भर्खरै :

विपक्षी दलको भूमिका कमजोर हुन नहुने

सरकारले देश र जनविरोधी विधेयक ल्याउँदा, असमान सन्धि र सम्झौतामा अरू देशसँग सहमति जनाउँदा र गलत नीति तथा निर्णय गर्दा विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण, खबरदारी र विरोध गर्नुपर्ने हो । संसद्मा विपक्षी दलहरू कमजोर भए, विपक्षी दलले विपक्षको भूमिका निर्वाह गरेन या सत्ता पक्षसँगै भागबन्डा खोज्दै गयो भने सत्ता पक्ष देशघाती र जनविरोधी काम गर्न पछि हट्दैन । जसरी यो वर्षको बजेट पारित गर्न मत विभाजन गर्न एमालेले दबाब दिएको थियो त्यसरी नै नागरिकता विधेयक पारित गर्ने र एमसीसी सम्झौता गर्ने सन्दर्भमा पनि संसद्मा मत विभाजन गराउनुपथ्र्याे । मत विभाजन गराएको भए कुन कुन दल नागरिकता विधेयक र एमसीसी सम्झौता पक्षधर हुन् भन्ने कुरा आम जनतामाझ अझ प्रस्ट हुने थियो ।
सरकार कुनै पनि बेला, कुनै पनि कारण ढल्न सक्छ । सरकारले गरेको देशविरोधी र जनविरोधी कार्यको विरोध मात्र होइन सरकार ढाल्न कुनै पनि बेला अविश्वास प्रस्ताव राख्नुपर्ने हुन्छ । त्यस्तोबेला प्रमुख विपक्षी दल जहिल्यै तयार भइरहनुपर्छ । तर, देशको ठूलो दल एमाले यसतर्फ चुकेको देखिन्छ । एमाले वर्तमान सरकार ढलेको हेर्न चाहन्छ । तर, सरकार ढाल्न माओवादी, जसपा र एकीकृत समाजवादीलाई पन्छाउन नेकासँग मिल्नुपर्छ या अरू दलसँग मिल्नुपर्ने हुन्छ । यही कारण सरकारले जस्तो गल्ती गरे पनि, देश हितविपरीत जस्तो सन्धि सम्झौता गरे पनि एमालेले सशक्त विरोध गरेन । यो विपक्षी दल एमालेको कमजोरी हो, दलगत स्वार्थ र अवसरवादी विचार हो ।
‘युद्ध’ गरेर सत्ता परिवर्तन गर्न तम्सेको माओवादी आफैँ दलको नेताहरूको टाउकोको मूल्य तोक्ने दलसँग किन घाँटी जोड्न पुग्यो ? किन मिलेर संयुक्त सरकार बनाइयो ? प्रस्ट छ, माओवादीलाई अब परिवर्तन होइन सत्ताको बढी प्यारो छ । तेस्रो ठूलो दल भए पनि सरकारको नेतृत्व नै गर्नुपर्ने रहर छ माओवादीलाई । एमालेको नेतृत्वमा सरकार बन्दा प्रम बन्न नपाएकै कारण माओवादी एमालेबाट अलगिएको हो । सत्तामुखी राजनीति गर्ने दलहरूको सरकारको नेतृत्व गर्ने, बढीभन्दा बढी मन्त्री भाग र अन्य उच्च पद पाउनमै ध्यान केन्द्रित हुन्छ । ठूला या शासक दलहरूको यही कमजोरीले गर्दा देशको विकास उचाइमा पुगेन; देशमा कलकारखाना स्थापना भएन । जनताका आधारभूत आवश्यकता पूर्ति भएन । देशमा निर्यातभन्दा आयात बढ्यो । देशका युवाहरू विदेशिन थाले । देशको बजेट विदेशी ऋण र विदेशी आर्थिक सहयोगमा अल्झिरह्यो । अनि आर्थिक सङ्कट हुनुमा के आश्चर्य ?
एमालेले निर्वाह गर्नुपर्ने भूमिका बरु नेमकिपाले गरिरहेको छ । सरकारले ल्याउने हरेक देशविरोधी र जनविरोधी कार्य र सहमतिको नेमकिपाले विरोध गरिरहेको छ । संसदमा नेमकिपाले निर्वाह गरेको भूमिकाको आधारमा कसैले सही समीक्षा गरेको खण्डमा नेमकिपा नै प्रमुख विपक्षी दल, नेमकिपा नै प्रमुख प्रतिपक्षी प्रखर दल भएको मान्नुपर्छ । त्यसकारण, सत्तारुढ दलका नेताहरू मन परे पनि नपरे पनि नेमकिपाले देश र जनताको लागि गरेको योगदान र भूमिकाको प्रशंसा गर्छन् । यो नेमकिपाले इमानदारीपूर्वक र निःस्वार्थपूर्वक सिद्धान्त र विचारको राजनीति गर्दाको परिणाम हो । नेमकिपाले उठाएका हरेक सवाल र विषय देश र जनतासित सम्बन्धित छन् । देश र जनताप्रति समर्पित भएरै नेमकिपाले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ । त्यसकारण, नेमकिपालाई राजनीतिक विश्लेषकहरू नेपालको कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट पार्टी र देशकै लागि प्रकाशस्तम्भ भएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *