सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
काठमाडौँ, ३२ जेठ । प्रतिवादीको तर्फबाट हालसम्म बहस गरेका ७६ कानुन व्यवसायीमध्ये अधिकांशले कानुनी तर्क र जिरहभन्दा अभियोजन गर्ने सरकारी वकिल र अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई गाली गरेर बहस सकेका छन् ।
पूर्वगृहमन्त्री खाणका पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले पक्ष–विपक्षमा ज्यादा बहस गरेनन्, न इजलासतिरै केन्द्रित भए । बहसका क्रममा खाती ‘यहाँ पत्रकार साथीहरू पनि हुनुहुन्छ’ भन्दै सुरूमै पछाडि फर्केर बोलेका थिए । त्यस क्रममा उनले ‘हामीलाई भ्रष्टाचारी बचाउने मान्छे भनेर फोटोसहित छापिदिनुहुन्छ अनि त्यो टिकटकमा भाइरल भएर हेरिनसक्नुको गाली आउँछ’ भनेका थिए ।
हिरासतमा परेपछि गृहसचिव टेकनारायण पाण्डेले खाणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत ‘ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीमा मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र अब थप आरोपित व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप लिन्छ, नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ’ भनेर लेखेको चिट खाण पक्राउ भएको भोलिपल्ट प्रहरीले बरामद गरेको थियो । खाणका वकिलले त्यसलाई बनिबनाउ झूट भएकाले प्रमाणको रूपमा प्रयोग गर्न नमिल्ने जिकिर गरेका छन् । उनीहरूको यो जिकिर चलिरहँदा लामो समयदेखि धुम्म परेको खाणको अनुहारमा केही प्रसन्नता छाएको देखिन्थ्यो । खाणका वकिलहरूले गरेको बहसप्रति नेपाल बार एसोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलले सामाजिक सञ्जालमा कटाक्ष गरेका छन्, ‘बहस कि हस ? पक्षलाई सुनाउने कि बेन्चलाई ?’
नक्कली शरणाथी बनाएर अमेरिका लग्ने भन्दै ८७५ नेपालीलाई ठग्ने र ५६ जना अमेरिकी नागरिकलाई ठगेर ६३ करोड ल्याउने दुई गिरोहका नाइकेबिच साझेदारी, जालसाजी गरेर पैसा ल्याउने गिरोहलाई हाकाहाकी संरक्षण गर्ने तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अनुसन्धान भएन
इन्टरनेट फिसिङ (जालसाजी) बाट अमेरिकी नागरिकको बैङ्क खातामा रहेको रकम नेपाल ल्याउने र नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै रकम उठाउने दुई गिरोहका नाइकेहरूबिच साझेदारी रहेको पुष्टि भएको छ । विडम्बना के छ भने यी कसुरमा संलग्न दुवै गिरोहलाई देशको ‘शक्तिशाली राजनीतिक तप्का’ को संरक्षण थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै रकम सङ्कलन गर्ने केशव दुलाल र सानु भण्डारीसहितको गिरोहसँग पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहितका उच्चपदस्थको मिलेमतो थियो ।
धोकाधडी गरी ५६ जना अमेरिकी नागरिकको खाताबाट ६३ करोड ४६ लाख रूपैयाँ नेपाल ल्याउने पृथ्वी शाहको गिरोहलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संरक्षण थियो । नक्कली शरणार्थी प्रकरणका नाइके भण्डारी र वित्तीय ठगीका नाइके शाहबिच साझेदारी रहेको पुष्टि भएको छ ।
(कान्तिपुर, २०८० जेठ ३२)
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीले स्वतन्त्र, निष्पक्ष छानबिन र अनुसन्धानको प्रक्रिया अगाडि बढाएर त्यससम्बन्धी अनुसन्धानको क्रममा दोषी देखिएकालाई अभियोजनको प्रक्रियामा अदालतमा पु¥याएको उल्लेख गर्दै उनले थप अनुसन्धान गर्ने क्रम पनि जारी रहेको बताए । ‘थप अनुसन्धानको क्रममा तथ्य–प्रमाण देखा परे सरकारले छोड्दैन । थप अनुसन्धान हुँदै गर्दा केही तर्सिएका पनि छन् । आफू पनि पर्ने हो कि भनेर सशंङ्कित भएको सुन्छु । संलग्न अपराधीहरू तर्सिनु सुखद हो । जो–जो दोषी छन्, अपराध कर्ममा संलग्न छन्, तिनीहरूमा अब सरकारले छोड्दैन भन्ने परेको छ भने ठीक हो । तर, निर्दाेष कोही आतङ्कित हुनुपर्दैन, कोही निर्दाेष फस्ने छैन । दोषी कसैलाई नछोड्ने मान्यतामा अहिले काम भइराखेको छ । अहिलेसम्म प्रहरीको अनुसन्धान पनि निर्धारित कार्यपद्धतिभन्दा बाहिर गएको छैन ।’
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले खाणलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गर्दै इजलाससामु भने, “मेरो पक्षको सार्वजनिक जीवन समाप्त पार्ने उद्देश्यले मुद्दा लगाउनु गलत हो श्रीमान् । उहाँको पोलिटिकल डिफर्मेसनको क्षतिपूर्ति कसले दिने ? उहाँ महत्वपूर्ण दलको सभापति बन्ने व्यक्ति हो । उहाँको बदनामी भएको छ ।”
“अदालतमा मुद्दा छ, संसद्मा कराएका–करायै छन् । फलानोलाई कारबाही गर्नुपर्छ, फलानोलाई धन्यवाद छ, बधाई छ भनेर भन्छन् हाम्रा पार्लियामेन्टरियन”, खातीले भने, “मेरो पक्षले प्रमाण नष्ट गर्न सक्ने हैसियत राख्दैन, भागेर जाने होइन, प्रतिष्ठित व्यक्ति हो । देश र जनताको लागि थुप्रै काम गरेको हो श्रीमान् ।” उनले टोपबहादुर रायमाझीले राम्रो मतले जितेको तथा शरणार्थी नेता रिजाल पनि असल व्यक्ति रहेको भन्दै यस प्रकरणमा उनीहरूको संलग्नता हुन नसक्ने दाबी गरे । (नयाँ पत्रिका, २०८० जेठ ३२)
भ्रष्ट नेतालाई कारबाही गर्नुपर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै संसद् भवन अगाडि प्रदर्शनमा उत्रिएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जनालाई नियन्त्रणमा लिएको हो ।
समाजले सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस्, सार्वभौम संसद् भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरूलाई कारबाही गर र भन्ने आह्वानसहित प्रदर्शन गरेको थियो । (अन्नपूर्ण, २०८० जेठ ३२)
टेकनाथ रिजालका वकिलहरूले ठगी कार्यमा उनको संलग्नता नभएको दाबी गरेका छन् । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा भएको बहसको क्रममा अधिवक्ता रामकुमार सुवालले रिजालले नेताहरूलाई भेटेको स्वीकार गरे । तर ठगीमा उनको संलग्नता नभएको जिकिर गर्दै उनले भने, “मेरो पक्षले नेताहरूलाई पटकपटक भेटेको साँचो हो, त्यो भेटघाट भुटानी शरणार्थी समस्या समाधानका लागि हो ।” (अनलाइन खबर, २०८० जेठ ३२)
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बिहीबार थुनछेक आदेश आउनसक्ने सम्भावना रहेको बताए । “चारजनाको बाँकी भए पनि श्रीमान् (न्यायाधीश) इरिटेड हुनुभएको छ । उहाँहरूको छोटोछोटो गरेर टुङ्ग्याउन सके बिहीबार नै आदेश आउनसक्छ”, उनले भने, “हाम्रो तर्फबाट मैले आफैँ जवाफी बहस गर्ने तयारी गरेको छु । त्यति धेरै समय लाग्दैन ।”
पूर्वमहान्यायाधिवक्ता खातीले दाबी गरे । “यो प्रकरणमा बालकृष्ण खाणबाट कोही पनि पीडित भएको छैन । न कसैले जाहेरी दिएको छ, न कुनै पैसा लिएको प्रमाण छ”, उनले भने, “अभियोगपत्रमा पनि जाहेरवालाले खाणलाई कति रकम दिए भन्ने नै उल्लेख छैन । यसरी अनाहकमा आरोप लगाएर मुद्दा चलाउने यो अभियोगपत्र हो कि हावादारी पत्र हो ।” (नागरिक, २०८० जेठ ३२)
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको पक्षमा प्रतिरक्षा बहस गर्ने अधिवक्ताहरूविरूद्ध बुधबार जिल्ला अदालत, काठामाडाँै परिसरमा नाराबाजी भएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले प्रतिवादीको पक्षमा बहस गर्ने वकिलहरूविरूद्ध नाराबाजी गरेको हो । (नेपाल समाचार पत्र, २०८० जेठ ३२)
Leave a Reply