भर्खरै :

सहिदको स्मरण र योद्धाहरूको सम्मान गर्नु आवश्यक !

सहिदको स्मरण र योद्धाहरूको सम्मान गर्नु आवश्यक !

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको हो । सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्रमा नेपाली जनताको रगत र पसिना भिजेको छ । यसरी नेपाली जनताको आन्दोलन र सङ्घर्षबाट प्राप्त भएको अधिकारको सदुपयोग गर्दै गणतन्त्र दिवसको अवसरमा गणतन्त्र प्राप्त गर्न ज्यानको बाजी राख्ने सहिद र आन्दोलनका घाइतेहरूको स्मरण गर्नुपर्ने हो, सम्मान गर्नुपर्ने हो, सहिदका परिवारहरूको जीवन सुनिश्चित गर्नुपर्ने हो । सहिदहरूको जीवनी विद्यालयको पाठ्यक्रममा राखेर नयाँ पुस्तालाई सुसूचित पार्नुपर्ने हो । वीर, साहसिक, सङ्घर्षशील नेपालीहरूको देनबारे चर्चा गर्नुपर्ने हो ।
गणतन्त्र दिवसको स्मरणमा पहिले सरकारले सहिद र वीर विरङ्गनाहरूको स्मरण र सम्मान होइन अपराधीहरूको सजाय माफी गरेर गणतन्त्रकै महत्व घटाउने काम गरेको थियो । फौजदारी कार्यविधि संहिताले क्रूर र यातनापूर्वक गरिएको हत्या मुद्दामा सजाय माफी हुन नसक्ने व्यवस्था गरे तापनि मन्त्रिपरिषद्को निर्णय भनी राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी गरेका थिए । अदालतभन्दा माथि रहेर राष्ट्रपति पौडेलले अपराधीहरूलाई माफी दिएर राष्ट्रपतिको गरिमा घटाउने पाइला चालेका थिए । यसले गणतन्त्रकै बदनाम हुन्छ । यसले अदालतको अपमान गरेको छ, राष्ट्रपति स्वयम् विवादमा परेका थिए । न्यायपालिकाले दोषी ठहर गरेर सजाय गर्ने अनि कार्यपालिकाले माफी गर्दै जाने कामले न्यायपालिकाको स्वतन्त्रतामा असर पर्छ कि पर्दैन ? के गणतन्त्र अपराधीहरूलाई एकपछि अर्काे मिनाहा दिन नेपाली जनताले ल्याएका हुन् ?
के अपराधीहरूलाई मिनाहा गरेर देश आदर्शाेन्मुख बन्छ ? अपराधीलाई मिनाहा गरेर देशमा विधिको शासन हुन्छ ? के राष्ट्रपतिको काम अपराधीलाई छुट दिँदै जाने हो ? अपराधीलाई छुट दिएर सत्तासीन दलका नेता, मन्त्री र राष्ट्रपति कसरी इज्जतदार बन्छन् ? अपराधीहरूलाई छुट दिएर के देशको इज्जत बढ्छ ? पहिले पहिले पनि यस्तै कुनै न कुनै अवसरमा छुट दिएर अपराधीहरूलाई खुसी पार्ने काम गरिएको थियो । अनि किन देशमा अपराधीहरूको सङ्ख्या बढ्दैन ? स्मरणीय छ, जिल्ला अदालतले मुख्य दोषी रेशम चौधरीलाई ०७५ फागुन २२ मा जन्मकैद फैसला सुनाएको थियो । सर्वाेच्च अदालतले जेठ २ गते उच्च अदालतको फैसलालाई सदर गरेको थियो । जिल्ला अदालत कैलाली, उच्च अदालत दीपायल र सर्वाेच्च अदालत काठमाडौँले दोषी ठहर गरेको व्यक्तिलाई मिनाहा दिनु के उचित हो ?
राष्ट्रपतिको पहिलो गाँसमै ढुङ्गा परेको छ । नागरिकता विधेयकमा पनि राष्ट्रपतिले प्रमाणीकरण गरेर देशको अस्तित्वमा आँच पु¥याउने काम गरे । त्यसपछि एसपीपी कार्यक्रममा पनि सही गरेर अमेरिकी सेना खुलमखुला नेपालमा भित्याउने काम भयो ? बझाङमा अमेरिकी क्याम्प खडा गरेर अमेरिकी सेना र अमेरिकी सेनाको पोशाकमा अमेरिकी गुप्तचरहरू छिरिरहेको समाचार प्रकाशमा आइरहेको छ । देश र जनताको मरिमेट्ने, जीवन त्याग गर्नेहरूको सम्मान, स्मरण गरेर, देशको लागि उल्लेख्य योगदान गर्ने व्यक्तिहरूको सम्मान गरेर खुसी मनाउने समयमा अपराधीहरूको स्वागत र जयजयकार गरेर मनाउने दिन यो सरकारले नगरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *