पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र १३, २०८३
समाजवादी देशहरूमा दलका नेता, मन्त्री, कार्यकर्ता, बुद्धिजीवी, लेखक, साहित्यकार, सेना, प्रहरी, कर्मचारी, किसान, मजदुर, युवा, विद्यार्थी, शिक्षक आदि देश समृद्ध बनाउन निरन्तर जुटिरहेका हुन्छन् । यसरी समाजवादी देशमा देश र जनताको निम्ति समुदाय नै लाग्ने हुँदा त्यहाँको सरकारप्रति जनताको विश्वास जितेको हुन्छ र देश पनि छिट्टै समृद्ध हुन्छ । तर, नेपालका शासकहरू देशको आम्दानीमा रजाइँ गरेर आफू धनी बन्छन्, राज्यकोषले कार्यकर्ता पालेर पार्टी विस्तार गर्छन् । उनीहरूलाई देश जतिसुकै कमजोर भए पनि कुनै मतलब हुँदैन । सरकारको नेतृत्व गर्न तँछाडमछाड गर्न पछि नपर्ने शासकहरू दलगत र व्यक्तिगत स्वार्थको राजनीतिले नेपाल हरेक पक्षमा पछि परेको हो । प्रशासन संयन्त्र, स्वास्थ्य, शिक्षा, विकासतर्फ सरकारको त्यति ध्यान पुगेको देखिँदैन । युवाहरूको विदेश पलायन बढ्दै छ, रोजगारी समस्या यथावत छ । दलको सिद्धान्त र विचारको ख्याल नगरी पद, पैसा र भागबन्डाको राजनीतिले गर्दा देश कमजोर बन्दै गएको राजनीतिक विश्लेषकहरूको आकलन गलत होइन । राजतन्त्रको अन्त्य पछि धेरै दलहरूले सरकारको नेतृत्व गरे । देशको मुहार फेर्ने भनी आएका शासकहरूले देश बदनाम हुने काम गरे; अरु देशको भरमा बस्न बाध्य पार्ने काम गरे; देश परनिर्भर बनिरह्यो । देशको महत्वपूर्ण स्रोत र साधन, नदीनाला, विदेशी या भारतलाई सुम्पिने काम भयो । भूमि अतिक्रमण रोकिएको छैन । नेपाल साँगुरो हुँदै गइरहेको छ । के यो सरकारको कमजोरी होइन ? यस्ता अदूरदर्शी कमजोर शासकहरूको चलखेल भइरहेसम्म देश समृद्ध बन्ने छैन, जनताको काम माम सुनिश्चित हुनेछैन । अब देशभक्त जनताले देशको लागि क्षति पु¥याउने, देश र जनताको अहितमा काम गर्ने नेता, मन्त्री या शासकहरूको छानबिन किन नगर्ने ? जसले जे गरे पनि टुलुटुलु हेरेर बस्ने हो भने भोलि देश कहाँ पुग्ला ? सजिलै अनुमान गर्न सकिन्छ ।
देश र जनताको यस्ता महत्वपूर्ण सवालमा कुनै पनि देशभक्त दल, नेता, जनता मौन बस्नु हुँदैन । स्वदेशमै रोजगारीको बन्दोबस्त नगरी शासकहरूले नीति नै तयार गरेर विदेश पठाउने कामले देश पराधीन बन्दै गयो । देशमा प्रजातन्त्र र गणतन्त्र स्थापना भएको दशकौँ भयो तर कुनै पनि शासकहरूले देश र विदेशमा देखाउन मिल्ने काम गरेका छैनन् । ती शासकहरूले देशमा अनिकाल र सङ्कट निम्त्याउने, अराजकता फैलाउने उच्छृङ्खल गतिविधिमा साथ दिइरहे । कहिले जातीय राजनीति तथा कहिले नेपाल र नेपालीलाई भन्दा भारतजस्ता विदेशी शक्ति राष्ट्रहरूको हितमा ऐन कानुन बनाउने काममा नेकाजस्ता पुँजीपतिवर्गको पार्टी मात्र होइन आफूलाई कम्युनिस्ट भनिने दलहरू पनि लागे । यही देशको निम्ति विडम्बनाको विषय बनेको छ । यो चिन्ताको विषय पनि हो । देशमा धेरै काण्डहरू भए । ती काण्डहरूमा सरकारको नेतृत्व गर्ने शासकहरू नै फसेका छन् । देशका उद्योगहरू बन्द गरेर या विदेशी कम्पनीलाई हस्तान्तरण गर्नु के शासकहरूको कमजोरी होइन ?
Leave a Reply