भर्खरै :

नगर प्रमुख सुनिल प्रजापतिसँग बाल विकास इङ्गलिस स्कूलका विद्यार्थीहरूको साक्षात्कार

नगर प्रमुख सुनिल प्रजापतिसँग बाल विकास इङ्गलिस स्कूलका विद्यार्थीहरूको साक्षात्कार

भक्तपुर, ४ साउन । भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिसँग भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित बाल विकास इङ्गलिस सेकेन्डरी स्कूलको कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीहरूले बिहीबार साक्षात्कार गरेका छन् ।
विद्यार्थीहरूलाई भक्तपुर नपामा स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरको सङ्क्षिप्त इतिहासबारे अवगत गराउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरूको शैक्षिक विशेषताहरूबारे जानकारी दिनुभयो ।
सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने, २१ औँ शताब्दीको लागि योग्य र देशभक्त नागरिक तयार गर्ने तथा समाजलाई बुद्धिजीवीकरण गर्ने भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरूको मुख्य उद्देश्य भएको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खेलकुदलगायतका क्षेत्रमा भक्तपुर देशकै सक्रिय र चलायमान नगरपालिकाको रूपमा परिचित रहेको बताउनुभयो ।
ख्वप सर्कल आफैँमा एउटा विश्वविद्यालयको रूपमा सञ्चालनमा रहेको बताउँदै उहाँले विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले विशेष जोड दिँदै आएको बताउनुभयो ।
शिक्षा क्षेत्रमा धेरै पछाडि परेको भक्तपुर आज देशभरिका विद्यार्थीहरूको उत्कृष्ट गन्तव्यस्थलको रूपमा विकास गर्न भक्तपुरका अग्रजहरूको उल्लेखनीय योगदान रहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले वार्षिक ४ करोडभन्दा बढी छात्रवृत्ति वितरण गरी विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा महत्वपूर्ण सहयोग प्रदान गर्दै आइरहेको बताउनुभयो ।
विद्यार्थीको जिज्ञासामाथि प्रस्ट पार्दै प्रमुख प्रजापतिले भन्नुभयो, “विद्यार्थीहरूले परीक्षामा चिट चोर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो ।” भक्तपुरमा अध्ययनरत विद्यार्थीहरूलाई भक्तपुरको इतिहास, पहिचान र विशेषताबारे जानकारी दिन ९२ वटै विद्यालयहरूमा स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री लागू गर्दै अध्ययन अध्यापनमा जोड दिँदै आएको उहाँले बताउनुभयो ।
अनुशासित विद्यार्थी अरूको तुलनामा सबै क्षेत्रमा अगाडि बढ्ने बताउँदै उहाँले विद्यार्थीहरूलाई देश र समाजप्रति जिम्मेवार भई अगाडि बढ्न मार्गनिर्देश गर्नुभयो ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरूले नगर प्रमुख प्रजापतिसमक्ष घरदैलो नर्सिङ सेवा सञ्चालनका फाइदा र चुनौती, ख्वपको पहिचान पाठ्य सामग्री उपलब्धता, छात्रवृत्ति वितरण, विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा नगरपालिकाको भूमिका, ख्वप विश्वविद्यालय सम्बन्धन प्राप्त गर्न ढिलाइ हुनुका कारण, भक्तपुर नपाको आत्मनिर्भरताको सूत्र, विद्यालयमा खेल शिक्षक वा खेल प्रशिक्षकको बन्दोबस्त आदिबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रमपश्चात् नगर प्रमुख प्रजापतिले विद्यालयको लागि नपाबाट प्रकाशित प्रकाशनहरू मायाको चिनोको रूपमा प्रदान गर्नुभएको थियो भने विद्यार्थीहरूले पनि नगर प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *