भर्खरै :

शासकहरू नैतिकवान् र इमानदार भए मात्र देश विकास सम्भव

  • श्रावण ५, २०८०
  • सिम्रिक
  • विचार
शासकहरू नैतिकवान् र इमानदार भए मात्र देश विकास सम्भव

प्रकृतिमा रहेका सम्पूर्ण प्राणी र वनस्पतिले प्रकृतिलाई जोगाउन, प्राकृतिक वातावरण या चक्रलाई सन्तुलनमा राख्न आ–आफ्नो ठाउँबाट सघाइरहेका हुन्छन् । यही प्राकृतिक सन्तुलनबाट सबै प्राणी, वनस्पतिले सहज जीवनयापन गर्न सघाइरहेका हुन्छन् । तर, यहाँ शासकहरू देशघाती राजनीतिक सर्प भएर निस्के । ती सर्परूपी शासकहरूले संविधानको भावना र मर्ममा कुल्चे† समृद्धि र विकासको नाममा नेपाल र नेपाली जनतालाई डस्ने काम गरे ।
प्रम दाहालले देशको स्वाभिमानमाथि आँच आउने काम गरे । उनले असार १८ गते लेखक किरणदीप सिन्धुद्वारा लिखित पुस्तक (रोडस् टु द भ्याली र द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल)को विमोचनमा व्यापारी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गरेको र धेरै पटक दिल्ली गएको बताएका थिए । दाहाललाई प्रम बनाउन प्रितम सिंह दिल्ली कति पटक गए† उनले कुन कुन भारतीय शासक नेतासँग कहाँ कहाँ भेटेर के के कुरा गरे अनि नेपालका कुन कुन नेतासँग कहाँ कहाँ भेटेर के के कुरा गरे त्यो भने बाहिर आएको छैन ।
विदेशीहरूको नुन खाइसकेपछि देशको हितविपरीत काम गर्न नेपालका शासकहरू बाध्य हुन्छन् र देशघाती काम गर्न अघि सर्छन् । अनि उनीहरू कसलाई कहाँ बजार्ने, क–कसलाई जुताउने, क–कसलाई फुटाउने, भिडाउने आदि काम गर्छन् । प्रम दाहाललाई विगतमा यसरी नै नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले नेपालको कुनै पनि भूमि भारतले अतिक्रमण नगरेको, कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतकै भूमि भएको भनाइ उल्लेखित आफ्नो पुस्तक ‘दि काठमाडौँ डिलेमा’ पुस्तक विमोचन गराए र फसाएका थिए ।
देशघाती शासकहरूले ललिता निवासमा पनि आँखा गाडे । उनीहरूले ओम्नी, यती, ठमेलको छायाँदेवी कम्पलेक्समुनिको सांस्कृतिक पोखरीमा आँखा गाडे । उनीहरूले जङ्गल, नदी, बगर, पर्ती जग्गामा आँखा गाडे । उनीहरूले महाकाली, कर्णाली, गण्डकी, अरूण, कोसी आदि भारतलाई दिए । उनीहरूले तराईका उखु किसान, गरिब, अशिक्षित, मिटरब्याजीहरूलाई ढाडै सेक्ने गरी पीडित बनाए । उनीहरूले कालाबजारिया, व्यापारी, उद्योगपतिमार्फत महँगी बढाएर, कृत्रिम अभाव सिर्जना गरेर नेपाली जनतालाई दुःख दिए । उनीहरूले भ्रष्ट कर्मचारी र प्रशासन यन्त्रमार्फत देशको सम्पत्तिमा रजाइँ गरे । उनीहरूले विदेशी संस्कृतिमा धावा बोले । उनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर पैसाको जोहो गरे । त्यस्तै उनीहरूले देशलाई फिजीकरण, सिक्किमीकरण, भुटानीकरण गर्नसक्ने देशघाती नागरिकता विधेयक पास गरेर देशको अस्तिवमा आँच पु¥याउने काम गरे† देशलाई रणभूमिमा परिवर्तन गर्ने देशघाती, एमसीसी पास गरेर नेपाल र एसियालाई सङ्ग्रामस्थल बनाउने काम गरे ।
हिजो नेपाल र नेपाली जनताको सेवा र हितको लागि जीवनमरणको सङ्घर्ष गर्ने र जेल बसेका ती नेताहरूलाई पथभ्रष्ट बनाउन, विचार, सिद्धान्त र व्यवहारबाट विमुख गराउन विदेशी दलालहरूले एनजीओ, आइएनजीओ प्रयोग गरेर पथभ्रष्ट बनाउने काम गरे । ललिता निवास जग्गा हिनामिना प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक, एमसीसी, महाकाली सन्धि आदि यसका दृष्टान्त हुन् ।
तिनीहरूले नेपाल र नेपाली जनतालाई पटकपटक अमानवीय नाकाबन्दी गरेर दुःख दिने, नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने, कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत थुप्रै ठाउँमा नेपाली भूमि अतिक्रमण गर्ने, लक्ष्मणपुर, महेशपुर, खुर्दलोटनलगायतका बाँध, तटबन्धहरू बनाएर नेपाली भूमि डुबानमा पार्ने काम गरे ।
नेपाली समाजमा सर्पको खुट्टा सर्पले मात्रै देख्छ भन्ने लोक कथन छ । सर्पको खुट्टा सर्पले देख्छ भनेजस्तै विगतमा आफूहरूले सत्ता प्राप्ति र अनेक अनुचित फाइदाका लागि भित्रभित्रै गरेका राष्ट्रघातका कर्तुतहरू उनीहरूलाई थाहा नभएको होइन । उनीहरूबिच स्वार्थ नमिल्दा, पद र सुविधामा भाग नपाउँदा एकआपसमा विदेशीद्वारा पालित पोषित, परिचालित, भ्रष्टाचारी, विदेशीलाई गुप्त सूचना दिने, अपहरणकारी, लम्पसारवादी आदि तल्लोस्तरमा आएर आरोप प्रत्यारोप गरेको कसैबाट लुकेको छैन । यस्ता देशघातीहरू अहिले एकपछि अर्काे उदाङ्गिँदै छन् ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनयुद्धताका नै प्रम दाहाललाई देशको परिस्थिति तयार नहुँदै जनयुद्ध गरेर गलत बाटो रोजेको बताएका थिए । आखिरमा जनयुद्ध असफल भयो, माओवादीले सरकारसामु आत्मसमर्पण ग¥यो र क्रान्तिको बाटो छोड्यो । उनीहरू जनताको बिचमा आँखामा छारो हाल्थे । उनीहरूले देशलाई खोक्रो पार्ने, भ्रष्टाचारी, घुस्याहा, लुटेरा, शोषक, देशघाती आदिलाई नछाड्ने भने तापनि व्यवहारमा त्यस्तो काम गर्दैनन् । एकातिर उनीहरू मालिकको निर्देशन र आदेशबिना त्यसो गर्न सक्दैनन् भने अर्काेतिर उनीहरूले यी शासकहरूलाई जेल कोच्न सक्दैनन् । त्यो हैसियत र आँट उनीहरूमा छैन । उनीहरूमध्ये कसैले अरू बाँकीलाई अपराधी भन्दै जेल कोचे भने आफू पनि सिधिन्छ । गलत सोच, विचार, लोभ त्यागेर नेपाल र नेपाली जनतालाई डस्न छोडेर नेपालको संविधानको भावना र मर्मअनुसार नैतिकवान तथा इमानदार भएर अगाडि बढेमा नेपाल समृद्धि र विकासको बाटोमा अगाडि बढ्नेछ । त्यसले नेपाल र नेपाली जनता सबैको हित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *