भर्खरै :

शोभा प्रधान सांस्कृतिक स्तर उँचो भएकी क्रान्तिकारी नेतृ

शोभा प्रधान सांस्कृतिक स्तर उँचो भएकी क्रान्तिकारी नेतृ

‘स्मृतिमा कामरेड शोभा’ पुस्तकको परिचर्चा
भक्तपुर, ३ साउन । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा ‘स्मृतिमा कामरेड शोभा’ पुस्तकको परिचर्चा कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको सम्झना गर्नुका साथै उहाँको जीवन, व्यक्तित्व र योगदानबारे चर्चा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले शोभा प्रधानलाई सांस्कृतिकस्तर उँचो भएका क्रान्तिकारी महिलाको रूपमा स्मरण गर्नुभयो ।
शोभा प्रधान २०–२५ वर्ष डेरामा बस्नुभयो तर कहिल्यै गुनासो गर्नुभएन, उहाँ जहाँसुकै बसे पनि मिलेर बस्न सक्ने मिलनसार स्वभावका असल व्यक्तित्वको रूपमा सचिव सुवालले सम्झना गर्नुभयो ।
शोभा प्रधानको स्तन क्यान्सर उपचारमा सघाउनुहुने डाक्टर गोविन्दप्रसाद शर्माले पछि ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ स्थापनामा पनि सघाएको सन्दर्भ उहाँले जोड्नुभयो ।
“शोभा प्रधान तडकभडक र गरगहनाको मोहमा कहिल्यै लाग्नुभएन । सरल जीवन, राजनीतिक सुझबुझ र बौद्धिक विकासमा जोड दिने एक सङ्गठकको रूपमा प्रधानले जीवन व्यतीत गर्नुभयो”, सचिव सुवालले बताउनुभयो ।
शोभा प्रधान कार्यकर्ताहरूलाई मार्गनिर्देश गर्नुहुन्थ्यो र सबैका छोराछोरी विदेसिन नपरोस् भन्ने कामना गर्नुहुन्थ्यो भन्दै सचिव सुवालले शोभा प्रधानलाई महिला कार्यकर्ताको निम्ति प्रेरणा र ऊर्जाको स्रोतको रूपमा सम्मान व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका रोशनमैयाँ सुवालले शोभा प्रधानलाई नेमकिपाविरुद्ध राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको मैदानका एक कुशल योद्धाको रूपमा स्मरण गर्नुभयो ।
अरूको दुःख देख्न नसक्ने दयालु स्वभावका शोभा भाउजू घमण्ड गर्न नजान्ने असल महिला हुनुहुन्थ्यो, उहाँले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष सृजना सैँजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य गीता काफ्ले, सङ्घका उपाध्यक्ष देविका दनेखू, सरस्वती सिंख्वाल, मनशोभा त्वाती, सानुमाया लागेजू, मीना प्रजापति, चनमती बखुन्छेँ, जसतारा कोजू, मञ्जु लाखा, मीरा दुगुजू, तारा शाक्यलगायतले पुस्तकबारे चर्चा एवं अध्ययनको सार प्रस्तुति गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *