महान् नेता किम इल सङको स्मृति दिवस (८–जुलाई)
- असार २४, २०८३
हाम्रो देश कृषिप्रधान भएकोले मुख्य बाली धान असारमै रोपिन्छ । पहिला हेला मानिएको तर अहिले औषधि ठानिएको कोदो बाली पनि लेकाली क्षेत्रमा यही महिना रोप्न सुरु गरिन्छ । ‘मानो रोपेर मुरी फलाउने’ असारमा धान रोपिएन भने असोज कार्तिक महिनामा पर्ने शरद् ऋतुमा फुल्दैन र मङ्सिरमा झुल्दैन । त्यसैले विशेषगरी असार महिनामा कृषकहरू ज्यादै व्यस्त र हतारमा हुन्छन् । कतिसम्म भने, “असारको धमाधममा त कोही म¥यो भने पनि हल्लखल्ल नगरिकन लासलाई स्याउलाले छोपेर काम गर्नुपर्छ” भन्ने भनाइ छ गाउँघरमा । यो भनाइले असारको व्यस्ततापूर्ण महत्व बुझाएको देखिन्छ ।
असार र कृषिको महिमा बुझेरै होला, वर्षभरि एकैदिन खेतबारीमा काम गर्न नजाने ठूलाठालूहरू पनि असारको हिलो टेक्ने गर्छन् । असार १५ को रोपाइँ जात्रामा दलबलसहित सहभागी भएर रमाइलो मनाउँछन् । ठूलो सङ्ख्यामा युवावर्ग विदेसिएपछि, पछिल्लो समयमा भने असार यस्तै रमाइलो र औपचारिकतामा मात्र सीमित हुन खोज्दै छ । बाँझा खेतबारीहरू आँसु खसाल्दै असार पर्खिँदै छन् । पसिनाको धारा बगाएर दुनियाँलाई बचाउने कर्मयोगी किसानहरूलाई भने वर्षभरि नै असार हुन्छ । धन्य ! पसिनाको मूल्य नपाए पनि उनीहरू पसिना बगाउन छोड्दैनन् ।
असार एक किसिमले कर्तव्य र जिम्मेवारीको पर्याय पनि हो । यस अर्थमा असारको जस्तो हतार किसानलाई मात्र होइन, जीवनमा जोकोहीलाई पनि हुन्छ । कुर्सीमा बसेर काम गर्नुपरे पनि कर्मचारीलाई हतार हुन्छ । गन्तव्यमा पुग्न यात्रीलाई हतार हुन्छ । आफूलाई तोकिएको काम पूरा गर्न मजदुरलाई हतार हुन्छ । कक्षामा जान शिक्षकलाई हतार हुन्छ । शिक्षकले बताएको कुरा सुन्न, देखाएको कुरा गर्न र निर्देशन दिएको पालना गर्न विद्यार्थीलाई हतार हुन्छ । व्यवसायीलाई आफ्नो व्यवसायकै बारेमा हतार हुन्छ । सुविधासहितको नेताको हतार झन् मारामार देखिन्छ । यो दुनियाँमा हतार नभएको कोही छैन ।
असारको १५ दहीचिउरा खाने परम्परा पनि छ । गर्मी महिनामा खाइने दहीले प्यास मेटाउँछ, शीतलता प्रदान गर्छ । परिश्रम गरेर भोकाएको शरीरमा चिउराले शक्ति दिन्छ । यति भएर पनि दही चिउरा खानुको लाक्षणिक अर्थ अर्कै हुनुपर्छ ।
दही, गाईभैंसीको दूधबाट बन्छ । चिउरा धानबाट बन्छ । दही खानका लागि गाईभैंसी पाल्नुप¥यो । चिउरा बनाउन खेतमा काम गर्नुप¥यो । धान उब्जाउनुप¥यो । यसरी दही चिउरा खाने परम्परालाई पनि अप्रत्यक्षरूपमा श्रम र यसको महत्वसँगै जोडिएको देखिन्छ ।
वास्तवमा मानव जीवनको अर्को नाम नै असार हो । असार भन्नु नै श्रम हो । श्रम भन्नु नै हतार हो । “मर्दा कसले के लान्छ र !”, “धेरै कमाए पनि साँच्नु कसलाई छ र !” भावुकतावश कसैले यस्तो भने पनि हातले हतारहतार काम नगर्ने हो भने मुखले स्वाद लिइलिई आरामसँग खानै पाउँदैन । कुनै पनि ज्यानले खानै पाएन भने के हुन्छ त्यो त भनिरहनै परेन । त्यसैले यो हतार जीवनभर चलिरहन्छ । चलिरहनु पनि पर्छ । आरामले बस्ने भनेका त निर्जीव वस्तुहरू मात्र हुन् । सजीवहरू त चलायमान हुनैपर्छ । तिनले काम गर्नुपर्छ । हरक्षण व्यस्त रहनुपर्छ । काम गरेरै जीवन र जगत्लाई अझ आकर्षक र उपयोगी बनाउनुपर्छ । त्यसमा पनि मानिस त सबैभन्दा चेतनशील र विवेकी प्राणी पनि हो । त्यसैले, उसले हरपल आफूमात्र होइन, अरूको पनि हित सोचेर काम गर्नुपर्ने हुन्छ ।
हतार दिनभरि गरिने हो । दिन भनेकै जीवन हो । दिनरूपी हतारले नै मानिसको जीवनरूपी यात्रालाई गन्तव्यमा पु¥याउँछ । जो हतार नगरी लोसे बन्छ, जो समयमा काम नगरी भाका राख्न थाल्छ, ऊ जीवनमा सधैँ पछाडि पर्छ । उसले अनेक सुनौला अवसरहरू गुमाउँछ ।
हताररूपी श्रम हाम्रो स्वास्थ्यसँग पनि जोडिएको हुन्छ । जो श्रम गर्छ, उसलाई व्यायाम पुग्छ । जसलाई व्यायाम पुग्छ, उसको शरीर निरोगी र स्वस्थ बन्छ । श्रम गर्नेहरू फूर्तिला, गठिला र जाँगरिला पनि हुन्छन् । नगर्नेहरू भद्दा, मोटा र अल्छि हुन्छन् । अघिल्लाहरू दुनियाँको नजरमा आकर्षक हुन्छन् । पछिल्लाहरू आलोचित ।
दिनभरि हतार र परिश्रम गर्ने रगतमासुको शरीरलाई छिनछिनमा छोटो समयका लागि आराम पनि चाहिन्छ । ऊर्जा चाहिन्छ । त्यतिले नपुगेर केही लामो निद्रा पनि चाहिन्छ । हरेक दिनको अन्त्यमा, आरामरूपी लामो निद्राका लागि हामीलाई रातको व्यवस्था छ । जीवनकै अन्त्यमा अन्तहीन लामो निद्राका लागि त मृत्यु छँदै छ ! लामो होस् वा अन्तहीन निद्रा, जसले आफू उभिएको पवित्र माटोमा श्रम गरेको छ त्यसलाई मात्र आनन्दको लाग्दो हो । बाँकीको त निद्राको समय पनि छटपटीमै बित्दो हो !
जीवनमा गरिने श्रम, आउने असार र योसँगैको हतार–समग्रमा हाम्रो सोच, प्रवृत्ति र चिन्तन पनि हो । यी कुराहरू सदैव निःस्वार्थ, सार्थक, सकारात्मक र मानवतावादी हुनु अत्यावश्यक छ । विडम्बना ! वर्तमान समयमा यिनमा यस्ता अत्यावश्यक तत्वको सर्वथा अभाव देखिएको छ । आजकल नेतृत्व वर्गको असारे हतारले पूरै बाटो बिराएको छ । कथित ठूला पुराना र साना नयाँ गरी च्याउसरि उम्रिएका राजनीतिक पार्टीहरूको भिडमा नेमकिपा मात्रै असल ठहरिएको सर्वविदितै छ । आवरणमा झिलिमिली रेसमी रौनक देखिए पनि, बाँकी सबैको श्रम र सक्रियता देशघाती कर्ममा रहेको देखिन्छ । उहाँहरूको सोच भयानक स्वार्थमा अल्झिएको छ । प्रवृत्तिमा ‘आफू र आफ्ना’ ले अड्डा जमाएको छ । चिन्तन, झूट र भ्रमको खेतीमा एकोहोरिएको छ । क्रियाकलाप, मिलीजुली खाऊँ को योजनामा व्यस्त छ । उद्देश्य, आफैँ सुविधाभोगी बन्नुमा केन्द्रित छ । उहाँहरूको गति, ‘जति हिँडे पनि आफैँवरिपरि र जहाँको तहीँ’ पाराको देखिन्छ । त्यस्तो खालको स्वार्थी र हावादारी ‘श्रम’ गर्ने जमातले देशलाई कस्तो बनाउला ? चौतर्फी सुशासनमा रमाएर अहोरात्र काम गर्नुपर्ने जनता के सोच्लान् र उनीहरूको अवस्था कस्तो होला ! भ्रष्टाचारका सन्दर्भमा अहिले केही भएजस्तो देखिए पनि यसको कहालीलाग्दो विगत सम्झँदा, ‘यहाँ के होला र !’ भन्ने पनि लाग्दै छ । विगत र वर्तमानका यस्तै यस्तै प्रश्नहरूबिच हाम्रो देशको राजनीतिक असार, निस्सार बन्दै छ ।
Leave a Reply