भर्खरै :

देशको अखण्डता र स्वाधीनताको निम्ति नेमकिपा सङ्घर्षरत

नेपालको भविष्य सुन्दर बनाउन, सन्तुलित विकास गर्न, जातीय दङ्गा र साम्प्रदायिक भावना फैलेर देशमा कुनै हिंसात्मक गतिविधि हुन नदिन नेमकिपाले जातीय राजनीतिको विरोध गरेको हो† प्राकृतिक स्रोत र साधनको आधारमा प्रदेशको नामकरण गर्न र हिमालदेखि तराईसम्म प्रदेशको विभाजन गर्न सुझाउ दिएको हो । नेमकिपाको यो सुझाव या उद्देश्य देश र जनताको पक्षमा छ । यसमा नेमकिपाको कुनै दलगत र व्यक्तिगत स्वार्थको गन्ध छैन । नेमकिपाका हरेक राय र सुझावहरू देश र जनताप्रति लक्षित हुन्छन् । सरकार बाहिर रहेर सिद्धान्त र विचारको आधारमा नेमकिपाले दृढ अडानका साथ राजनीति गरिरहेको कुरा घामझैँ छर्लङ्ग छ । यसबारे जनताले मूल्याङ्कन गरिरहेका छन् । देशको लागि चाहिने दल यस्तै हो । यसकारण, देश बनाउन र देश जोगाउन नेमकिपा आवश्यक छ, न्यायप्रेमी जनता नेमकिपाको झन्डामुनि गोल बन्द हुनुपर्छ ।
देशमा जातजातिको राजनीति गर्ने अभ्यास विशेषगरी माओवादी र मधेसवादी दलहरूले गरेका हुन् । जातीय प्रदेशको नामकरण गर्न माओवादी र मधेसवादी दलहरू नै लागेका हुन् । जातीय पहिचानको नारा दिएर जातीय राजनीति गर्ने दलका नेता पुष्पकमल दाहालले अहिले आएर जातजातिलाई फुटाएर राष्ट्रको हित हुँदैन भनी फुके । नेपाल बहुजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधता भएको देश थाहा हुँदाहुँदै जनताको मत बटुल्न माओवादीले पहिले जातीय नारा दियो । मधेसवादी दलका नेता र कार्यकर्ताहरूले पहाडियाहरूलाई लखेट्ने अभियान थालेकै हुन् । यो जातीय राजनीति हो । जातीय राजनीतिकै क्रममा तराईमा दर्जनौँको मृत्यु भयो । यदि त्यसरी नै जातीय राजनीति अघि बढेको भए अहिलेसम्ममा देशको स्थिति के होला ? नेपाली नेपालीबिच मारपिट हुन्थ्यो, दङ्गाफसाद हुन्थ्यो, हिंसात्मक गतिविधि बढेर असमझदारी बढ्थ्यो, विकासमा बाधा हुन्थ्यो, देश अस्थिर भइरहन्थ्यो र कङ्गाल हुन्थ्यो । नेमकिपाको खबरदारीले गर्दा धन्य त्यो स्थिति देखिएन ।
संविधानसभाको निर्वाचन र संविधान बनाउने बेला नेपाल र झन्डाको नाउँ फेर्ने प्रस्ताव ल्याइएको थियो । महिला प्रदेश बनाउने प्रस्ताव ल्याइएको थियो । देश बनाउने भनेर लागेका दलका नेताहरूले देशको नाम र इतिहास मेट्नेजस्ता प्रस्ताव ल्याएर देशलाई बर्बाद पार्ने कुत्सित प्रयासको नेमकिपाले समयमै खबरदारी गर्यो । देशमा विदेशी दबाब बढ्नु, सरकार विदेशी शक्ति राष्ट्रको उठबसमा रहन बाध्य हुनु, देशघाती सन्धि सम्झौता हुनु, देश अस्थिर हुनु, राजनीतिक र आर्थिक सङ्कट देखिनुका कारणहरूमा शासकहरू अदूरदर्शी हुनु हो† दलगत, व्यक्तिगत र भागबन्डाको राजनीतिमा फस्नु हो† सिद्धान्त र विचारको राजनीति छोडेर अवसरवादी र संशोधनवादी हुनु हो ।
अहिले पनि देशको हालत त्यति ठीक छैन । शासकहरू विदेशमुखी भए । विदेशीहरूको स्वार्थ पूरा गर्न शासकहरू लागे । उनीहरूलाई नेपाल र नेपालीभन्दा विदेशी शक्ति राष्ट्रका नायकहरू प्रिय बने । यही कारण नेपाली शासकहरूले सीमा सुरक्षा गर्न सकेनन्† नेपालको भूमिमा रहेका भारतीय सेनालाई फर्काएर लैजाउ भन्न सकेनन् । नेपालमा नेपालीभन्दा भारतीय नागरिकहरू बहुमत बनाउने काममा शासकहरू फसिरहे । नेपाललाई सिक्किम र फिजीकरण बनाउने भासमा शासकहरू लागिरहे । देशको यस्तो राष्ट्रिय सवालको विषयमा आवाज उठाउन र गलत नीति र कामको विरोध गर्न नेमकिपा कहिल्यै पछि परेन । यसकारण, प्रगतिशील र देशभक्त जनता देशको स्वाधीनता, अखण्डता र सार्वभौमिकताको निम्ति सङ्घर्ष गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *