हो चि मिन्ह र अफ्रिका – ५
- जेष्ठ ५, २०८३
भक्तपुर नगरपालिकाको चौधौँ नगरसभाले आ.व. २०८०/०८१ को लागि भक्तपुरलाई नमुना नगरको रूपमा अगाडि बढाउन महत्वपूर्ण नीति तथा कार्यक्रमहरू पारित गरेको छ । नपाको नीति तथा कार्यक्रममध्ये ख्वप विश्वविद्यालय स्थापनाको लागि संसद्बाट विधेयक पारित गराउन भक्तपुर नगरपालिकाले निरन्तर जोड दिनु पनि रहेको छ । वडा–वडामा रहेका पुस्तकालय र वाचनालयहरूलाई व्यवस्थितरूपमा सञ्चालनमा ल्याई युवा विद्यार्थीहरूलाई पठन संस्कृतिको विकासमा जोड दिनु पनि हो ।
भक्तपुर नगरपालिका भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यले अगाडि बढिरहेको सबैले अनुभव गरिरहेकै हुन् । यसको लागि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष, वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ लाई भनपाले मार्गनिर्देशक मानेको छ । विदेशीसँग हात थापेर होइन, आफ्नै बलबुट्टा, पौरख र रगत पसिनाले आफ्नै खुट्टामा उभेर देशलाई सबै दृष्टिकोणले अगाडि बढाउन तथा आत्मनिर्भर र सुन्दर देश बनाउन ख्वप विश्वविद्यालयको माग गरिरहेको वर्षाैँ बित्यो । तर, आजसम्मका सरकारहरूले स्वीकृति दिन खुट्टा कमाएका छन् । के नेमकिपाले पुँजीवादी शासक दलहरूको रोजीरोटी सिध्याइदिन्छ; उनीहरूका मालिक भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद रिसाउँछ भनेर ख्वप विश्वविद्यालय स्वीकृति नदिएको हो ? कम्युनिस्ट नेता भनिएका पुष्पकमल दाहाल (प्रचण्ड) को सरकारले पनि स्वीकृति दिन किन खुट्टा कमाउँछ ? सोचनीय छ ।
शिक्षा भनेको विकासको पूर्वाधार पनि हो । शिक्षा सबै क्षेत्रको विकासको जग हो । भक्तपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर हरेक वर्ष नीति तथा कार्यक्रममा समेट्दै आएको देखिन्छ । नगरपालिकाले ज्ञान विज्ञानको केन्द्र र सुन्दर सहर बनाउन उच्चस्तरका शैक्षिक संस्थाहरू खोलेको छ । यसले गुणस्तरीय र कम शुल्कमा कानुन, विज्ञान, राजनीतिशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, मानविकी, प्राविधिक धारतर्फ सिभिल, आर्किटेक्ट, इलेक्ट्रोनिक्स, इलेक्ट्रिसियन, कम्प्युटर आदि उत्कृष्ट कक्षाहरू सञ्चालन गरेर थुप्रै अनुभव ज्ञान, सीप आर्जन गरिसकेको छ । आज भक्तपुरमा इन्जिनियरहरू नभएको कुनै चोक, टोल नै छैन भनिन्छ । सत्तहत्तरै जिल्लामा इन्जिनियरहरू नपाबाट सञ्चालित कलेजबाट उत्पादन भएका इन्जिनियरहरु काम गरिरहेका छन् । उनीहरूले देशको सुगम, दुर्गम सबै क्षेत्रमा गएर देश निर्माण गर्ने काम पाएका छन् । त्यस्तै नेपाल र नेपाली जनताको सेवा गर्ने डाक्टरहरू उत्पादन गर्न नपा अगाडि बढिरहेको हो । यसले कम आय भएका गरिबका छोराछोरीले पनि १५÷१६ लाखमा डाक्टर पढ्ने अवसर पाउने छन् । यसको लागि सरकारसँग ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृतिको लागि सदन र सडकमा सङ्घर्ष गरिरहेको जगजाहेर छ ।
भक्तपुर नगरपालिकाको यस प्रकारको उद्देश्य पूरा गर्न शासक दलहरू कानमा तेल हालेर बसेका छन् । काठमाडौँ उपत्यका र नेपालका अन्य भागमा प्राविधिकरूपले प्रमाणपत्र नभएका तर, मौलिक ज्ञान, सीप, अनुभव, क्षमता भएका सङ्गीत, नृत्य, वाद्यवादन, वास्तुकला, धातुकला, काष्ठकला, प्रस्थकला, मूर्तिकला, इतिहास, भूगोल, संस्कृति, राजनीति, अर्थनीति, कोही इन्जिनियर आदिका विज्ञ र प्रोफेसर छन् । ५५ झ्याल दरबार, पाँचतले मन्दिरलगायतका अन्य सम्पदाको निर्माण र पुनः निर्माणको बेला उनीहरूले आफूहरूसँग भएको ज्ञान, सीप तथा क्षमता देखाइसकेका छन् ।
विश्वको धेरै ठाउँमा घुमेर पनि ५० वर्षको लामो बसाइका कारण भक्तपुरको ऐतिहासिक नाचगान, रीतिरिवाज, संस्कार, कला, संस्कृति, परम्परा र वास्तुकलाबारे राम्रो ज्ञान हासिल गर्नुभएका जर्मन सम्पदाविद निल्स गुत्सेले भक्तपुरजस्तो जीवित सङ्ग्रहालय संसारको अन्य ठाउँमा हुन नसक्ने त्यसै भनेका होइनन् । विश्वविद्यालय भनेको अग्ला अग्ला भवन, बाटो बनाउन सिकाउने विश्वविद्यालयमात्र होइन त्यो मानव जीवनको विकास, मानवता र नैतिकता, संस्कृति, सभ्यता, इतिहास, भूगोल, विज्ञानसँग सम्बन्धित दीक्षाले दीक्षित गर्ने विश्वविद्यालयहरू हुन् । रोम, एथेन्स, कायरो पेरिसलगायतका सहरहरूले वर्षको पचासौँ लाख पर्यटक भित्याएर देशलाई समृद्ध बनाएका छन् । ती सम्पदा भनेको हजारौँ, लाखौँ वर्षको मानिसको अनुभव हो । त्यो आजको विज्ञान अर्थशास्त्र र राजनीतशास्त्र, समाजशास्त्र, नागरिकशास्त्र, इतिहास, सभ्यता र संस्कृति विकासको मुहान र जग हो ।
भक्तपुर नगरपालिकाले जनताको बिचमा पस्केको यस वर्षको नीति तथा कार्यक्रममा नगरपालिकाको वडावडामा रहेको पुस्तकालय र वाचनालयहरूलाई व्यवस्थितरूपमा सञ्चालनमा ल्याई युवा विद्यार्थीहरूमा पठन संस्कृतिको विकासमा जोड दिएको पाइन्छ । नगरका विभिन्न ठाउँमा रहेका पार्टी, सत्तल आदिमा सम्बन्धित ठाउँका समाजसेवीहरूलाई पठन संस्कृति बढाउन वाचनालय र पुस्तकालयहरू सञ्चालन भएका थिए । नगरपालिकाले सञ्चालन गर्दै आएको पुस्तकको हिसाबले धनी जनज्योति पुस्तकालय हिजोदेखिको छँदै छ । तर, आज जनज्योति पुस्तकालयबाहेक अरू वाचनालय, पुस्तकालयहरूलाई समय परिवर्तन सँगसँगै त्यसलाई अगाडि लान नसकेको अवस्था छ । यस्तो नाजुक अवस्थामा रहेका वाचनालय पुस्तकालयहरूलाई भक्तपुर नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा व्यवस्थितरुपमा गर्न सञ्चालन र विकासमा दिएको देखिन्छ ।
नेपाली समाजमा एउटा उखान प्रचलित छ – कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको । उक्त नीति तथा कार्यक्रममा केवल युवा विद्यार्थीहरूलाई पठन संस्कृतिको विकासमा जोड दिएको पाइन्छ । हाम्रा ज्येष्ठ अग्रजहरूलाई पनि पढ्ने संस्कृति या पढ्ने रुचि बढाउनु आवश्यक छ । उहाँहरू ज्ञान, सीप, अनुभवका भण्डार होइनन् र उहाँहरूमा पक्कै पनि समाज, देशको हित हुने, सेवा गर्ने, उन्नतिको लागि काम लाग्ने महत्वपूर्ण अप्रकाशित, अलिखित अनुभव, सीपहरू, सस्मरण, कथा, इतिहास आदि स्मृतिमा हुनसक्छन्, हुन्छन् । यसलाई उजागर गर्ने वातावरण दिनु आवश्यक छ ।
ज्येष्ठ अग्रजहरूको पठन संस्कृतिको विकासले, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक सास्कृतिक, प्राविधिक वैज्ञानिक, शैक्षिक सामरिक घटनाको सूचना समाचार, जानकारी र आदानप्रदानले वैचारिक, मानसिकरूपले उहाँहरूलाई युवा बनाउनेछ । पठन संस्कृति, युवा मानसिकता र वैचारिक रुपले उहाँहरूलाई शारीरिकरूपमा युवा बनाउनेछ । अर्थात् उहाँहरूको युवा सोच, विचार र मानसिकताले उहाँहरूको शारीरिक क्रियाकलापमा सक्रियता र उर्जा बढ्नेछ ।
नगरपालिकाले नःपखुस्थित जनज्योति पुस्तकालयलाई इलाइबेरीको सुविधादेखि आधुनिक सुविधासम्पन्न पुस्तकालयको रूपमा विकास गरिसकेको छ । जहाँ युवा विद्यार्थीहरू अध्ययन, अनुसन्धान गर्ने, पाठक, बुद्धिजीवी, विद्वानहरू पढ्न, अध्ययन जान्छन् । तर, हाम्रा ज्येष्ठ अग्रजहरूको लागि पढ्न हेर्न सबै हिसाबले सहज, अनुकूल स्थानीय पाटी, सत्तलमा रहेको वाचनालय र पुस्तकालय नै हुन्छन् । त्यसैले यसलाई सबै मिलेर सुधार, विकास र सञ्चालन गर्नु आवश्यक छ । नयाँ पुस्ताले पुरानो पुस्ताको ज्ञान, सीप, अनुभव लिएर समाजको शैक्षिक र सांस्कृतिक स्तर उठाउनु आवश्यक छ ।
Leave a Reply