भर्खरै :

पुँजीवादी व्यवस्थामा जनताले उपभोग गर्ने वस्तुमा बढी कर लगाइने

पुँजीवादी व्यवस्थामा जनताले उपभोग गर्ने वस्तुमा बढी कर लगाइने

भक्तपुर, २६ असार । “देशको नीति नियम बनाउने जिम्मा पाएको सांसदलाई सरकारले बजेटको व्यवस्था गर्नु उपयुक्त होइन । भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा छुट्याएको सांसद विकास बजेटको हामीले त्यसैबेला नै विरोध गरेका थियौँ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिद्वारा मङ्गलबार समसामयिक विषयमा आयोजित महिला भेलामा राख्नुभएको हो ।
उहाँले भन्नुभयो, “पुँजीवादी सरकारले नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुमा बढी कर लगाई राजस्व सङ्कलन गर्ने काम गर्छ । पुँजीपतिवर्गले पुँजीपतिवर्गको अहित हुने काम गर्दैन । पुँजीपतिवर्गले आफ्नो अहितमा कर लगाउँदैन । गरिब जनताले उपभोग गर्ने वस्तुमा कर नलगाउने व्यवस्था कामदार वर्गको सत्ता प्राप्त भएपछि मात्र हुन्छ ।”
उहाँले भन्नुभयो, “समाजवादी सरकार आएपछि कम समयमै धेरै विकास निर्माणको काम गर्न सक्छ । हरेक क्षेत्रमा प्रगति गर्न सक्छ भन्ने कुरा चीन, प्रजग कोरिया र क्युवाजस्ता देशले गरेको प्रगतिबाट प्रस्ट हुन्छ ।”
उहाँले ख्वप विश्वविद्यालय स्वीकृति दिएको खण्डमा अझ हामी देश र जनताको लागि थप सेवा गर्न सक्छौँ भन्नुभयो ।
व्यक्तिगत स्वार्थको लागि सहकारी संस्था खोलेर जनताको रकम लिई सञ्चालक भागेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “त्यस्ता सहकारी संस्थाबाट जनता सचेत हुनु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष एवं भेलाका सभापति अनिता जधारीले राजनैतिकरूपमा सचेत महिला विभिन्न जालझेलबाट बच्न सकिने हुँदा महिलाहरू सङ्गठित भई अगाडि बढ्न आवश्यक छ भन्नुभयो ।
भेलामा मीरा दुगुजु, रामेश्वरी कोजु, छोरीमैयाँ सुजखु र सानु बजिकोले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *