भर्खरै :

बजेट सरकारमा गएका शासकहरूले नीतिगत भ्रष्टाचार गर्ने माध्यम !

बजेट सरकारमा गएका शासकहरूले नीतिगत भ्रष्टाचार गर्ने माध्यम !

भक्तपुर नगरपालिकाको चौधौँ नगर सभा सफलताको शुभकामना व्यक्त गर्दछु । भक्तपुर नगरपालिकाको काम र सेवाबारे चारैतिर चर्चा छ । धेरैले आशा र भरोसाका साथ यतैतिर हेरिरहेका छन् । शिक्षा, स्वास्थ्य, संस्कृति, सम्पदा तथा विकासमा मार्गदर्शनको अनुभूति गरिरहेका छन् ।
आजको सफलता र उपलब्धिका लागि नेमकिपाका अग्रज पुस्ताको योगदानप्रति हामी आभारी छौँ । प्रजातन्त्र पुनःस्थापनापछिको एउटा पुस्ताले नेमकिपाको सेवा अनुभव गरिसकेको छ । उपलब्धिको लेखाजोखासँगै विगतको आत्मसमीक्षा गर्दै आउँदो पुस्ताको सेवाका निम्ति तयारी थालोस् । आजभन्दा ३३ वर्ष अघि लिइएका जनसेवाका निर्णय र पहलहरूले आजको पुस्ता लाभान्वित छ । यो नगरसभाले कमसेकम अबको ३३ वर्षलाई सोचेर नीति तथा कार्यक्रम तय गरोस् । विकासको नयाँ मोडल स्थापित गरोस्, शुभेच्छा छ । नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनको शुभकामना ।
देशमा यतिबेला बजेट अधिवेशनको समय छ । जेठ १५ गते सङ्घ, असार १ गते प्रदेशहरूमा बजेट पेश गरिए । असार १० भित्र स्थानीय तहका बजेट प्रस्तुत गरिइँदै छन् ।
पछिल्लो ३० वर्षमा के जनताको जीवनमा परिवर्तन ल्याउने बजेटहरू ल्याइए ? बजेट एउटा निश्चित अर्थराजनीतिक सिद्धान्तको आधारशिलामा तयार गरिनुपर्छ । हामीले अनुभव गर्यौँ बजेट आजसम्म सरकारमा गएका शासकहरूले नीतिगत भ्रष्टाचार गर्ने माध्यम बनाए । अर्को चुनावको तयारीका लागि दलीय स्वार्थमा बजेट बनाए ।
देशको विकास, जनताको सुखभन्दा निकै पर व्यक्तिगत स्वार्थमा बजेट बने । बजेट कार्यान्वयनमा नेतृत्वविहीनता, बदमासी, भ्रष्टाचार र जवाफदेहिता नहुनु पुरानै रोग हो । यही कारण आज देश गम्भीर आर्थिक सङ्कटउन्मुख छ । उत्पादन अर्थतन्त्रको मेरुदण्ड हो, बजेटले उत्पादनको वातावरण तयार गर्छ, पूर्वाधार निर्माण गर्छ । देशमा उत्पादन छैनभन्दा फरक नपर्ला । नेपालका लागि कृषि प्रमुख स्रोत हो तर जबजब किसानको खेतमा धानको फसल लाग्छ, धानको मूल्य घट्छ, जबजब नेपाल पोल्ट्रीमा आत्मनिर्भर बन्दै छ भन्ने खबर आउँछ तब बर्डफ्लु आउँछ, अण्डा बाटामा फालिन्छ । नेपाली तरकारीको मूल्य घटेर किसान बाटैमा तरकारी फाल्न बाध्य हुन्छन् । बजेट बन्दै गर्दा गोलभेँडाको भाउ २ रूपैयाँ पुगेर कालिमाटीमै गोलभेँडा फालियो । भएको उत्पादनबाट किसानले मूल्य पाउँदैनन् । बेमौसमको तरकारीमा अचाक्ली भाउ बढ्छ । उत्पादित वस्तुको मूल्य निर्धारणजस्तो सामान्य निर्णय किन गर्दैन ? बजारमा बिचौलियाको बिगबिगी गम्भीर समस्या बनेको छ । यस्तो समस्या समाधानका सैद्धान्तिक आधार बजेटले दिएको हुनुपर्छ । तर, छैन । नेपाल वस्तुमा मात्र आत्मनिर्भर बन्न नसकेको होइन । बजेट निर्माणमा समेत आत्मनिर्भर छैन । वैदेशिक ऋण र लगानीको अपेक्षा बिना बजेट बन्न सक्दैन । हरेक वर्ष घाटा बजेट पेश हुन्छ । यो पटक त चालु खर्चका लागि पनि ऋणले पूर्ति गरेको छ । ३ खर्बको Fiscal Deficit छ । व्यापार घाटाको त लेखाजोखा नै छैन । राज्यसँग वैदेशिक मुद्रा सञ्चिती निकै कम छ ।
देशको अर्थतन्त्रको ३ खम्बा मानिएको सरकारी क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रले Economic Crisis सामना गर्दै छन् । सरकारी क्षेत्र आय ¥हास (प्रदेश बजेट २० प्रतिशतले सानो बनाइयो) या घाटाको अवस्थामा, स–साना निजी क्षेत्रहरू, राष्ट्रिय पुँजीहरू सरकारको गलत करनीतिका कारण धरासायी अवस्थामा छन् भने सहकारीहरू विस्फोट या टाटपल्टाइको अवस्थामा छन् ।  Civil शिव शिखरलगायतका सहकारीले बचतकर्ताको बचत हिनामिना गरी फरार भएसँगै बचतकर्ताहरू सडकमा ओर्लिएका खबरहरू निरन्तर आइरहेका छन् । अर्थतन्त्रको आधार मानिने तीनवटै क्षेत्र सङ्कटग्रस्त रहेको अवस्थामा पनि सरकारहरूले बजेटमार्फत नीतिगत पहल गरेको देखिन्न । उल्टै अर्थतन्त्रलाई पूर्णतः भारतनिर्भर बनाउने कुकर्म रोकिएको छैन । प्राकृतिक स्रोत दोहनसँगै नेपाली बजार कब्जालाई स्वीकार्नु नेपाली अर्थतन्त्रको दुर्भाग्य हो । यो पटक त जलविद्युत्को नाममा जलसम्पदा र आयोजनामा भारतीय एकाधिकारको सम्झौतामा हस्ताक्षर गरेको देखियो । शासकहरू भ्रमपूर्ण प्रचार गर्दै छन् । विद्युत् बेचेर देश धनी बन्ने गलत प्रचार गर्दै छन् । ग्यास, पेट्रोलियम र ऊर्जाको साधन आयात रोक्नेतिर ध्यान छैन । आजको अवस्थामा नेपाल विद्युत् प्राधिकरण भन्दै छ यो वर्ष जेनतेन धान्ला अर्को वर्षदेखि बिजुली आपूर्ति गा¥हो हुनेछ । विद्युत्को माग नेपालमै बढ्दो छ, लोड धान्ने पूर्वाधार छैन । पूर्वाधार निर्माणमा देश भारतनिर्भर छ । राजनीतिक दस्ताबेज मानिने बजेटबाटै पुस्तौँपुस्तालाई परनिर्भरताको खाडलमा धकेल्दै छ । ३३ वर्षको बजेट नेपालको पुँजीवादी अर्थनीति या नवउदारवादी अर्थनीतिको असफलताबाहेक केही बन्न नसकेको तथ्य तीतो यथार्थ हो ।
देश सङ्घीय व्यवस्थामा गएपछि ती नै तहमा ६ वटा बजेट पेश भए । बजेट निर्माण व्यवस्था या बन्दोबस्तको व्यावहारिक कार्यान्वयन गर्ने माध्यम पनि हो । तर, सङ्घीयताको मर्मविपरीत बजेट निर्माणमा पनि केन्द्रीकरण छ । खुद्रा मसिना योजनामा पनि प्रदेश र स्थानीय सरकारलाई बेवास्ता गर्दै सङ्घले नै जिम्मेवारी लिन खोज्नु सरल भाषामा सङ्घीयताविपरीत छ । राजस्व सङ्कलन र वितरण दुबै पक्षमा स्वायत्तता र विकेन्द्रीकरणविना सङ्घीयता बाँच्न मुस्किल हुन्छ । प्रदेशहरूसँग दृष्टिकोण छैन, केन्द्रकै सिको गर्छन् । केन्द्रले पठाएको पैसाको आधारमा बजेट बनाइन्छ । आयको स्रोत पहिचान, उत्पादनमा भन्दा केन्द्रको बजेट स्थानीय तहमा हस्तान्तरण गर्नुलाई सफलता मान्दै छन् । यही कारण सङ्घीयता असफल बन्दै छ । केन्द्रले निकासी गरेको ६० प्रतिशत बजेट प्रदेशको चालु खर्चमा जान्छ । प्रदेशको आम्दानी छैन । खर्च बढी हुनु राज्यका लागि सेतो हात्तीसरि भएको छ । साथै आजको परिस्थितिले नेमकिपाका अध्यक्ष रोहितले भन्नुभएझैँ सङ्घीयता देशको दुरवस्थाको ओखती होइन, यो समाजवाद होइन, यसले समस्या हल गर्दैन भन्ने दूरदृष्टिलाई स्मरण गराउँछ । देशको यस्तो परिदृश्यमा हामीसँग आत्मनिर्भर बन्ने र आयका स्रोतहरू पहिचान गर्नुबाहेकको विकल्प छैन । स्थानीय तहमै स्रोत, उत्पादन प्रवद्र्धन र सीपको उपयोगका उपायहरू पहिचान र युवा परिचालनका कार्यक्रमहरू जरुरी छ । उत्पादन र आयआर्जनका Micro-Economic Scope हरूबारे सोच्न आवश्क छ । आजभन्दा ३० वर्षअघि व्यवस्थासँग लडेर वैदेशिक पर्यटकसँग १ डलर लिने निर्णयले आजको यो पुस्ता लाभान्वित छ । त्यो पहलले भक्तपुरको सूक्ष्म अर्थतन्त्रमा ठूलो योगदान पु¥यायो । आज त्यो हाम्रो आत्मनिर्भरताको एउटा आधार बनेको छ । अबको ३० वर्षपछिको पुस्तालाई सेवा गर्ने योजना र अगुवाइ आजको आवश्यकता हो । भक्तपुर नगरपालिकाले गरेका कला, संस्कृति, सम्पदाहरूको निर्माण, पुनःनिर्माणले पर्यटनको क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ, आन्तरिक पर्यटनको समेत केन्द्र बन्दै छ, भक्तपुर । पर्यटनलाई उद्योगको रूपमा विकास गर्न घरेलु र हस्तकला ग्रामहरूको सञ्चालनमा जोड दिनु समयको माग पनि हो । अन्यथा पर्यटकहरूबाट केही निश्चित धनाढ्य मात्र लाभान्भित हुनेछन् । रैथाने उत्पादन र युवाहरूको परिचालनलाई एउटा लय दिन सके उचित हुन्छ । जुजु धौ, पुस्टकारी, गुडपाख, नेवारी खाजा, ताइचिन चिउरा, हाकुपटासी, भादगाउँले टोपीलगायतका वस्तुहरूमा Quality Branding तिर जान ढिलो भएको चर्चा छ । शिल्पकला, हस्तकलाका स–साना मौलिक क्यगखभलष्च हरू उत्पादनले भक्तपुरलाई अझ फैलन मद्दत गर्नेछ ।
देशभरि सहकारी बदनाम र विस्फोट स्थितिमा हुँदा भक्तपुर शान्त देखिन्छ । यद्यपि, विकृत्तिबाट जोगिने उपायहरू जरुरी छ । परोक्षरूपले सहकारीभित्र भइरहेको हिनामिना, दुरूपयोग सतहमा आउन धेरै बेर लाग्दैन । यहाँका सहकारीहरू पनि उत्पादनमुखी र सेवामुखी बन्न नसकेको कुरा उत्तिकै सही हो । यस्तो आर्थिक सङ्कटमा कुनै होटलमा प्रतिव्यक्ति ८/९ हजार खर्चेर वार्षिक समीक्षा गर्ने सहकारीहरू पनि छन् । सहकारीको आम्दानी या जगेडा जनताकै पैसा हो, मितव्ययितामात्र अपनाइए ठूलो पुँजी निर्माण हुनसक्दछ । स्थानीय सरकारको एउटा बलियो आधार सहकारी हुनसक्दछ । सक्षम सहकारीहरूलाई उत्पादन प्रवर्धन र सेवा क्षेत्रमा लगाउन सके श्रेयस्कर हुनेछ । सहकारीको नियमन गरी अभिभावकत्व जरुरी छ ।
भक्तपुर नगरपालिकाले महिला श्रमशक्ति विकासमा गरिरहेको कार्य प्रशंसनीय छ । शिक्षा र सीपमुलक तालिमसँगै महिला स्वास्थ्यका लागि गरिएका प्रयासहरू सराहनीय छन् । ख्वप अस्पतालमा प्रसूति सेवा सुरु भएको छ । यो अत्यन्त खुसीको कुरा हो । भक्तपुरमा मातृशिशु स्वास्थ्यको क्षेत्रमा यो एउटा राम्रो पाइला हो । यसका निमित्त स्थानीय सरकार, जनप्रतिनिधि र अस्पताल परिवारप्रति दिदीबहिनीहरू आभारी छन् । स्त्री रोग उपचारका नयाँ नयाँ सेवा सुविधासँगै अस्पताल आधुनिक उपकरणले सुसज्जित गर्नुपर्ने आवश्यकता छ । एउटी आमासँग प्रत्यक्ष जोडिने अर्को सेवा बालरोगसम्बन्धी राम्रो तथा स्तरीय सेवा र परामर्श हो । त्यसले बालबालिकाको उचित विकासमा मद्दत पु¥याउनेछ ।
आजभन्दा २५ वर्षअगाडि शिशुस्याहार केन्द्रहरूको स्थापना एक किसिमको रूपान्तरण थियो । काम गरी खाने महिलाहरूका निम्ति बालबालिकाको उचित हुर्काइको निम्ति राम्रो सुरुआत थियो । आज सिंहावलोकन तथा समीक्षासँगै स्त्तरोन्नतिको अपेक्षा सबैले राखेका छन् । भक्तपुर ज्ञानविज्ञानको केन्द्र र समाजको बुद्धिजीवीकरण गर्ने अगुवा बनिरहँदा, ख्वप विश्वविद्यालय स्थापनाको तयारी भइरहँदा तल्लो तहको प्रारम्भिक तहको शिक्षा या हुर्काइतिर पनि उत्तिकै ध्यान पुग्न जरुरी महसुस हुन्छ ।
साथै विद्यालय, कलेजहरूमा छात्रा हेल्थ अवेयरनेस कार्यक्रमहरू जरुरी छ । किशोरावस्थाका छात्राहरूलाई दिइएको स्वास्थ्य परामर्शले तिनको जीवन सहज बनाउने र एउटा जानकारीले ज्यान जोगिनेछ । स्तन क्यान्सर, Cervical Cancer जस्ता घातक रोगबाट जोगिन सक्ने हुन्छ । अहिले ९ देखि १५ र १५ देखि ४५ वर्षाका छोरी या महिलाका लागि पाठेघरको मुखको क्यान्सरसँग लड्ने HPV Vaccine आयो भन्ने चर्चा छ । क्लिनिकहरू र Private Hospital बाट यो सेवा दिइँदै छ । HPV Vaccine को यथार्थबारे पनि छोरीहरू र आमाहरूलाई जानकारी दिन आवश्यक छ । यो त एउटा प्रतिनिधि उदाहरण हो ।
अन्त्यमा, फेरि एकचोटि यो नगरसभा आफ्नो उद्देश्यमा सफल होस् भन्ने कामना व्यक्त गर्दछु ।
(असार ६ गते भएको भक्तपुर नगरपालिकाको चौधौँ नगर सभामा नेमकिपाका केन्द्रीय सदस्य सृजना सैंजूद्वारा व्यक्त विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *