भर्खरै :

वडा नं. ५ मा सुझाव सङ्कलन

वडा नं. ५ मा सुझाव सङ्कलन

भक्तपुर, १३ जेठ । भनपा वडा नं ५ को वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०८३/८४ को लागि प्राथमिकताको आधारमा वडा तथा नगरस्तरीय योजना÷कार्यक्रम तर्जुमाका लागि सुझाव सङ्कलनको क्रममा मङ्गलबार वडाका विभिन्न भेगका वडावासीको उपस्थितिमा सुझाव सङ्कलन तथा छलफल सम्पन्न भयो ।
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले वडामा २०७९ मा निर्वाचित जनप्रतिनिधिहरूको यो पाँचौँ र अन्तिम योजना तर्जुमा भएको बताउँदै हरेक वडामा वडा बजेटबाहेक नगर, प्रदेश तथा सङ्घीय बजेटको पनि कार्यक्रमहरू रहने हुनाले प्राथमिकताका आधारमा तिनीहरूको छनोट गरी नगरपालिकामा प्रस्ताव गर्ने प्रक्रियाका बारेमा प्रस्ट्याउनुभयो ।
विभिन्न परिस्थितिजन्य कारणहरूले बजेट छुट्याइसकेका योजनाहरू पनि धकेलिँदै जाने समस्या रहेकोले निर्वाधरूपमा कार्य सम्पन्न गर्न सकिने र आवश्यकताको आधारमा योजना सुझाउन उहाँले अनुरोध गर्नुभयो । छलफलमा समाजसेवी पूर्णगोपाल राजचलले वडामा खानेपानीको समस्या धेरै हदसम्म समाधान भइसकेको भए पनि अझै स्थान विशेषमा बाटोको वारि पानी फालाफाल र पारि सुख्खा भएको अवस्था रहेकोले यसमा ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।
छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा ढुङ्गा छपाइ, मठ मन्दिर निर्माण र पुनःनिर्माणबाहेक टोल टोलमा सँगै बसेर पठन संस्कृति प्रवद्र्धन गर्न पुस्तकालय वा वाचनालयको व्यवस्थालगायत युवालक्षित कार्यक्रमहरू, विभिन्न सीपमूलक तालिमहरूको लागि वडा वा नगरस्तरीय पहल हुनुपर्ने वडावासीहरूले सुझाउनुभयो । ५ वडा नगरको मुटु सुकुलढोका र टिबुक्छेँ दिउँसो सुनसान हुने अवस्थाले सहर बजार नै मृतप्राय देखिने हुनाले साप्ताहिक वा मासिक रूपमा सडक महोत्सव गरी बजारलाई जीवन्त बनाउनुपर्नेसमेत सुझाव दिइएको थियो ।
भक्तपुरका साँघुरा गल्लीहरूमा दमकल नजाने भएकाले भित्री गल्लीहरूमा दमकलको पानी पठाउन Fire hydrant को व्यवस्था तत्काल गर्नुपर्ने, दोबाटोमा स्थल निर्देशनका चिह्नका बोर्डहरू राखिनुपर्ने, BKTinfo.com Scan मा वडा ५ सम्बन्धी सूचनाहरू अपुग भएको, हनुमन्ते खोलामा पानीको बहावलाई निरन्तरता दिएमा गन्ध समस्या नहुनेजस्ता सुझाव दिइएको थियो । वडाले फेसबुकमार्फत तथा लिखित रूपमा पनि सुझाव सङ्कलन गरिरहेको जनप्रतिनिधि नारायणप्रसाद त्वानाबासुले बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य वडासचिव काशीराम प्रजापतिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *