भर्खरै :

बम खसेको ठाउँ सयौँ वर्षसम्म पिल्सिरहन्छ

बम खसेको ठाउँ सयौँ वर्षसम्म पिल्सिरहन्छ

लाओस दक्षिणपूर्वी एसियाली देश हो । जलसम्पदा र सुनजस्ता खनिजमा धनी लाओसमा विकासको प्रशस्त सम्भावना छ । लाओस व्यापारिक मार्गमा अवस्थित हुनाले बितेका शताब्दीहरूमा त्यस व्यापारले लाओसलाई समृद्ध पनि बनाएको थियो । आजभोलि लाओसको पर्यटकीय आकर्षणले धेरैको ध्यान तानेको छ । युरोपका प्रमुख पर्यटकसम्बद्ध संस्थाहरूले लाओसलाई पर्यटकीय गन्तव्यको रूपमा प्रचार गर्दै छन् । विशेषतः लाओसको वास्तुकला, इतिहास र सांस्कृतिक सम्पदालाई प्रचारको केन्द्र बनाइँदै छ । ग्रामीण अर्थतन्त्रमा आधारित लाओस गाउँ नै गाउँको देश हो । लाओसमा पर्यावरणीय सन्तुलन नबिगारी खाद्यान्नमा आत्मनिर्भर हुने सम्भावना प्रशस्त छ ।
दुर्भाग्य, यी सबै सम्भावना भएर पनि लाओस उत्पीडनको चपेटामा युगौँ पिल्सिएको देशमा पर्छ । कुनै बेला त्यहाँ फ्रान्सको उपनिवेश थियो । पछि जापानीहरूले आक्रमण गरे । उनीहरूलाई भगाएपछि फेरि पनि फ्रान्सेलीहरूले लाओसलाई उपनिवेश बनाए । लाओसका साहसी जनताले यी सबैको प्रतिरोध गर्दै गए । अन्ततः उनीहरूले स्वतन्त्रता हासिल गरेरै छोडे । तर, विकासका विभिन्न सम्भावनाहरूलाई साकार रूप दिन नपाउँदै फेरि अर्को दुःख आइलाग्यो । लाओसमाथि अमेरिकी हवाई सेनाले बमबारी गर्न थाल्यो । सीआईएको मार अझ चर्को थियो ।
समुद्रपारि धेरै टाढाको देश संरा अमेरिकालाई लाओस र त्यहाँका जनताले कुनै हानि पु¥याएका थिएनन् । तैपनि, लाओसका जनताले अमेरिकाले मच्चाएको ठूलो उत्पातको सामना गर्नुप¥यो । यति विनाश उनीहरूले औपनिवेशिक शासनमा पनि व्यहोर्नुपरेको थिएन । अमेरिकाले मच्चाएको विध्वंशका दुई पक्ष थिए ।
पहिलो, स्वाधीनता आन्दोलनको बेला लाओसमा पाथेट लाओ नामक कम्युनिस्ट सङ्गठन शक्तिशाली भएर आयो । मजदुर र किसानहरूको पक्षमा सङ्घर्ष गरेको हुनाले उसले त्यो शक्ति आर्जन गरेको थियो । त्यसैले लाओसले आफ्नो छिमेकी देश भियतनामका कम्युनिस्टहरूप्रति मित्रता कायम गर्ने अनुमान गरियो । त्यतिबेला भियतनामी जनता महान् तथा लोकप्रिय कम्युनिस्ट नेता हो चि मिन्हको नेतृत्वमा सङ्घर्ष गर्दै थिए । सुरुमा भियतनाम र लाओसका कम्युनिस्टहरूले संरा अमेरिकासँग झगडा गर्नुपर्ने कुनै कारण थिएन । बरु, उपनिवेशवादविरोधी सङ्घर्षमा आफूलाई अमेरिकाले सहयोग गर्ने उनीहरूको अपेक्षा थियो ।
यद्यपि, त्यसबेलासम्म संरा अमेरिकाका शासकहरूले विसङ्गतिपूर्ण निर्णय लिइसकेका थिए । उनीहरू कुनै पनि कम्युनिस्ट शक्तिलाई सहने पक्षमा थिएनन् । यही सोचले गर्दा उनीहरू पहिले भियतनाममा र त्यसपछि लाओसमा लामो युद्ध गर्ने बाटोमा अघि बढे । भियतनामका कम्युनिस्टहरूलाई सैनिक बन्दोबस्तीका सामान ढुवानी गर्ने बाटो काट्नुपर्छ भन्दै उनीहरू लाओसमा पसे ।
संरा अमेरिकाले दोहोरो रणनीति अपनायो । उसले एकातिर आकाशबाट लाओसमाथि भारी बमबारी ग¥यो । लाओसका गाउँका गाउँ डढ्न थाले । त्यति नै बेला सीआईएले जमिनमा अवैध र गोप्य युद्ध सुरु ग¥यो । सारा संसारको आँखामा धुलो हाल्दै सीआईएको युद्ध निकै गोप्य राखिएको थियो । लामो समयसम्म यो युद्धबारे अमेरिकी जनप्रतिनिधिलाई समेत सुइँको दिइएको थिएन । अवैध युद्धलाई सुरुमा विकासको निम्ति सहयोग गर्ने संस्थाहरूको भेषमा लुकाइएको थियो । ती संस्थाको आडमा सीआईएले आफ्नो सम्पर्क सूत्र कायम गथ्र्यो । त्यसपछि जातीय सङ्गठनहरूलाई कम्युनिस्टहरूविरुद्ध लड्नका लागि प्रयोग गर्न सकिने उसले निष्कर्ष निकाल्यो । यसको लागि बिस्तारै सीआईएले कम्युनिस्ट दस्ता र तिनका समर्थकहरूसँग लड्न सक्ने सङ्गठनहरूलाई दनादन हतियार र पैसा दिन थाल्यो । यसले गर्दा लाओसका जनतामा ठूलो फाटो आयो । केही मानिसहरूलाई लाओस सँगै मिलेर बस्न नसकिने देश बन्यो । केही मानिसलाई विश्वासघातीको रूपमा चित्रण गरियो । तीमध्ये केही मानिस अमेरिका भाग्नुप¥यो ।
बमबारीले झन् ठूलो उत्पात मच्चायो । ठूलो मात्रामा बमबारी मात्र गरिएको थिएन, बरु ठूलाठूला विनाशकारी हतियारको प्रयोग गरिएको थियो । सन् १९६४ र १९७३ बिच लाओस जस्तो सानो देशमा झन्डै २३ लाख टन बम खसालियो । दोस्रो विश्वयुद्धमा अमेरिकाले युरोप र एसियामा गरेर २१ लाख टन बम मात्र खसालेको थियो । प्रतिव्यक्ति बमबारीको हिसाबले लाओसले जत्तिको सघन बमबारी संसारको कुनै पनि देशले व्यहोरेको छैन । ९ वर्षमा लाओसमा चौबिस घण्टामध्ये प्रत्येक ८ मिनेटमा लाओसले एउटा बमको सामना गर्नुप¥यो ।
झन्डै २७ करोड बमहरू लाओसमा खसे । तीमध्ये धेरै क्लस्टर बम थिए । यिनलाई अत्यन्त घातक बममा गन्ने गरिन्छ । एउटा क्लस्टर बममा २०० सम्म साना बमहरू हुन्छन् । भुइँमा खस्नुअघि यो बम पड्किन्छ र थुप्रै साना छिर्का भएर जमिनभरि छरिन्छ । यसका छिर्काले लागेर लाओसमा धेरै बालबालिकाका संवेदनशील अङ्ग रगतपच्छे भएका थिए । यसले लाग्दा मानिसलाई एसिडले पोलेझैँ हुन्थ्यो र शरीरको जुन अङ्गमा प¥यो, त्यहाँ अत्यन्त पीडादायी घाउ बनाउँथ्यो । प्रायः निर्दोष सर्वसाधारण र गाउँलेहरू यो बमको शिकार हुन्थे । कतिपय गाउँ त बस्नलायक रहेनन् । त्यसैले गाउँलेहरू गाउँ नै खाली गरेर शरणार्थी भए । एउटा सानो देशमा करिब २ लाख मानिसहरू मरे । त्यसको दोब्बर मानिसहरू गम्भीर घाइते भए । लगभग साढे ७ लाख मानिसहरू शरणार्थी भए ।
यो त सामान्य झलक मात्र हो । खसेकामध्ये झन्डै ३० प्रतिशत बम तत्कालै पड्केनन् । भविष्यमा मानिसहरूलाई आच्छुआच्छु पार्न ती बम विभिन्न ठाउँमा छरिएकै अवस्थामा रहे । यी लुकेका बमका कारण पछिल्ला वर्षहरूमा करिब ५० हजार मानिसहरू मारिए । कोही घाइते भए त कोही अपाङ्ग भए । मारिनेहरूमध्ये धेरै बालबालिका थिए । घाइतेमध्ये धेरै अङ्गभङ्ग हुने गरेका छन् । धेरै बम बल वा खेलौनाजस्ता देखिने हुनाले बम समात्ने क्रममा ठूलो सङ्ख्यामा बालबालिका मारिँदै वा घाइते हुँदै आएका छन् । सरकारले चेतावनी दिने अभियान चलाइरहेको छ । यद्यपि, मारिने क्रम रोकिएको छैन ।
नपड्केका युद्धसामग्रीको खतरा लामो समयसम्म चल्ने देखिन्छ किनभने अमेरिकाले यो खतरा पन्छाउन अत्यन्त कम पैसा खर्च गरिरहेको छ । (सन् २०२१ मा मात्र यसप्रकारका ६३ दुर्घटनाको समाचार छापिएको थियो ।) एक अनुमानअनुसार संरा अमेरिकाले बमबारीका लागि ९ वर्षसम्म हिजोआजको मूल्यअनुसार दैनिक १ करोड ६० लाख डलर खर्च गरेको थियो । जब कि उसले नपड्केका युद्ध सामग्री हटाउन पैसा दिन थालेयता बर्सेनि ५० लाख डलर दिँदै आएको छ । उसले सन् १९९० को दशकतिरबाट यस्ता सामग्री हटाउन पैसा दिन थालेको हो । केही समयपछि उक्त रकममा उसले आफूखुसी अलि पैसा थपेको थियो । ‘युद्धको अपुताली’ नामक संस्थाले उक्त अन्याय र त्रासदीबारे जनचेतना जगाएपछि अमेरिकी सरकार पैसा बढाउन बाध्य भएको थियो । अहिलेसम्म नपड्केका युद्ध सामग्रीको सानो अंशमात्र हटाइएको छ । हिसाब गर्दा यसको मात्रा ५ प्रतिशत हुन आउला । विभिन्न अमेरिकी अध्ययनहरूले नपड्केका युद्ध सामग्रीको खतरा एक शताब्दीभन्दा पनि पछिसम्म पर्ने जनाएका छन् ।
नपड्केका युद्ध सामग्री हटाउन सहयोग दिने मात्र होइन, संरा अमेरिकाले लाओसलाई धेरै हर्जाना पनि तिर्नुपर्ने हो । किनभने, लाओसमा अमेरिकी हवाई सेनाले गरेको बमबारी र सीआईएले तल जमिनमा चलाएको युद्ध दुवै पूर्णतः अवैध थिए । लाओसविरुद्ध अमेरिकाले चलाएको युद्ध उसको आँखामा भियतनाम युद्धको सानो बिस्तार मात्र हुनसक्ला । तर, त्यस युद्धको कुनै वैध कारण थिएन । जुनसुकै कोणबाट केलाउँदा पनि त्यो घटनालाई अनैतिक मात्र भन्न सकिन्छ । संरा अमेरिकासँग कुनै कारण थियो नै भने पनि कम्युनिस्टहरूलाई ठेगान लगाउन उसले त्यसो गरेको हो भन्न सकिएला । विरोधाभाष कहाँनिर छ भने ८० लाख जनसङ्ख्यासहितको सानो देश लाओस पहिलेभन्दा अहिले झन् बढी कम्युनिस्ट विचारसँग नजिक बनेको छ ! सायद चीनभन्दा पनि बढी लाओस कम्युनिस्ट छ !
(स्रोत : एमआर अनलाइन ।)
अनुृवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *