनीतिकर्मी र सरकारी अधिकारी जोडिएपछि मुद्दा पेचिलो बनेको छ । (२०८० जेठ २९, अन्नपूर्ण)
काठमाडौँ जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा अझै ६ जना प्रतिवादीका कानुन व्यवसायीहरूले बहस गर्न बाँकी छ । प्रतिवादीहरूले बहसका लागि वकिलको लर्को लगाएका कारण थुनछेक बहस लम्बिएको छ । १८ जना अभियुक्तहरूको पक्षमा बहस गर्न ११० जना कानुन व्यवसायीले नाम लेखाएका छन् । (२०८० जेठ ३०, राजधानी)
किताबमा भुटानको जेलमा बस्दा भुटान सरकारले ‘माइन्ड कन्ट्रोल’ गरेको विषय रिजालको किताबमा रहेकाले त्यसमा इजलासले ध्यान दिनुपर्ने बडालले आग्रह गरे ।
‘टेकनाथ रिजालजी सङ्घर्ष र मानव अधिकारको पक्षमा उहाँले गरेको सङ्घर्षको विषयमा अत्यन्त सम्मान गर्छु । तर, उहाँको वर्तमान अवस्थाको सोचसमझको स्थिति, स्मरण शक्ति, मस्तिष्कको क्षमताबारे भने इजलासको ध्यान जानुपर्छ,’ ‘बिगतमा किताबमै उहाँले आफ्नो माइन्ड कन्ट्रोलको कुरा स्वीकारसमेत गरिसक्नुभएको छ ।’ पछिल्लो समयमा बयान हेर्दा रिजालको दिमागमा अरू कसैले ‘चिप्स’ राखेर चलाइरहेको छ । ‘उहाँको कुरा हेर्दा ‘अन्कन्सियस’ जस्तो १०० प्रतिशत कहीँ ‘डिपार्चर’ भएजस्तो देखिन्छ । जे पनि भन्दिनुहुन्छ । बोलिदिनुहुन्छ,’ ।
शरणार्थी नेता रिजाल आरोपितमध्ये एक त्यस्ता पात्र हुन्, जसले सुरुदेखि नै आफ्नो बयानमा एकरूपता कायम गर्दै आएका छन् । उनले अनुसन्धानमा खटिएका प्रहरी, सरकारी वकिलसँगको वयान र जिल्ला अदालत काठमाडौँमा दिएको बयानमा लगभग उस्तै कुरा दोहो¥याइरहेका छन् । उनीबाहेक अधिकांश अन्य आरोपितहरूले प्रहरी र सरकारी वकिलको रोहबरमा बयान दिँदा फरक–फरक दिएका छन् ।
रायमाझीका तर्फबाट शुक्रबार १० जना वकिलहरूले प्रतिरक्षा बहस गरेका हुन् । बहस गर्नेहरूमा बडाल र पन्तबाहेक पर्शुराम कोइराला, धर्मराज रेग्मी, आकृति रायमाझी, करुणबहादुर मल्लिक, सुदिज्ञ पन्त, सोमदेवी पौडेल, पुष्पराज पौडेल र ज्ञानेश्वर पराजुली रहेका छन् । यो प्रकरणमा अभियोजन गरिएका रायमाझी सबैभन्दा ‘हाइ प्रोफाइल’ व्यक्ति हुन् । (२०८० जेठ २७, नागरिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *