भर्खरै :

पत्रकारिता व्यवसाय होइन

– सरोजराज गोसाईं, प्रकाशक एवं सम्पादक श्रमिक साप्ताहिक
श्रमिक साप्ताहिकको २४ औं र मजदुर दैनिकको १९ औं वर्ष प्रवेश र अनलाइन मजदुर न्युज पोर्टलको शुभारम्भको अवसरमा सबै मित्रहरूमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछु ।
भनिन्छ राति आकासमा नौलाख तारा भए पनि उज्यालो दिन चन्द्रमा नै चाहिन्छ । देशमा आठ हजार बढी पत्रपत्रिका बीचमा श्रमिक साप्ताहिक र मजदुर दैनिक फरक धारमा उभिएका छन् । अनलाइन पत्रिका दर्जनौं छन् तर अनलाइनमजदुर डटकम छुट्टै सामग्रीसाथ प्रकाशन प्रारम्भ भएको छ । भर्खरै फष्टाउन थालेको न्यू मिडिया जर्नालिजमसमेत भनिने अनलाइन पत्रकारितामा प्रवेश गर्ने हाम्रो प्रयासका तपाई सबै साक्षी र सहयोगी हुनुहुन्छ । यस अवसरमा सम्पूर्ण मित्र हातहरूलाई हार्दिक सलाम गर्दछु ।
मेरो बुझाइमा नेपाली सञ्चारमाध्यमहरू निष्पक्षताको बखान गरी थाक्दैनन् तर वस्तुतः ती पक्षपाती नै छन् । व्यावसायिक नामधारी ती सञ्चारमाध्यमले देखाउनको निम्ति मजदुर वर्गको पक्षमा कहिले कसो समाचार र विचारलाई स्थान दिन्छन्, तर जब ती सञ्चारमाध्यमको मालिक वा मालिक वर्गीय स्वार्थमा धक्का लाग्छ तब तिनले आफ्नो वास्तविक रूप उघार्छन् ।

पत्रकारिता व्यवसाय होइन । पत्रकारिताले विचार प्रचारको काम गर्छ, यो बौद्धिक प्रयास हो ।

सन् १९५९ को क्रान्तिलगत्तै एक समारोहमा क्युवाली नेता फिडेल क्यास्ट्रोले भन्नुभएको विचारलाई उद्धृत गर्दछु । ‘पत्रकारिता व्यवसाय होइन । पत्रकारिताले विचार प्रचारको काम गर्छ, यो बौद्धिक प्रयास हो ।’ पूँजीवादी सञ्चारमाध्यमले पत्रकारिकतालाई व्यावसायिकको सीमामा कैद गरी पूँजीवादी शोषण कायम गर्ने प्रयास गरिरहेका छन् । तर श्रमिक, मजदुर र अनलाइन मजदुर पत्रिकाले माक्र्सवादी सिद्धान्तलाई आत्मसात गरेका छन् । आजको यस अवसरमा हामी नाफा र नोक्सानको हिसावकिताबमा विचारलाई बन्धकमा राख्दैनौं भन्ने प्रतिवद्धता फेरि जाहेर गर्न चाहन्छौं ।

हामी प्रष्ट छौं, हामी आस्थाको पत्रकारिता गर्छौैं । हामी मोही माग्ने तर ढुङ्ग्रो लुकाउन चाहन्नौं । हामी मानव समाजकै सबभन्दा उत्कृष्ट व्यवस्था समाजवाद र साम्यवादको लक्ष्य प्राप्तिको अभियन्ता हौं । हामी प्रयास गर्छौं, हाम्रा प्रत्येक समाचारले पूँजीवादी व्यवस्थाकै चिहान खनोस्, हाम्रो प्रत्येक समाचार पृष्ठले देशको सार्वभौमिकता र स्वतन्त्रताको रक्षाको किल्ला बनाउने शिल्पीलाई जोशमा जोश थप्न सकोस्, हाम्रो प्रत्येक विचारले पसिना बगाउनेको रगत चुस्ने शोषकहरूको मुटुमै ढ्याङ्ग्रो ठोक्न सकोस् ।
आजको सञ्चार जगत पनि साम्राज्यवादी तथा विस्तारवादीहरूकै एकाधिकार अधिनस्थ छ भन्दा फरक पर्दैन । सञ्चारमाध्यममार्फत कमजोर देशमाथि बलियो देशको सांस्कृतिक हमला भइरहेको छ । पूँजीवादले आफ्नो वर्चस्व कायम गर्न सञ्चारलाई सबभन्दा सरल र प्रभावशाली माध्यम बनाएको छ । नेपाली पत्रकारितामा पनि भारतीय एकाधिकार पूँजीकै वर्चस्व छ । नेपाली पत्रकारहरूलाई यो लेख्, यो नछाप् वा यस्तै सामग्री प्रशारण गर् भनी भारतीय शासक वर्ग, युरोपेली युनियन वा अमेरिकी नियोगले सञ्चालन गरेका अन्तर्राष्ट्रिय गैससले हस्तक्षेप गर्दैछन् । नेपालको संविधान संशोधनमा भारतीय हस्तक्षेप अनुचित भएको भन्दै एउटा राष्ट्रिय दैनिकमा लेख लेख्दा भारतको दबाबमा नेपालको प्रधानमन्त्रीले आफ्नो प्रेस सल्लाहकारको राजीनामा माग गर्छन् । ती पत्रकारले विचारको स्वतन्त्रताको निम्ति भन्दै प्रधानमन्त्रीको सल्लाहकार पदबाट सहर्ष राजीनामा दिन्छन् । यो एउटा उदाहरणमात्र हो ।
प्रष्ट छ, ठूलो लगानीमा प्रकाशित सञ्चारमाध्यमहरूले विश्वव्यापीकरण, उदारीकरण, निजीकरणको विपक्षमा बोल्नै सक्दैनन् । किनभने व्यावसायिकताको नाममा आएका यस्ता कर्पोरेट मेडिया या त बहुराष्ट्रिय कम्पनीबाटै सञ्चालित छन् या तिनको स्वार्थसिद्धिको निम्ति सञ्चालित छन् वा ती तिनको भरणपोषणमा आफ्नो पूँजी विस्तार गर्न चाहन्छन् । त्यसैले बहुराष्ट्रिय कम्पनी वा ठूला व्यापारिक घरानियाँको चम्चा बजाउनमै ती सञ्चार माध्यमको बढी स्रोतसाधन प्रयोग हुन्छन् ।
उपभोक्तावादको मन्द विष पिलाई नाफा कमाउने पूँजीवादी धर्मको प्रचार गर्नु नै अधिकांश व्यावसायिक सञ्चारमाध्यमको उद्देश्य रहेको पाइन्छ । भ्रष्टाचारीसँगको मिलेमतोमा काम गर्ने सञ्चारमाध्यम तथा सञ्चारकर्मीको प्रवृत्ति पूँजीवादी संस्कृतिकै उपज हो । प्रतिशोध साँध्नको निम्ति सञ्चारमाध्यमको उपयोग गर्ने वा इमोसनल ब्ल्याकमेलिङ गर्ने प्रवृत्ति सबै पूँजीवादी सञ्चार प्रणालीको विशेषता भन्दा फरक पर्दैन । पैसाप्रधान वा पूँजीको विस्तारको निम्ति आफ्नै गलपासोसमेत बेच्दै हिंड्ने पूँजीपति वर्गले चलाएका सञ्चार माध्यमले नारीको इज्जतको व्यापार गर्छ, कालो व्यापारलाई ढाकछोप गरी अवैध रकम कुम्ल्याउँछ, विज्ञापनदाताको नुनको सोझो गर्छ, देशको सार्वभौमिकता र स्वतन्त्रता दाउमा राख्छ, आदि आदि । बुँदाहरू अझ बढी होलान् ।
भन्न त पत्रकार जहिलेसुकै प्रतिपक्षमा रहने भनिन्छ । राज्यको चौथो अङ्ग भनी नथाक्ने घाघडान पत्रकारसमेत सत्ता र शासक वर्गकै ‘ल्याप डग’ भइरहेका छन् । तिनीहरू आफ्ना अधिकांश शब्द शासक वर्गको तावेदारीमा खर्च गरिरहेका भेटिन्छन्, मानौं शासकहरूको गुणगान नगाइकन तिनको प्राण पनि बाँकी रहन्न । यी नै सत्ता भक्तहरूसँग जोडिएका समाचारलाई भने तिललाई पहाड बनाउने तर निमुखा जनताको प्रतिनिधित्व गर्ने प्रतिपक्षीको आवाजलाई देख्यानदेख्यै गर्ने नेपाली पत्रकारिताको प्रवृत्तिको विपक्षमा हाम्रा तीन प्रकाशन उभिएका छन् । वास्तवमा तल्लो वर्गीय आवाजलाई बुलन्द गर्नु नै हाम्रो एकमात्र उद्देश्य हो । हामीले कहिल्यै सिद्धान्तलाई बन्धकमा राखी प्रतिक्रिवादी वर्गको विरोेध गर्न छोडेनौं । हामीले तिनको नुनको सोझो पनि गर्नु परेन, किनभने हामीले तिनको विज्ञापन, पुरस्कार वा बक्सिस्लाई कहिल्यै स्वीकारेनौं ।
आमसञ्चार माध्यमको महत्व, क्रियाकलाप एवम्् उद्देश्यमा हिजो र आजमा तात्विक भिन्नता आएको छैन । हिजो पनि आफ्नो सत्ता टिकाउन निरङ्कुश शासकहरूले आमसञ्चार माध्यमलाई प्रयोग गरेका थिए भने आज पनि पूँजीवादी निरङ्कुशतालाई टिकाउन ती सञ्चारमाध्यम क्रियाशील छन् । आजका अधिकांश आमसञ्चारमाध्यमहरू पूँजीपति वर्गकै स्वर्गलाई बचाउने उद्देश्य राख्छन् र यो तिनको आफ्नो वर्ग स्वार्थ पनि हो । यसलाई वर्गीय पक्षधरताभन्दा अत्युक्ति नहोला । शासक वर्गले मजदुर वर्गमाथिको शोषण, अन्याय र अत्याचारलाई कायम गर्न नै सञ्चार माध्यमको प्रयोग गरिरहेका हुन्छन् । हामी मजदुर वर्गको पक्षपोषण गर्छौं, मजदुर वर्गको न्याय र स्वतन्त्रताको आवाजलाई वुलन्द गर्छौं । हाम्रा प्रकाशनहरूको वार्षिकोत्सको यस अवसरमा यी जनप्रकाशनहरूलाई मजदुर वर्गको आँखा र कानको रूपमा उपयोग गर्ने हाम्रो सत्प्रयासमा साथ दिने सबै बधाईका पात्र हुनुहुन्छ ।
देशको आम सञ्चार नीतिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्ने उल्लेख छ, तर पूँजीवादी शासन व्यवस्थालाई ध्वस्त पारी समाजवादी शासन व्यवस्था स्थापना गर्ने हाम्रो लक्ष्य हो । आजको सञ्चार नीतिमा भनेजस्तो समतामूलक, समृद्ध सूचना समाज बनाउने कुरा आकाशको फलमात्र हो । वास्तविकतामा आज जसको हातमा लठ्ठी उसको हातमा भैंसी भनेझैं शक्ति र सत्ताको आधारमा सूचनाको किनबेच हुन्छ । त्यसैले पनि पूँजीवादी व्यवस्थालाई ‘खसीको टाउको देखाई कुकुरको मासु बेच्ने’ भनिएको हो ।
‘पत्रकार राजनेता हुन्, किनभने तिनले आफ्नो परिचय र संस्कृतिको रक्षा गर्छन् ।’ पत्रकारिताकोबारे क्युवाली नेता फिडेल क्यास्ट्रोको उपर्युक्त भनाइलाई हामी मनन गर्छौं । मजदुर वर्गको मुक्तिका द्रष्टा कार्ल माक्र्स, रुसी क्रान्तिका शीर्ष नेता लेनिन, चिनियाँ क्रान्तिका शीर्ष पुरुष माओ त्सेतुङलगायत विभिन्न देशको क्रान्तिको नेतृत्वकर्ता सबै आधारभूतरूपमा पत्रकार हुनुहुन्छ । कोही पनि परिवर्तनकामी पत्रकारको निम्ति उहाँहरू आदर्श हुनसक्नुहुन्छ । ‘संसारलाई हल्लाउने दश दिन’ का लेखक जोनरिड, रुसी र चिनियाँ क्रान्तिका वास्तविक समाचार विश्वलाई पु¥याउने अमेरिकी पत्रकार अन्ना लुइस स्ट्रङजस्ता थुप्रै विश्वप्रसिद्ध पत्रकारहरूले हामीलाई सदा परिवर्तनको निम्ति लेख्न उत्साहित गरिरहनु हुनेछ ।
अन्तमा, फेरि एक पटक सबै साथीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
(शुक्रबार सम्पन्न श्रमिक साप्ताहिकको २४ औं र मजदुर दैनिकको १९ औं वर्ष प्रवेश र अनलाइन मजदुर न्यूज पोर्टलको शुभारम्भ कार्यक्रममा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *