भर्खरै :

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइएकोबारे टिपोट – २३

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइएकोबारे टिपोट – २३

काठमाडौँ, ३१ जेठ । ‘के अभियोजन गरेको हँ यो ?’ नेपाल बारका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी मङ्गलबार काठमाडौँ जिल्ला अदालतको इजलासमा कड्किए, ‘यस्तो पनि मुद्दा हुन्छ कहीँ ?’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सरकारी वकिलले ‘अर्थ न बर्थ’ मुद्दा चलाएको जिकिर गर्दै उनले सोधेपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले विषयमा आउन पटक–पटक आग्रह गरे । तर, पनि प्रश्न दोहोरिएपछि न्यायाधीश न्यौपानेले भने, ‘यो मैले लगाएको मुद्दा हो र मसँग जङ्गिएको ? कृपया तर्कपूर्ण बहस गर्नुहोला ।’
अधिवक्ता केसीले खाणविरुद्ध राज्य नै लागेको दाबी गरे । उनको प्रतिक्रिया पूरा हुँदा नहुँदै न्यायाधीश न्यौपानेले सोधे, “नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन लागेको भनेर खाणलाई अभियोग लगाइनु आपत्तिजनक छ । खासमा खाणविरुद्ध राज्य नै लागेको छ । राज्यविरुद्धको मुद्दामा राज्य नलागे को लाग्छ त, राज्य नलडे को लड्छ ?”
न्यायाधीश न्यौपानेले प्रतिवादीहरूका तर्फबाट सीमित वकिलले अर्थपूर्ण बहस गर्न र तर्क नदोहो¥याउन अनुरोध गरे पनि सबैजसोले उस्तै विषय दोहो¥याएका छन् । तर, पनि सबै वकिलले बोल्न पाउनुपर्ने माग गरेपछि न्यायाधीशले भने, “तपाईँहरूसँग अदालतले नसक्ने रहेछ, इजलास निरीह भयो, मैले हात उठाउनुपर्ने भयो अब ।” यति भनेर उनी इजलासबाट बाहिरिए । (कान्तिपुर, २०८० जेठ ३१)
खाणको तर्फबाट अधिवक्ता पङ्कज कर्णले बहसको सुरुवात गर्दै खाणविरुद्ध कुनै किटानी जाहेरीसमेत नभएको अवस्थामा सहअभियुक्तको पोलका आधारमा प्रतिशोधपूर्ण मुद्दा चलाइएको जिकिर गरे ।
कर्णले अपुष्ट र अप्रमाणित पत्र सहयोगीसँग फेला पार्नुले मात्र अभियोग पुष्टि नहुने तर्क पनि गरे । शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले घटना मिलाउन पत्र लेखेको दाबी प्रहरीले गरेको छ ।
सुरुमा सरकारी वकिलले केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टङ्ककुमार गुरुङ, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, बालकृष्ण खाण, आङ्टावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाललाई अभियोगपत्र साथमै पेस गरेका थिए ।
यस्तै लक्ष्मी महर्जन, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, सुनील बुढाथोकी र प्रतीक थापालाई फरार अभियुक्तका रूपमा मुद्दा चलाएको छ । लक्ष्मी र हरिभक्त पक्राउ परिसकेका छन् । (गोरखापत्र, २०८०, जेठ ३१)
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले भने, “सबै प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस थाल्ने छन्, जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ ।”
उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो । उक्त प्रकरणमा २८ करोड ८१ लाख बिगो समेतको माग गरिएको छ । उक्त घटनाका आरोपीमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझैँ फरार रहेका प्रहरीले जनाएको छ । (नयाँ पत्रिका, २०८०, जेठ ३१)
हत्कडी लगाएर ल्याइएका केशवप्रसाद दुलाल अरू दिनभन्दा अलि झोक्राएका थिए । केहीबेर इजलासमा राखेर उनलाई अस्पताल लगियो । केहीबेरमा टोप, कोट, पाइन्ट लगाएर पूर्वमन्त्री बालकृष्ण खाँण इजलासमा प्रवेश गरे र सधैँझैँ कुर्सीमा बसे । सञ्चारमाध्यममा वकालतनामा गर्नेहरूको लहर भनी समाचार आएकोमा कानुन व्यवसायीहरूले आपत्ति जनाए । जवाफमा इजलासबाट न्यायाधीश प्रेमप्रसाद न्यौपानेले भने, “बाहिर भनेर हुन्छ, म १२ दिनदेखि यसैमा छु । भोलि म बिरामी भएँ भने के हुन्छ ? भरसक छिटो टुङ्गयाऊँ ।”
अधिवक्ता पङ्कजकुमार कर्णले बहसका क्रममा बरु टोपबहादुर रायमाझी र प्रेमकुमार राईको संलग्नता देखिने भन्दै उनले पूर्वमन्त्री बालकृष्ण खाँणको त्यति पनि नभेटिने दाबी गरे ।
शरणार्थी मामिलासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने कामलाई उनले गलत भन्न नमिल्ने बताए । उनले थपे, “मन्त्रिपरिषदमा प्रस्ताव लैजाँदैमा आपराधिक क्रिया हुँदैन, त्यो प्रस्तावमा कुनै पनि गैरकानुनी काम गरौँ भन्ने छैन ।” (नयाँ पत्रिका, २०८०, जेठ ३१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *