व्यक्तिको पहिचान जन्म वा जातले होइन, उसको योग्यता, क्षमता, इमानदारिता र कर्मले निर्धारण गर्ने
- असार २१, २०८३
भक्तपुर नगरपालिकाको चौधौँ नगरसभामा यहाँहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु ।
सर्वप्रथम, विभिन्न जनआन्दोलन र सङ्घर्षहरूमार्फत जनताको अधिकार सुनिश्चित गर्ने क्रममा जीवन उत्सर्ग गर्नुभएका प्रातः स्मरणीय सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै जनआन्दोलनहरूमा घाइते हुनुभएका, प्रवास र भूमिगत भएर राजनैतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित हामी जनप्रतिनिधिहरू पार्टीको सिद्धान्त र विचारलाई आत्मसात गर्दै जनताको सेवामा समर्पणभावले लागिरहेका छौँ । नेमकिपाका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ हाम्रो मार्गनिर्देशन हो । भक्तपुरलाई आजको अवस्थासम्म पु¥याउन पार्टीका नेता, अग्रज कार्यकर्ता, स्थानीय जनता, पूर्वजनप्रतिनिधिहरूको महत्वपूर्ण योगदानप्रति हामी आभार प्रकट गर्छौँ । अग्रजहरूले देखाउनुभएको बाटोमा निःस्वार्थपूर्वक जनताको सेवामा लाग्नु हामी आफ्नो कर्तव्य ठान्छौँ ।
ऐतिहासिक एवम् विश्व सम्पदामा सूचिकृत नगर भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रसहित सफा, सुन्दर, स्वस्थ, शिक्षित, सभ्य र सुसंस्कृत नगर बनाउनुको साथै आन्तरिक एवम् बाह्य पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्यस्थलको रूपमा अघि बढाउने हाम्रो साझा लक्ष्य हो ।
स्थानीय तहको निर्वाचन २०७९ मा नेमकिपाको तर्फबाट अगाडि सारिएको प्रतिबद्धता पत्रमार्फत जनतालाई दिएको वचन पूरा गर्न शिक्षा, स्वास्थ्य, सम्पदा/संस्कृति संरक्षण, खानेपानी, सरसफाइ, पर्यटन, भौतिक पूर्वाधार निर्माण, पर्ती र सार्वजनिक जग्गा संरक्षण, सामाजिक न्याय तथा सुशासन प्रवद्र्धन, उपलब्ध स्रोत र साधनको अधिकत्तम उपयोग गरी स्थानीय युवाहरूलाई उद्यमशील तथा स्वरोजगार बनाउनेलगायतका कार्यलाई प्राथमिकताका साथ नगर प्रमुखले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न यो बजेट केन्द्रित हुनेछ ।
अब म चालू आ.व. २०७९/८० को बजेट कार्यान्वयनको सङ्क्षिप्त समीक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१. चालु आ.व. २०७९/८० का लागि कुल २ अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट निर्माण गरिएको थियो । जसमध्ये नगरपालिकाको आन्तरिक आयतर्फ ४६ करोड ८१ लाख आम्दानी हुने अपेक्षा गरिएकोमा २०८० जेठ मसान्तसम्ममा ३७ करोड ७८ लाख ४ हजार ६ सय १२ रूपैयाँ ७५ पैसा यथार्थ आम्दानी भयो जुन अनुमानित आम्दानीको ८०.७१ प्रतिशत हुन आउँछ । सम्पति तथा भूमिकर, घर बहाल कर, पर्यटन सेवा शुल्क, व्यवसाय करलगायतमा चालु आ.व. का लागि अनुमानित गरिएकोमा उल्लेख्य आम्दानी भएको देखिन्छ । २०८० असार मसान्तसम्ममा आन्तरिक आयतर्फ ३९ करोड ९१ लाख आम्दानी हुने संशोधित अनुमान गरिएको छ ।
२. बाह्य स्रोततर्पm चालु आ.व.को जेठ मसान्तसम्ममा राजस्व बाँडफाँटमा ११ करोड ९१ लाख १२ हजार ८४१ रूपैयाँ अर्थात् ६९.०९ प्रतिशत, सङ्घ सरकारबाट प्राप्त अनुदानमा (वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान, सामाजिक सुरक्षा भत्ता, सडक बोर्ड नेपालबाट प्राप्त रकमसमेत) ८३ करोड ८२ लाख ७४ हजार ८९५ रूपैयाँ अर्थात् ७२.६२ प्रतिशत र प्रदेश सरकारबाट प्राप्त अनुदानमा (वित्तीय समानीकरण, सशर्त, समपुरक र विशेष अनुदानबाट प्राप्त रकमसमेत) ८ करोड ९ लाख ३२ हजार रूपैयाँ अर्थात् १०० प्रतिशत प्राप्त भयो । त्यस्तै अन्य आयमा (स्थानीय साझेदारी कार्यक्रम र ऋणबाट प्राप्त रकमसमेत) २ करोड ६४ लाख ९४ हजार प्राप्त भयो । यस हिसाबले बाह्य स्रोततर्फ चालु आ.व.को जेठ मसान्तसम्ममा कुल १ अर्ब ६ करोड ४८ लाख १४ हजार २५६ रूपैयाँ अर्थात् ६४.६२ प्रतिशत आम्दानी भयो भने असार मसान्तसम्ममा १ अर्ब ३७ करोड आम्दानी हुने संशोधित अनुमान गरिएको छ ।
३. चालु आ.व. २०७९/८० मा व्ययतर्फ २०८० जेठ मसान्तसम्मको कुल चालु खर्च ९१ करोड ९५ लाख ६५ हजार ९५५ अर्थात् ६३.४८ प्रतिशत भयो । असार मसान्तसम्ममा चालु खर्च बढेर १ अर्ब ९ करोड ३९ लाख ८० हजार १३१ रूपैयाँ खर्च हुने संशोधित अनुमान गरिएको छ ।
४. त्यस्तै पुँजीगत खर्चतर्फ २०८० जेठ मसान्तसम्ममा २७ करोड ६९ लाख ६० हजार रूपैयाँ अर्थात् ३७.६४ प्रतिशत यथार्थ खर्च भयो भने असार मसान्तसम्ममा उक्त खर्च बढेर ५५ करोड १० लाख ८३ हजार रूपैयाँ हुने संशोधित अनुमान गरिएको छ ।
५. चालु र पुँजीगततर्फको दुवै खर्च जोड्दा असार मसान्तसम्ममा १ अर्ब ६४ करोड ५० लाख ६३ हजार गरी कुल बजेटको ७५.३१ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको छ । पुँजीगततर्फका सम्पदा पुनःनिर्माणसँग सम्बन्धित धेरैवटा योजनाहरू चालु आ.व.मा सुरु भइसकेको र आगामी आ.व.का लागि क्रमागत योजनामा पर्ने भएकोले यथार्थ खर्च अझै बढ्ने निश्चित छ ।
यस सम्मानित नगरसभामा अब म आगामी आर्थिक वर्ष २०८०/८१ को लागि भक्तपुर नगरपालिकाको आय–व्ययको अनुमानित विवरण पेश गर्ने अनुमति चाहन्छु ।
अ) आयतर्फ :
क) आन्तरिक आयतर्फ :
६. यस नगरपालिकाको आन्तरिक आयको प्रमुख स्रोतको रूपमा रहेको पर्यटन सेवा शुल्कबाट रु. २७ करोड, जग्गा बिक्रीबाट रु. १० करोड, सम्पत्ति तथा भूमिकरबाट ३ करोड ८५ लाख, घर बहालबाट ३ करोड ७५ लाखसहितको आ.व. २०८०/८१ को लागि कुल ६० करोड रूपैयाँ आन्तरिक आय हुने अनुमान गरिएको छ । आन्तरिक आयको विस्तृत विवरण अनुसूची–१ मा संलग्न छ ।
ख) बाह्य आयतर्फ :
७. यस नगरपालिकामा सङ्घीय सरकारबाट रु. ८ करोड ८६ लाख ५१ हजार, वाग्मती प्रदेश सरकारबाट रु. ३ करोड ४९ लाख ७८ हजार र मालपोत तथा अन्यबाट रु. ५ करोड गरी राजस्व बाँडफाँडमा कुल रु. १७ करोड ३६ लाख २९ हजार रूपैयाँ प्राप्त हुने अनुमान छ ।
८. वित्तीय समानीकरण अनुदानतर्फ सङ्घीय सरकारबाट रु. २० करोड ३७ लाख र वाग्मती प्रदेश सरकारबाट रु. २ करोड २४ लाख १७ हजार गरी कुल रु. २२ करोड ६१ लाख १७ हजार प्राप्त हुने अनुमान छ ।
९. सङ्घीय सरकारबाट विशेष अनुदानतर्फ रु. २ करोड ५० लाख र समपुरक अनुदानतर्फ रु. ५० लाख प्राप्त हुने अनुमान छ । आगामी आर्थिक वर्षका लागि वाग्मती प्रदेश सरकारबाट समपुरक र विशेष अनुदानमा रकम प्राप्त नभएकोमा हाम्रो विशेष ध्यानाकर्षण भएको छ । वाग्मती प्रदेश सरकारबाट भक्तपुर नगरपालिकालाई विभेद गरिएको हाम्रो ठम्याइ छ ।
१०. सशर्त अनुदानतर्फ सङ्घीय सरकारबाट रु. ४० करोड ८० लाख र वाग्मती प्रदेश सरकारबाट रु. २ करोड ५५ लाख ९४ हजार प्राप्त हुने अनुमान छ ।
११. यससँगै स्थानीय पूर्वाधार साझेदारी, ऋणलगायत विभिन्न शीर्षकबाट २६ करोड रूपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
१२. चालु आर्थिक वर्षको अनुमानित बैङ्क मौज्दात १३ करोड ६२ लाख ५३ हजार ५३३ समेत गरी आगामी आ.व. २०८०/८१ का लागि यस नगरपालिकाको कुल अनुमानित बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रूपैयाँको हुनेछ । बजेटको आयतर्फको बाह्य स्रोतको विस्तृत विवरण अनुसूची— २ मा संलग्न छ ।
आ) व्ययतर्फ :
१३. आगामी आ.व. का लागि चालु खर्चतर्फ १ अर्ब ३६ करोड ९४ लाख ९४ हजार रूपैयाँ अर्थात् ६०.३६ प्रतिशत र पुँजीगत खर्चतर्फ ८० करोड ४१ लाख रूपैयाँ ३५.४५ प्रतिशत विनियोजन गरिएको छ । यसको विस्तृत विवरण अनुसूचीमा संलग्न छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख अर्थात् ४.१९ प्रतिशत विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका महत्वपूर्ण योजना तथा कार्यक्रमहरूबारे सङ्क्षिप्तमा पेश गर्दछु ।
शिक्षा :
१४. भक्तपुरलाई ‘ज्ञानविज्ञानको केन्द्र’ र उत्कृष्ट शैक्षिक गन्तव्यस्थल बनाउने उद्देश्यले शिशुस्याहार तथा बाल विकास केन्द्रहरूदेखि विश्वविद्यालय तहसम्मको सम्पूर्ण पढाइ यसै नगरमा व्यवस्था गर्ने लक्ष्यसहित यस नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिइरहेको छ । जनताको अबको उद्देश्य ख्वप विश्वविद्यालय स्थापना हो । यसका लागि आवश्यक तयारी गर्न विज्ञहरूको एक कार्यदल गठनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
१५. नगरपालिकाद्वारा सञ्चालित ८ वटा शैक्षिक संस्थाहरूमध्ये ख्वप माविमा नयाँ भवन निर्माण कार्य अगाडि बढाइएको छ भने ख्वप इन्जिनियरिङ कलेजमा बी ब्लकको नयाँ भवन निर्माणका लागि आगामी वर्ष २ करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ । ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ भवन निर्माणको लागि २ करोड रूपैयाँ विनियोजन गरिएको छ । त्यस्तै ख्वप कलेज अफ ल का लागि आवश्यक जग्गा खरिद गरिएको छ ।
१६. नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरूको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय अनुगमन प्राविधिक समितिको सिफारिससमेतको आधारमा नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी सहयोग अनुदान प्रदान गर्न २ करोड बजेटको व्यवस्था गरिएको छ ।
१७. नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत कर्मचारी तथा सहयोगीहरूका लागि निजहरूले पाउँदै आएको तलबमा यस नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति मासिक रु. २ हजारको दरले थप पारिश्रमिकको व्यवस्था गरिएको छ ।
१८. कलेज शिक्षासँगै अध्ययन अनुसन्धानलाई विशेष प्राथमिकता दिने उद्देश्यले अनुसन्धान केन्द्रहरूको व्यवस्थाका लागि बजेट छुट्याइएको छ ।
१९. देशकै लागि अत्यावश्यक विषयहरू जस्तैः इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषा अध्ययन गर्ने विद्यार्थीहरूलाई दिँदै आएको स्नातक तहदेखि विद्यावारिधिसम्मको अध्ययनमा दिँदै आएको पूर्ण छात्रवृत्तिलाई निरन्तरता दिँदै यस आ.व. देखि अर्थशास्त्र, तर्कशास्त्र र दर्शनशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गर्ने नीतिअनुसार आवश्यक बजेट व्यवस्था गरिएको छ ।
२०. सभ्य समाज निर्माणका लागि नैतिक र व्यवहारिक शिक्षाको व्यवस्थापनका साथै विद्यालयहरूमा स्काउट प्रशिक्षण र खेलकुद प्रशिक्षणलाई निरन्तरता दिन बजेटको व्यवस्था गरिएको छ । अपाङ्गता भएका विद्यार्थीहरूको लागि विशेष शिक्षालाई थप प्रभावकारी बनाउन यस आ.व. को बजेटमा व्यवस्था गरिएको छ ।
२१. नगरवासी विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले यस नगरपालिकाद्वारा वितरण गर्दै आएको शैक्षिक ऋणलाई यस वर्ष पनि निरन्तरता दिन रु. २ करोड विनियोजन गरिएको छ ।
२२. नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा कक्षा ५ र ८ को आधारभूत परीक्षा र कक्षा १० कोे एसईई परीक्षाको तयारी परीक्षा नगरस्तरीयरूपमा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
२३. नगरवासी जनताको भावनाबमोजिम विभिन्न शैक्षिक, सांस्कृतिक तथा स्वास्थ्यसँग सम्बन्धित गतिविधि गर्न शिक्षा, स्वास्थ्य तथा संस्कृति समितिमा ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
स्वास्थ्य :
२४. यस नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउन आगामी आर्थिक वर्षमा सीटी स्क्यान खरिदको लागि ८ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
२५. अस्पतालको भौतिक पूर्वाधार निर्माणको लागि थप २ करोड रूपैयाँसँगै सञ्चालन खर्चको लागि थप ३ करोड रूपैयाँको व्यवस्था गरिएको छ ।
२६. भनपा वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३० लाख र भनपा वडा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख थप विनियोजन गरिएको छ ।
२७. ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट नगरवासीहरूलाई निःशुल्क तथा अन्यलाई न्यून शुल्कमा अक्सिजन उपलब्ध गराउनुका साथै विभिन्न रोगको उपचार र अपरेसनको लागि नगरवासीहरूलाई आवश्यक रगत निःशुल्क प्रदान गर्ने र क्यान्सर, मृगौला रोग, मुटु, मस्तिष्क र मेरुदण्डसम्बन्धी दीर्घरोग लागेका नगरवासीहरूलाई यस नगरपालिकाको तर्फबाट उपचार सहायता अनुदान प्रदान गर्दै आएकोलाई आगामी वर्ष पनि निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
२८. ख्वप अस्पताललगायत अन्य विशिष्ट अस्पतालहरूको प्राविधिक सहयोगमा महिलाहरूको पाठेघर परीक्षण, दमखोकी, दाँत तथा नाक कान घाँटी, आँखालगायतका रोगहरूको निःशुल्क स्वास्थ्य शिविरहरू समुदाय र विद्यालय तहमा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
२९. घरदैलो नर्सिङ सेवासँगै विद्यालयहरूमा विद्यालय नर्सको व्यवस्थाको लागि आवश्यक प्रबन्ध गरिएको छ ।

सम्पदा र संस्कृति संरक्षण :
३०. भक्तपुरको सम्पदा र संस्कृति हाम्रो पहिचान हो । यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्यस्थलको रूपमा विकास गर्ने हेतुले यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
३१. भनपा वडा नं. ३ स्थित ऐतिहासिक थन्थु दरबार पुनः निर्माणको लागि २ करोड र इन्द्रायणी द्यो छेँ पुनः निर्माणको लागि २० लाख रूपैयाँ थप विनियोजन गरिएको छ । वडा नं. ४ मा रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणका लागि ८५ लाख, इखालाछी मठ पुनःनिर्माणका लागि ५० लाख र हाडा छेँ पुनःनिर्माणको लागि ३० लाख रूपैयाँ थप विनियोजन गरिएको छ ।
३२. भनपा ७ मा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र वडा नं. २ मा कोसेली घर निर्माणको लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको छ । वडा नं ६ स्थित छुमा गणेश द्योः छेँ पुनःनिर्माणको लागि ५० लाख थप विनियोजन गरिएको छ ।
३३. भनपा वडा नं २ स्थित भक्तपुर क्राफ्ट सेन्टरलाई पुनः सञ्चालनमा ल्याई हस्तकलाको अभिवृद्धि गरिनेछ ।
३४. त्यस्तै नगरपालिकाका महत्वपूर्ण सम्पदा क्षेत्रमा विभिन्न कारणले लामो समयदेखि निजी घरहरू जीर्णोद्धार तथा पुनःनिर्माण नगरिँदा सम्पदामाथि क्षति पुग्ने र नगरको मौलिक सौन्दर्यतामा आँच आउन सक्ने हुँदा सम्बन्धित घरधनीले घर नबनाएको अवस्थामा नगरपालिका आफैँले लगानी गरी ती घरहरू बनाउन ४० लाख रूपैयाँ विनियोजन गरिएको छ । पछि सम्बन्धित घरधनीले उक्त घर फिर्ता लिन चाहेमा लागत खर्च व्यहोरेर तथा अन्य आवश्यक प्रकृया पूरा गरी फिर्ता लिन सकिने व्यवस्था मिलाइएको छ ।
३५. नःपुखुको पर्खाल निर्माण, नारमला फल्चा, मङ्गलतीर्थस्थित छग देग, सिचु फल्चा, मचो भैरव पाटी, सकुलानस्थित पालिफ फल्चा, बेखाल पोखरीको पाटीलगायत दसवटै वडाका सम्पदाहरू जीर्णोद्धार तथा पुनःनिर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
३६. विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा मौलिक स्वरूपलाई कायम राख्न परम्परागत शैलीमा घर बनाउने घरधनीहरूलाई दिँदै आएको आर्थिक अनुदानलाई निरन्तरता दिने नीतिअनुरूप आगामी आर्थिक वर्षमा ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
कृषि :
३७. भक्तपुर कृषकहरूको बाहुल्यता भएको नगर हो । किसानहरूको सूचीकरणसँगै यहाँका कृषकहरूका लागि आधुनिक कृषि खेती तालिम, उन्नत बीउबिजन र कृषि औजार व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
३८. कृषि उत्पादनहरूको भण्डारण एवं बजारीकरणको लागि वडा नं. ८ लिबालीमा शीत भण्डार निर्माण गर्न १ करोड रूपैयाँ, वडा नं. ५ मा तरकारी बजार निर्माण गर्न ७० लाख रूपैयाँ थप विनियोजन गरिएको छ । उन्नत बीउबिजन तथा रैथाने बाली संरक्षणसहितका लागि कृषि अनुसन्धान केन्द्र स्थापना गर्न २० लाख विनियोजन गरिएको छ । त्यस्तै, आफ्नै प्रयोगशाला र कृषि विद्यालय स्थापना गर्न बजेटको व्यवस्था गरिएको छ ।
३९. नगरको उपयुक्त स्थानमा सफा र व्यवस्थित वधशाला निर्माण गर्न रु. १० लाख बजेट राखिएको छ ।
खानेपानी :
४०. भक्तपुरको भौगोलिक अवस्थितिलाई मध्यनजर गर्दा खानेपानी नगरवासीहरूको अत्यावश्यक विषय हुँदाहुँदै नगरपालिकाको निम्ति अत्यन्तै चुनौतीको रूपमा रहेको छ । यद्यपि, नपाले खानेपानी उपलब्ध गराउन सरोकारवाला सरकारी कार्यालय तथा संस्थाहरूसँग निरन्तर समन्वय गर्दै काम गरिरहेको छ ।
४१. नगरमा खानेपानीको पूर्वाधार निर्माण तथा आकासे पानी सङ्कलन विधिका लागि रु. १ करोड विनियोजन गरिएको छ ।
४२. वडा नं १० मा डिप बोरिङ गर्न २५ लाख, वडा नं १ को सिंहख्वातेमा डिप बोरिङ गर्न रु. २० लाख र वडा नं ९ को तुमचोमा खानेपानी पूर्वाधार निर्माण गर्न रु. २५ लाख बजेट राखिएको छ ।
वातावरण सुधार तथा फोहरमैला व्यवस्थापन :
४३. यस नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि आफ्नै जनशक्तिमार्फत अध्ययन अनुसन्धान गरी फोहरबाट प्राङ्गारिक मल उत्पादन र पुनः प्रयोगका उपायहरू अवलम्बन गर्दै आएको छ । यस कार्यलाई थप प्रभावकारी बनाउन आगामी आर्थिक वर्षका लागि पूर्वाधार निर्माणमा रु. २ करोड १० लाख विनियोजन गरिएको छ ।
४४. हनुमन्ते खोला सुधार गर्नका लागि रिटेनिङ वाल निर्माणलगायतका कार्य गर्न १ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
४५. ऐतिहासिक तीर्थस्थल तथा घाटहरू सुधारका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
भौतिक पूर्वाधार निर्माण :
४६. भनपा वडा नं ६ स्थित देकोचामा अरनिको सभाभवन निर्माणका लागि नगरपालिकाबाट रु. ३ करोड २० लाख र वाग्मती प्रदेश सरकारबाट ८० लाख गरी कुल ४ करोड विनियोजन गरी बहुवर्षीय योजनाको रूपमा अघि बढाइएको छ ।
४७. कमलविनायक बहुउद्धेश्यीय भवन निर्माण कार्यको लागि रु. ४ करोड विनियोजन गरिएको छ । वडा नं ९ तौलाछेँ वाथिकुथि (लिवि) मा बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण कार्यको लागि २५ लाख विनियोजन गरिएको छ ।
४८. यस नगरपालिकाभित्र रहेका सडक कालोपत्रे, सडक पूर्वाधार निर्माणसहित सडक स्तरोन्नतिका लागि २ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
४९. सडक बोर्डबाट प्राप्त हुने रकमबाट सबै वडामा पूर्वाधारका योजना सञ्चालन गर्न रु. १ करोड २८ लाख विनियोजन गरिएको छ ।
५०. प्रत्येक वडास्तरीय योजनाको मर्मत, निर्माण तथा स्तरोन्नतिका लागि ५०÷५० लाख गरी कुल ५ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
खेलकुद पूर्वाधार :
५१. वडा नं ७ मा रहेको महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड र सहिद स्मृति खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा रु. २५ लाख विनियोजन गरिएको छ ।
५२. नगरभित्रका उपयुक्त पोखरीहरूलाई पौडी पोखरीको रूपमा विकास गर्न ५० लाख विनियोजन गरिएको छ ।
५३. अन्तर नगर खेलकुद प्रतियोगिता तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक बजेट छुट्याइएको छ ।
विविध योजना तथा कार्यक्रमहरू :
५४. यस नगरपालिकाभित्र रहेका पर्ती तथा सार्वजनिक जग्गा संरक्षणका लागि रु. २० लाख विनियोजन गरिएको छ ।
५५. भक्तपुर नगरपालिकाबाट सञ्चालित देको मिवा इटापाके आवास योजनाका लागि रु. १८ करोड विनियोजन गरिएको छ ।
५६. यस नगरपालिकाको आफ्नै ख्वप टेलिभिजन स्टुडियो निर्माण तथा सञ्चालनका लागि रु. ७० लाख तथा एफ. एम. सञ्चालनको लागि ३० लाख गरी कुल १ करोड विनियोजन गरिएको छ ।
५७. नगरपालिकाले यसै वर्षदेखि पार्किङ व्यवस्थापन गर्न सुरुवात गरेकोमा यसलाई थप व्यवस्थित गर्न पार्किङ पूर्वाधार निर्माणमा रु. ५० लाख विनियोजन गरिएको छ ।
५८. नगरका विभिन्न स्थानमा सीसीटीभी जडान गर्दै आएकोमा दत्तात्रय–च्यामासिंह–भानेसम्म र जगाती–कमलविनायक–लान्चा फल्चासम्म सीसीटीभी प्रणाली जडान गर्न २३ लाख विनियोजन गरिएको छ । भनपा ६ वडामा ज्येष्ठ नागरिकहरूका लागि आदर निकेतन भवन निर्माण गर्न थप रु. ५० लाख विनियोजन गरिएको छ ।
५९. नगरवासी युवाहरूलाई लक्षित गरी युवा उद्यमशील ऋणको व्यवस्था गर्न ५ करोड बराबरको ऋण कोषको व्यवस्था गरिएको छ ।
६०. नगरपालिकालाई आवश्यक जग्गा खरिदका लागि १ करोड रूपैयाँ र जग्गा तथा घरभाडाका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
६१. नगरभित्रका मुख्य मुख्य सडकमा बिजुली बत्तीको व्यवस्थापन गर्न रु. २५ लाख विनियोजन गरिएको छ । प्राकृतिक विपत्तिहरूबाट हुने क्षति न्यूनीकरण गर्न तथा राहत, उद्दार र पुनःस्थापनाका लागि रु. ५० लाख छुट्याइएको छ ।
यस प्रकार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कुल विनियोजित बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रहने अनुमान गरिएको छ ।
स्रोतको सुनिश्चित भएमात्र बजेटले अपेक्षा गरेका उपलब्धिहरू हासिल गर्न र नगरवासीहरूलाई सेवा सुविधा उपलब्ध गराउन सकिने भएकोले लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन आवश्यक छ । अतः म यसै बजेट वक्तव्यमार्फत भक्तपुर नगरपालिकाका समस्त करदाताहरूमा समयमै तोकिएको कर रकम तिरी विकास तथा सेवा सुविधाको हकदार बन्न हार्दिक अपिल गर्दछु ।
नगरपालिकाको सीमित स्रोतसाधनको अधिकतम उपयोग गरी बजेट तयार गर्दा नगरवासीहरूका सबै चाहना र आवश्यकताहरू एकैचोटि सम्बोधन गर्न सकिने अवस्था रहँदैन । प्राथमिकता र आवश्यकताका आधारमा स्रोत साधनको उपलब्धता र सुनिश्चततालाई मध्यनजर गरी यो बजेट तथा कार्यक्रम तयार गरिएको हो ।
बजेट तर्जुमा सँगसँगै यसको सफल कार्यान्वयन अर्को महत्वपूर्ण पाटो हो । योजना तथा कार्यक्रमहरू समयमै प्रभावकारीरूपमा सञ्चालनमा आउन सकेमा मात्र बजेटले अपेक्षा गरेको उपलब्धि हासिल हुने भएकोले यस बजेटको समयमा नै प्रभावकारी कार्यान्वयनको लागि संबद्ध सबैमा म हार्दिक अनुरोध गर्दछु ।
प्रस्तुत बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रक्रियामा प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण कार्यपालिका सदस्यहरू, आम सञ्चार जगत, नगरवासी दाजुभाइ तथा दिदी बहिनीहरू, प्रमुख प्रशासकीय अधिकृतलगायत समग्र कर्मचारी मित्रहरूलाई धन्यवाद व्यक्त गर्दछु । भक्तपुरको विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने नेपाल सरकार, वाग्मती प्रदेश सरकार, सरोकारवाला सहयोगी सङ्घ संस्था एवं नगरवासीहरूमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु । धन्यवाद !
(भक्तपुर नगरपालिकाको चौधौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीद्वारा आइतबार प्रस्तुत आ.व. ०८०/०८१ को अनुमानित आयव्यय – सं.)
Leave a Reply