भर्खरै :

विश्वविद्यालय विज्ञ तयार गर्ने थलो हुनुपर्छ

सन्तुलित विकास गर्ने लक्ष्य बोकेको विश्वविद्यालय देशको लागि आवश्यक छ । देशबाट भइरहेको युवा पलायन रोक्न राज्यको स्वामित्वमा उत्पादन र वितरण गर्ने, युवालाई स्वदेशमा रोजगारी दिने, उत्पादन श्रमसँग जोडिएको शिक्षा दिने विश्वविद्यालय जरूरी छ । समाजलाई बुद्धिजीवीकरण गर्ने विश्वविद्यालय आवश्यक छ । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापना गर्न विज्ञान, व्यवस्थापन, मानविकी, इन्जिनियरिङ, कानुन, शिक्षा र नर्सिङ आदि कलेज सञ्चालन गरिरहेको छ । देशको लागि आवश्यक जनशक्ति तयार गर्न भनपाले राखेको उद्देश्यमा सरकारले विश्वविद्यालय स्वीकृत नदिई बाधा पु¥याइरहेको छ । यसरी सरकारले देशको आवश्यकताअनुसार चिकित्सक तयार गर्ने काम या बाधा हालेको छ । यो शिक्षाविरोधी कदम हो ।
एकातिर सरकारले सस्तोमा गुणस्तरीय शिक्षा दिने काममा बाधा पु¥याइरहेको छ भने अर्कोतिर सरकारले गुणस्तरीय शिक्षा दिन सकिरहेको छैन । देशमा सञ्चालित कलेज र विश्वविद्यालय बन्द गराउन सरकारले विदेशी विश्वविद्यालयलाई ठाउँ दिँदै छ । आर्थिक दृष्टिले सवल विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने थलो आफ्नै देशमा खोलेको विदेशीहरूको विश्वविद्यालय बन्दै छ भने अर्कोतिर विदेशी विश्वविद्यालय उनीहरूको गन्तव्य बन्दै छ । सरकारले आफैँले राम्रो विश्वविद्यालय खोल्नुपर्छ । सरकार या कुनै स्थानीय तहले राम्रो विश्वविद्यालय खोल्छ भने त्यसको नतिजा पनि राम्रै हुन्छ । राम्रो विश्वविद्यालयमा पढेका विद्यार्थीहरूको शैक्षिक स्तर पनि राम्रै हुन्छ । उनीहरूले देश विदेश जहाँ गए पनि काम पाउँछन् ।
राम्रो विश्वविद्यालय या शिक्षण संस्थाले अध्ययन र अनुसन्धानको लागि पनि स्रोत र साधनको बन्दोबस्त गरेको हुन्छ । उच्च शिक्षा हासिल गर्न सफल विद्यार्थीहरूले सबै ठाउँमा काम पाउँछन्, सबैका प्रिय हुन्छन् । उनीहरू नै पछि एउटा न एउटा विषयमा विज्ञ बन्छन् । देशको लागि हरेक विषयको विज्ञ आवश्यक छ । यसकारण, कलेज या विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुनुपर्छ, रोजगार पाउन शिक्षा उत्पादन श्रमसँग मिलेको हुनुपर्छ । तर, आर्थिक समस्या कमजोर भएको कारण विद्यार्थीहरूको योग्यताअनुसार आफूले रोजेको विषय पढ्न पाउँदैन । सरकारले माविसम्म अनिवार्य र निःशुल्क तथा उच्च शिक्षा निःशुल्क गरेको भए उनीहरूले पढ्ने अवसर पाउँछन् र देशको आवश्यकताअनुसार जनशक्ति पनि तयार हुन्छ । यसतर्फ सरकारको ध्यान गएको देखिँदैन ।
देशमा खोलेका विश्वविद्यालयहरू विज्ञ तयार गर्ने थलो बन्नुपर्छ । उच्च शिक्षा हासिल गरेपछि उनीहरूले रोजगार पाउनुपर्छ या रोजगार पाउने बन्दोबस्त हुनुपर्छ । ती विश्वविद्यालयले उच्च शिक्षा आर्जनका लागि अध्ययनरत विद्यार्थीलाई खोजमूलक अनुसन्धान गराउने सम्बन्धमा उचित व्यवस्था कलेज र विश्वविद्यालयले गर्नुपर्दछ । नेपालमा विदेशी विश्वविद्यालय खोल्नु आवश्यक छैन । देशभित्र शिक्षा माफियालाई चलखेल गर्ने अवसर दिन हुँदैन । अनि विदेशीहरूले खोलेको विश्वविद्यालय यहाँका विद्यार्थीहरूको निम्ति आकर्षक हुँदैन । अतः भनपाले सञ्चालन गर्न लागेको ख्वप विश्वविद्यालयलाई सरकारले शीघ्रातिशीघ्र स्वीकृति दिनुपर्छ । मेडिकल कलेज सञ्चालन गर्ने नपाको ध्येय पूरा गर्नेतर्फ सरकारले साथ दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *