भर्खरै :

भ्रष्ट आचरणका सञ्चालक र प्रबन्धकहरू दण्डित हुनु जरुरी

समुदायमा आधारित सहकारी संस्था पुँजीवाद र समाजवादबिचको समाजवादउन्मुख संस्था हो भन्ने विश्लेषण अर्थशास्त्री र सहकारीविद्हरूको भनाइ रहेको छ । सहकारी संस्थामा भ्रष्टाचार हुँदैन, अनियमितता हुँदैन, भेदभाव हुँदैन, आर्थिक पारदर्शी हुन्छ, समुदायले समुदायको निम्ति काम गर्छ भन्ने विश्लेषण छ । स्थानीय जनताकै सक्रियतामा स्थानीय जनताकै सहभागितामा चलेको सहकारी संस्था स्थानीय जनताकै स्वामित्व हुन्छ भन्ने भनाइ पनि छ । यसरी जनताको विश्वासको आधारमा सहकारी संस्था गाउँ–बस्ती पुगेको हो, घर–घरमा सदस्यहरू पुगेका हुन् । यही कारण हजारौँ सहकारी संस्थाहरू स्थापना भए, संस्थामा लाखौँ सदस्यहरू पुगे, अरबौँ रकम सङ्कलन भयो । हजारौँले रोजगारी पाए । यो सकारात्मक पक्ष हो । सहकारीप्रति जनताको विश्वास बढेकोले स्थानीय जनताको हितमा स्थानीय जनताले समुदायमा आधारित सहकारी संस्था धेरै खोलेका हुन् ।
सहकारी संस्थाप्रति जनताको विश्वास बढ्दै गएपछि, गाउँ–गाउँ र बस्ती बस्तीमा सहकारी संस्था स्थापना भएपछि जनताको रगत पसिनामा रजाइँ गर्ने भ्रष्ट मतिका स्वार्थीहरू पनि देखिए । भ्रष्ट मतिका ती स्वार्थीहरूले जनताको विश्वास जित्न बढी ब्याजको लोभ देखाए, सर्वसाधारण बढी ब्याजको लोभमा फसे, गलत मनसायले खोलेका सहकारी संस्थामा रकम जम्मा गरे । कहिल्यै साधारणसभा नगर्ने, आर्थिक पारदर्शी नगर्ने कलुषित ती व्यक्तिहरूले करोडौँ अरबौँ पैसा जम्मा गरेर आ–आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न अन्यत्र पैसा लगानी गरे, जनताको पैसा लिएर भागे । यसरी जनताले खाई नखाई जम्मा गरेको पैसा लिएर भाग्ने सहकारी संस्थाका सञ्चालकहरू देखिन थाले । फलतः सहकारी संस्थामा जम्मा गरेका सहकारी सदस्यहरू तर्से, निरास भए । कति पैसा नपाएर छटपटिए, कति मानसिक रोगी भए, बेहोस भए, बेहोस हुँदै निधन भए ।
काठमाडौँ महानगरपालिकाले सर्वसाधारणको निक्षेप हिनामिना गरेका ८३ मध्ये ६८ सहकारीमाथि कारबाही प्रक्रिया अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सिफारिस गरेको समाचार असार १४ गते प्रकाशित नयाँ पत्रिकामा छापिएको छ । समाचार स्रोतअनुसार उनीहरूले १० हजारभन्दा बढी बचतकर्ताको २० अर्बभन्दा बढी रकम हिनामिना गरे । महानगरमा सञ्चालन भएका सबैभन्दा ठूलो बचत तथा ऋण सहकारी संस्था अभिमतले झन्डै २ हजार बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको बताइएको छ । हिनामिना गर्ने सहकारी संस्थाहरू देखेर नै महानपाले साधारणसभा गर्न र लेखा परीक्षण प्रतिवेदन बुझाउन सहकारी संस्थाहरूलाई निर्देशन दिएको हो ।
पछिल्लो पटक शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले निक्षेपकर्ताको १४ अर्ब रुपैयाँ फिर्ता नदिएको समाचार प्रकाशमा आएको थियो । सो रकम फिर्ता नदिई भागेपछि सहकारी प्रमुख सञ्चालक एवं पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले भारतमा पक्राउ गरेको हो । इमेज बचत तथा ऋण सहकारीका सञ्चालक देवकुमार नेपाली साढे २ अर्ब रुपैयाँ डुबाएर फरार भएको समाचार बिहीबार प्रकाशित ‘नागरिक’ दैनिकमा छापिया । यसअघि ओरियन्टलको अपरेटिभका अध्यक्ष सुधीर बस्नेतले पनि अरबौँ रकम लिएर भागेको खबर प्रकाशमा आएको थियो । यस्ता भ्रष्ट मनका सञ्चालक, प्रबन्धकहरूको भएभरको सम्पत्ति जफत गरेर पीडित सहकारीका सदस्यहरूलाई सरकारले वितरण गर्नुपर्छ । तिनीहरूलाई आजीवन जेलमा कोचेर कडा कारबाही गर्नुपर्छ । हो, सबै सहकारी संस्थाहरू त्यस्तै हुन्छन् भनी निक्षेपकर्ताले सोच्नु गलत हुनेछ । इमानदारीपूर्वक सञ्चालन भएका सहकारीहरू हजारौँ छन् । इमानदारीपूर्वक चलेका समुदायमा आधारित सहकारी संस्थामा यो समस्या आउने छैन भन्ने विश्वास सहकारी सञ्चालकहरूको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *