भर्खरै :

भक्तपुरमै ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ

भक्तपुरमै ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ

भक्तपुर, ३ असार । ट्राफिक गल्ती गर्नेलाई कारबाही र जरिवानाको नोटिस निजको मोबाइलमा पठाउने तयारी भइरहेको भन्दै काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख पोषराज पोखरेलले आइतबार भक्तपुरमै ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गर्नुभयो । काठमाडौँको बगिखानामा पनि ट्राफिक सचेतना कक्षा सञ्चालनको पर्याप्त पूर्वाधार नभएको भन्दै एसीसहितको कक्षा सञ्चालनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक प्रहरीको १५ प्रतिशत मात्र जिम्मेवारी हो तर सत प्रतिशत काम हुँदै आएको छ ।” धेरै जनगुनासो ट्राफिक प्रहरीमाथि आइरहेको चर्चा गर्दै उहाँले जति धेरै गुनासो आयो त्यति नै सुधार्ने मौका मिल्ने भन्दै ट्राफिक सुधारका लागि भए पनि गुनासो गरिदिन आग्रह गर्नुभयो । २३७ पटकसम्म ट्राफिक कारबाहीमा परेकाहरू रहेको चर्चा गर्दै उहाँले सडकको क्षमताभन्दा बढी भारका सवारी साधन सञ्चालनमा आएका कारण सवारी दुर्घटना बढेको बताउनुभयो ।
उपत्यकामा ट्राफिक चाप बढेको प्रति कुनै लेखाजोखा नभएको र त्यस अनुपातमा बाटो, पार्किङ एवं पर्याप्त पूर्वाधारको व्यवस्था नभएकोले बढ्दो दुर्घटनाले धनजनको क्षति भइरहेको चर्चा गर्दै उहाँले पछिल्लो चरणमा नक्कली लाइसेन्स, बिल बुक मात्र नभई नक्कली सवारी साधनको पनि बिगबिगी बढेको प्रस्ट पार्नुभयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिव मानन्धरले सभापतित्व ग्रहण गर्दै सवारी दुर्घटना न्यूनीकरण र जाम घटाउनको लागि सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिदै कोटेश्वरदेखि सूर्यविनायकसम्म ट्राफिक प्रहरीका ५ वटा पोस्ट स्थापना गरी सवारी निगरानी बढाएमा ५० प्रतिशतसम्म दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयोे ।
मापसे, लाइनक्रस, रातो बत्ती नाघ्ने र तीव्रगतिमा सवारी चलाएर कारबाहीमा परेका चालकहरूको सहजीकरणको लागि भक्तपुरमै ट्राफिक सचेतना कक्षा सञ्चालनको व्यवस्था रहेको भक्तपुर ट्राफिक कार्यालयका प्रमुख राजु कार्कीले बताउनुभयो । जिल्लामा गत जेठ महिनामा मात्रै २१ सय जना चालकहरू ट्राफिक कारबाहीमा परेको चर्चा गर्दै उहाँले ट्राफिक गल्ती नगरोस्, कारबाहीको चिट पनि काट्न नपरोस् भन्दै अब ट्राफिक गल्ती गर्नेहरूको तथ्याङ्क सिसि क्यामेरामार्फत राख्ने तयारी भएको बताउनुभयो । कोटेश्वरदेखि साँगासम्मको १६ किमिसम्मको क्षेत्रमा सिसि क्यामेरा जडान भइसकेकोे उल्लेख गर्दै उहाँले ट्राफिक अगाडि नभए पनि ट्राफिक गल्ती गर्नेलाई कारबाहीको डायरामा ल्याउने बताउनुभयो ।
उहाँले ट्राफिक सचेतना कार्यक्रम ट्राफिक दुर्घटना फेरि नहोस् भन्नको लागि भक्तपुरमै व्यवस्था गरेको बताउनुभयो । ट्राफिक कारबाहीबाट सुरुमा ५००, दोस्रोमा १००० र तेस्रोलाई १५ सय र हाल २ हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था भएको चर्चा गर्दै उहाँले बढी शुल्क उठाएर ट्राफिक प्रहरीले लाभ लिने गरेको जनगुनासो झूटो रहेको बताउनुभयो ।
भक्तपुर ट्राफिक कार्यालयको विशेष पहलमा भक्तपुर उद्योग वाणिज्य सङ्घ र भक्तपुर यातायात समन्वय समितिको आयोजनामा सो कार्यक्रम आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *