भक्तपुरको शैक्षिक गुणस्तर माथि उठ्नुमा प्राध्यापकहरूको महत्वपूर्ण योगदान
- बैशाख १०, २०८३
भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई रु. ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति बुधबार एक कार्यक्रमबिच वितरण गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत ८८ जना विद्यार्थीहरूलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त छात्रवृत्ति रकम विद्यार्थीहरूलाई हस्तान्तरण गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजबाट प्रदान गरिने छात्रवृत्तिले गरिब र जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न अवसर मिलेको बताउँदै उत्कृष्ट विद्यार्थीहरूले पनि छात्रवृत्तिमा अध्ययन गर्न पाउनु आफैँमा ठूलो उपलब्धि भएको बताउनुभयो । कति विद्यार्थीहरूले झूटो विवरण बुझाएर छात्रवृत्ति लिने प्रयास भएको बताउँदै उहाँले छात्रवृत्ति रकमको भरपुर सदुपयोग गरी आफ्नो अध्ययन पूरा गर्न विद्यार्थीलाई प्रेरित गर्नुभयो ।
ख्वप विश्वविद्यालय भक्तपुरवासीको मात्र नभई सबैको साझा माग हो भन्दै उहाँले सरकारले छिटोभन्दा छिटो ख्वप विश्वविद्यालय सञ्चालनको लागि स्वीकृति प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
इन्जिनियरहरूले पैसा कमाउने र जागिर पाउने मात्र नभई समाजमा स्थापित इन्जिनियर भई काम गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरूले नैतिकता, अनुशासन र कर्तव्यप्रति दृढ भएर सोच्नुपर्ने बताउनुभयो ।
उच्च शिक्षा हासिल गर्न बर्सेनि लाखौँ विद्यार्थी विदेसिँदै गर्दा नेपालका विश्वविद्यालयहरूमा विद्यार्थी सङ्ख्या घट्दै गएको र कलेजहरूसमेत सङ्कटमा पर्दै गएको बताउँदै उहाँले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर नेपालमै बनाउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नंं ९ का वडाध्यक्ष तथा छात्रवृत्ति सिफारिस समितिका संयोजक रवीन्द्र ज्याख्वले नगरपालिकाले सञ्चालन गरेका विभिन्न शैक्षिक संस्थाहरूले त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई वार्षिक ४ करोडभन्दा बढी रकम बराबरको छात्रवृत्ति वितरण गर्दै आइरहेको बताउँदै नयाँ पुस्तालाई प्राज्ञिक रूपबाट योग्य बनाई समाजप्रति उत्तरदायी बनाउने कलेज स्थापनाको उद्देश्य रहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले विद्यार्थीहरूले विषयगत ज्ञान सँगसँगै व्यवहारिक ज्ञान हासिल गरी इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट कार्य गर्न मार्गनिर्देशन गर्नुभयो । उहाँले छात्रवृत्ति रकमको सदुपयोग गरी देश र समाजप्रति थप जिम्मेवार भई अध्ययन गर्न प्रेरित गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुको उद्देश्यमाथि प्रस्ट पार्दै छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूले समाज र देशको लागि सेवा गर्ने विषयमा पनि चिन्तन गर्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापति र लेखा शाखा प्रमुख काजीबहादुर पञ्चले पनि बोल्नुभएको थियो ।
Leave a Reply