भर्खरै :

महाभारत महाकाव्यका एक विशेष पात्र – युयुत्सु

महाभारत महाकाव्यका एक विशेष पात्र – युयुत्सु

महर्षि वेदव्यासद्वारा रचित हिन्दू धार्मिक महान् ग्रन्थ महाभारत
महाकाव्यमा उल्लेखित हस्तिनापुर राज्य वर्तमान भारतको उत्तर प्रदेश राज्यको मेरठ जिल्लामा गंगा नदीको किनारमा थियो भनी विश्वास गरिन्छ । उक्त महाभारत ग्रन्थअनुसार त्यहाँ धेरै वर्षपहिले कुरु नामका प्रतापी एवम् ऐश्वर्यशाली एक राजाले राज्य गर्दथे । उनैका वंशका सन्तान दरसन्तान राजाहरूले त्यहाँ राज्य गर्दै गए । धेरै वर्षपछि त्यही वंशका राजा सन्तनु पछि उनका कान्छो छोरा विचित्रवीर्य राजा भए । राजा कुरुको नामबाट यस वंशका सम्पूर्ण मानिसहरूलाई कुरु वंश भनियो । राजा विचित्रवीर्यको राज्यको राजधानी हस्तिनापुर थियो भने उनको अधीनको भूभाग धेरै क्षेत्रमा फैलिएको थियो । देवव्रत अर्थात् भीष्मको सहयोगबाट तत्कालीन काशी राज्यका राजकुमारीहरू अम्बिका र अम्बालिकासित राजा विचित्रवीर्यको विवाह भयो । दिनहरू बित्दै गए । तर, उनीहरूबाट कुनै शिशुको जन्म नहुँदा महर्षि वेदव्याससितको सम्पर्कबाट रानी अम्बिकाले अन्धो राजकुमार धृतराष्ट्र जन्माइन् भने रानी अम्बालिकाबाट पाण्डु नामको अर्काे राजकुमार जन्मे । महर्षि वेदव्यासको सम्पर्क एक दरबारीदासी परिश्रमीसित पनि भएकोले उनीबाट दासीपुत्र विदुर जन्मे । दासी परिश्रमी वैश्य जातकी थिइन् । उनले महर्षिको ठूलो आदर तथा सत्कार गरेकी थिइन् । तर, धृतराष्ट्र, पाण्डु र विदुर तिनै जना राजा विचित्रवीर्यकै सन्तानहरूका रूपमा राजदरबारमा राजषी शैलीमा हुर्किँदै गए । उनीहरू विवाह योग्य भएपछि धृतराष्ट्रको गान्धारीसित, पाण्डुको कुन्ती र माद्रीसित तथा विदुरको सुलभसित विवाह भयो । धृतराष्ट्र र उनकी पत्नी गान्धारीबाट दुर्याेधनलगायत सय जना छोरा र एक छोरी दुशाला जन्मे । गान्धारी गर्भवती हुँदा आफ्नो शारीरिक दुर्वलताको कारणले गर्दा उनले आफ्नो पतिको सेवा तहल गर्न सुधधा नामकी एक वैश्य जातकी दासीलाई खटाएकी थिइन् । पछि त्यही दासी सुधधाबाट पनि धृतराष्ट्रको एक पुत्र जो जन्मले दुर्योधनपछिको दोस्रो थियो उसको जन्म भयो । त्यही दासी पुत्रको नाम थियो– युयुत्सु ।
पहिले पहिले कुनै पनि व्यक्तिको नामकरण हुँदा विशेष अर्थ हुने शब्द चयन गरिन्थ्यो । संस्कृत भाषाको यो युयुत्सु शब्दले युद्ध वा युद्ध गर्न रुचाउने भन्ने अर्थ दिन्छ । धृतराष्ट्रको दुर्याेधनलगायतका सय जना छोरा र अर्काे छोरा युयुत्सु सबैलाई संयुक्तरूपमा कौरव भनियो । संस्कृत शब्द कौरवले महाराज कुरुको वंशका सन्तान भन्ने अर्थ दिन्छ । धृतराष्ट्रका भाइ पाण्डुकी पत्नी कुन्तीले धर्मराजको सहयोगबाट युधिष्ठिर, वायुदेवको सहयोगबाट भीमसेन र इन्द्रदेवको सहयोगबाट अर्जुन जन्माइन् भने अर्की पत्नी माद्रीले देवलोकका वैद्य अश्विनीकुमारहरूको सहयोगबाट नकुल र सहदेव जन्माइन् । यी पाँचै जना राजकुमारहरूलाई पाण्डुका छोराहरूको रूपमा पाण्डव भनियो । वास्तवमा कौरव र पाण्डव सबैलाई कुरु वंशी नै मानिन्छ ।
राजा विचित्रवीर्यको मृत्युपश्चात् उनको जेठो छोरो अन्धो भएकोले हस्तिनापुरको राजा हुन अयोग्य भएकोले माहिलो पाण्डु राजा भए । केही वर्ष बित्यो । तर, पछि विशेष कुनै पनि स्त्रीसित समागम गर्ने बित्तिकै आफ्नो मृत्यु हुने श्राप एक ऋषिबाट पाएकोले विरक्त भई राजा पाण्डुले पनि राजगद्दी त्यागे र पछि उनको पनि मृत्यु भयो । अन्धो धृतराष्ट्र अब हस्तिनापुरको कार्यबाहक राजाको रूपमा स्थापित भए । उनका संरक्षक भीष्म थिए भने मन्त्री थिए विद्वान् एवम् महात्मा अर्थात् धृतराष्ट्रकै भाइ दासीपुत्र विदुर । विदुर शब्दले विवेकी, निपुण, प्रवीण आदि अर्थ दिन्छ । राजकाज चल्दै गयो । पाण्डव तथा कौरव राजकुमारहरूले आचार्य द्रोणबाट ज्ञान एवम् विद्या प्राप्त गर्दै थिए । तर, राजा धृतराष्ट्र र उनका अहङ्कारी दुष्ट स्वभावका पुत्र दुर्याेधन दुशासनजस्ता कौरवहरूबाट बाल्यकालदेखि नै पाण्डवहरू प्रताडित थिए । कौरवहरूको विभिन्न षड्यन्त्रहरूको शिकार हुनुपथ्र्यो । तैपनि, कौरवभन्दा पाण्डवहरू प्रायः सबै क्षेत्रमा अगाडि नै हुन्थे । कालान्तरमा पाण्डव र कौरवहरू सँगै बस्न नसक्ने हुँदा कुरु वंशी राज्य हस्तिनापुर टुक्रियो । राजा धृतराष्ट्र र उनका सन्तान कौरवहरूको हिस्सामा हस्तिनापुर पारियो भने विरान जङ्गल खाण्डवप्रस्थ पाण्डवहरूको भागमा । पाण्डवहरू हरेस मानेनन् । देवराज इन्द्रको सिफारिसमा देवताहरूको वास्तुविद् विश्वकर्माको सहयोगमा त्यो विरान जङ्गल खाण्डवप्रस्थलाई पाण्डवहरूले व्यवस्थित र सुन्दर सहर राज्यको रूपमा स्थापित गरे । इन्द्रप्रस्थ राजधानी सहरको रूपमा प्रख्यात भयो । प्राचीन भारतका राज्यहरूमध्ये एक राज्य थियो– इन्द्रप्रस्थ । जुन वर्तमान भारतको राजधानी दिल्लीमा पर्दथ्यो भनिन्छ । इन्द्रको भूमि भन्ने अर्थमा इन्द्रप्रस्थ शब्द प्रयोग गरिएको थियो । जेठो दाजु युधिष्ठिरलाई राजा बनाई पाण्डवहरूले शान्तिपूर्ण एवम् वैभवशाली जीवन बिताइरहेका दुर्याेधनलगायत कौरवहरूलाई सह्य भएन । कौरवहरूमा इष्र्या, दाह र जलन बढ्दै गयो । त्यसैको परिणामस्वरूप पाण्डव र कौरवबिचको जुवाको खेल, पाण्डव पत्नी द्रौपदीको चीर हरण, पाण्डवहरूको वनबास, लाक्षागृहमा आगलागी, गुप्तबास आदि यातना तथा षड्यन्त्रहरू भए । अन्ततः ती सबै दुष्प्रयासहरू चिर्दै पहिलेको निर्णयअनुरूप पाण्डवहरूले पाउनुपर्ने इन्द्रपस्थ राज्य माग्दा दुर्याेधनहरू मानेनन्, पाँचवटा गाउँहरू माग्दा पनि उनीहरु मानेनन् । सियोको टुप्पो बराबरको जमिन दिन पनि नमान्दा पाण्डव र कौरवको बिचमा ठूलो युद्ध हुने निश्चित भयो । वर्तमान भारतको हरियाणा राज्यमा पर्ने कुरु क्षेत्र जिल्लाको कुरु क्षेत्र सहर नै महाभारतकालीन कुरु क्षेत्र थियो भनी विश्वास गरिन्छ । त्यही कुरु क्षेत्रमा नै सत्य, न्याय, नैतिकता, धर्मको लागि पाण्डवहरूले कौरवहरूसित अठार दिनसम्म युद्ध गर्नुपरेको थियो । जसमा दुवै पक्षबाट लाखौँ सेना र धेरै महारथीहरू सहभागी भए । सामन्ती युगमा महासामन्तहरूको आ–आफ्नो स्वार्थ र प्रतिष्ठाको लागि युद्धहरू हुन्थे जसमा हजारौँ लाखौँ दासहरूले आफ्नो जीवनको बलिदान दिनुपथ्र्याे । त्यस्तै, युद्ध थियो महाभारत युद्ध ।
हस्तिनापुरका राजा धृतराष्ट्रका रखैलका रूपमा रहेकी वैश्य दासी सुधधाबाट जन्मेका युयुत्सु पनि राजकीय शैलीमा नै दुर्याेधनहरूसँगै हुर्के, बढे पनि उनीमा दुष्ट्याइँ, छलकपट, अन्याय, असत्य, अनैतिक कुनै पनि किसिमका दुश्चरित्र र स्वभावहरू थिएनन् । हिलोमा फुलेको कमलको फूलजस्तै युयुत्सु निर्मल र सुन्दर थिए । उनी बाल्यकालदेखि नै सत्य, निष्ठा, आदर्श, न्याय र शान्तिका समर्थक थिए । पाण्डवहरूविरुद्ध दुर्याेधनहरूले रच्ने विभिन्न षड्यन्त्रहरूको पूर्वजानकारी पाण्डवहरूलाई उनले नै दिने गर्थे । त्यसैले कौरव समूहभित्र पर्ने युयुत्सुलाई दुर्याेधनहरूले जहिले पनि हेला गर्ने, दुत्कार्ने, अभद्र व्यवहार आदि गर्थे । तैपनि, युयुत्सुको न्यायप्रेमी सत्यवादी स्वभावमा कुनै अन्तर आएन । कौरवहरूको बिचको जमघटमा दरबारी सभामा कतै पनि पाण्डवहरू अनाहक आलोचना, खिसिटुरी भएमा उनले जहिले पनि कौरवहरूको विरोध गरी पाण्डवहरूको पक्ष लिने गर्थे । द्रौपदीको चीरहरण गरिँदा यिनले ठूलो आपत्ति जनाउँदै विरोध गरेका थिए । त्यसैले दुर्याेधनहरू यिनलाई देखी सहँदैनथे । वैश्य पुत्र, दासी पुत्र आदि हेय वचन बोली उनको अपमान गर्थे । जसरी नेपालमा राणाकालमा ‘क’ श्रेणीका राणाहरूले ‘ख’ र ‘ग’ श्रेणीका राणाहरूलाई मठ्याहा (जात नमिल्ने पत्नीबाट जन्मेका) सन्तान भनी हेला गर्थे । यसमा ‘ख’ र ‘ग’ श्रेणीका राणाहरूको के दोष ? बरु यसको लागि दोषी त ‘क’ श्रेणीकै राणाहरू थिए । उनीहरूले गर्दा नै ‘ख’ र ‘ग’ श्रेणीका राणाहरू जन्मेका थिए । त्यस्तै युयुत्सुको के दोष ? उनका पिता महाराज त धृतराष्ट्र नै थिए । सत्य र न्यायका लागि युयुत्सुले त्यस्तो कटु वचनलाई कहिल्यै महत्व दिएनन् । हात्ती हिँडे बजार, कुकुर भुके हजार भनेजस्तै ¤
महाभारत युद्धका लागि कुरु क्षेत्रमा विशाल सेनाहरू पाण्डव र कौरव पक्षको तर्फबाट तयार थियो । मात्र शङ्ख ध्वनिको प्रतिक्षा थियो । त्यहीबेला पाण्डवहरूको तर्फबाट नेतृत्व गर्ने पाण्डवहरूको जेठो दाजु युधिष्ठिरले कौरवतर्फका सेनाहरूसमक्ष जो कोही पनि सत्य, निष्ठा, न्याय, आदर्श र नैतिकताको पक्षमा आफूलाई समर्पित गर्न चाहन्छन् । तिनीहरूले सदा सत्य र न्यायको लागि समर्पित पाण्डव पक्षमा आफूलाई समाहित गरे । हामी आदर र हार्दिकताका साथ स्वागत गर्छाैँ भनी उद्घोष गर्दा यी नै युयुत्सु हुन् जो कौरव गणका भएर पनि त्यसलाई त्यागी पाण्डवहरूको पक्षमा उभिन पुगे । बलिदान दिन तयार भए । युधिष्ठिरलगायत सम्पूर्ण पाण्डव गणले उनलाई अति हार्दिकताका साथ स्वीकार तथा स्वागत गरे । युधिष्ठिरले उनलाई सम्पूर्ण महाभारत युद्धका लागि पाण्डव पक्षको सम्पूर्ण हातहतियार र रसद पानीको पूर्ण बन्दोबस्त गर्ने जिम्मा दिई युयुत्सुकै सहयोग लिई महाभारत युद्धमा समाहित भए ।


महाभारत युद्ध मूलतः अठार दिनसम्म चल्यो । थुप्रै राजा, राजकुमार, सामन्त एवं दासहरू मारिए । धृतराष्ट्रका दुर्योधनसहित सयजना छोराहरू मारिए । पाण्डव पक्षकाहरूमा अर्जुनका छोरा अभिमन्युलगायत धेरै योद्धाहरूले वीरगति पाए । तर, जीत सत्य, न्याय र धर्मकै भयो । अर्थात्, महाभारत युद्धमा पाण्डवहरूले विजय प्राप्त गरे जसमा युयुत्सुको महान् तथा गौरवपूर्ण भूमिका थियो । धृतराष्ट्रका सन्तान अर्थात् कौरवहरूमा कोही पनि बचेनन् । युयुत्सु मात्रै बचे । वृद्ध पिता धृतराष्ट्र र सौतेनी आमा गान्धारीको सेवा हेरचाह यी नै दासी पुत्रले गरे । आमाबुबाको मृत्युपश्चात् उनीहरूको अन्त्येस्टि क्रिया सबै यी नै युयुत्सुले सम्पन्न गरे । ज्येष्ठ पाण्डव युधिष्ठिरले इन्द्रप्रस्थ र हस्तिनापुर दुवै हस्तिनापुर राज्यमा विलय गरी आफू त्यसको राजा भए । युयुत्सुको दक्षता, योग्यता र जिम्मेवारीपनबाट राजा युधिष्ठिर अति प्रभावित भए । त्यसैले, राजा युधिष्ठिरले उनलाई आफ्नो मन्त्री पदमा नियुक्त गरे राजा धृतराष्ट्रले विदुरलाई मन्त्री बनाएजस्तै । विदुरको जस्तै युयुत्सुको भूमिका पनि अति सराहनीय थियो । आफ्नो जीवनको अन्तिम समयतिर युधिष्ठिरलगायत सबै पाण्डवहरूले अर्जुनका नाति परिक्षितलाई राजगद्दी सुम्पी राजा तुल्याए । राजा परिक्षित र हस्तिनापुर राज्यको सम्पूर्ण संरक्षण, सुरक्षा, दिशा निर्देशन आदि गर्ने जिल्ला युयुत्सुलाई सुम्पी उनीहरू स्वर्गारोहणतिर लागे ।
आज हाम्रो मुलुक नेपालमा पनि देशको स्वाभिमान, स्वतन्त्रता र सार्वभौमसत्ता, राष्ट्रसङ्घको चार्टर र पञ्चशीलको सिद्धान्तअनुरूपको स्वतन्त्र परराष्ट्र नीति गरिखाने किसान मजदुर, बुद्धिजीवी, राष्ट्रिय पुँजीपतिवर्ग आदि सम्पूर्ण देशभक्तहरूको पहिलो समूह र अर्को कुनै पनि हालतमा आफ्नो व्यक्तिगत स्वार्थको लागि देश र जनताको स्वाभिमान, स्वतन्त्रता, गौरव र विकासलाई बन्धकी राख्न तयार रहनेहरूको दोस्रो पक्षबिच सयौँ वर्षदेखि विवाद, द्वन्द्व तथा सङ्घर्ष चल्दै आएको छ । त्यसैले, कुनै पनि वर्ग, समूह, समुदाय, सङ्घ, संस्था, सङ्गठन पार्टीमा रहेका हजारौँ युयुत्सुहरूमाथि उल्लेखित देश र गरीब जनताका समर्थक पहिलो समूहसित एकताबद्ध भई फेरि अर्को महाभारत युद्धको लागि तयार हुनु छ । बरु, महाभारत महाकाव्यका एक विशेष पात्र युयुत्सुको सामान्य विवरणले यही तथ्यतर्फ सङ्केत गर्दछ ।
सन्दर्भग्रन्थ सूची
१) घिमिरे, शिवप्रसाद (नेपाली अनुवाद)/महाभारत/काठमाडौँ : जुपिटर पब्लिसर्स प्रा.लि.
२) दाहाल, प्रकाश मणि/वि.सं. २०७६/महाभारत/काठमाडौँ : असीमकुमार उपाध्याय
३) रिजाल, कमल/वि.सं. २०७२/पौराणिक पात्र र मिथकहरू/काठमाडौँ : डिकुरा पब्लिकेसन
४) सिंह, सुमित्रा/धर्म ग्रन्थका कथाहरू/काठमाडौँः प्यासिफिक पब्लिकेसन
५) वेबसाइट – www.https://em.m.wikipedia.org.>wiki/yuyutsu र अन्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *