भर्खरै :

काँडेदार जिब्रोका धनी मोदी मणिपुर हिंसालाई सम्बोधन गर्न असफल

काँडेदार जिब्रोका धनी मोदी मणिपुर हिंसालाई सम्बोधन गर्न असफल

प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एकपटक आफूले प्रतिनिधित्व गर्ने राजनीतिको कुरूपता प्रकट गरेका छन् र त्यसको पर्यायवाची बनेका छन् । मणिपुरमा भएको बहुसङ्ख्यकको हिंसामा उनले मौनता तोडे भन्नु गलत हुनेछ । वास्तवमा आफ्नो शैलीमा उनले आफ्ना समर्थकहरूलाई ‘यौन हिंसाका घटनाहरूविरुद्ध कार्य नगरेको’ आरोप लगाउँदै विपक्षी–शासित राज्यहरूलाई लक्षित गर्न उक्साए । उनले आफ्ना अनुयायीहरूलाई मणिपुरका जनताले भोगेको हिंसालाई चिन्न वा दोषी महसुस गर्न आवश्यक छैन भनी बताए । बरु विपक्षीविरुद्ध आक्रामकरूपमा अघि बढ्नुपर्छ ।
मोदीको बयानपछि अहिले जब कुकी महिलाहरूमाथि भएको सामूहिक क्रूरताको तस्बिरले विश्व स्तब्ध भइरहेको बेला बीजेपी नेताहरू र उनको सोसल मिडिया सेनाले काङ्ग्रेसशासित राज्यहरूमा महिलाहरूमाथि हुने हिंसाको विरुद्धमा किन बोल्दैनन् भनेर प्रश्न गर्दै काङ्ग्रेस नेताहरूलाई आक्रमण गर्न थाले । मणिपुरका कुकी जनताले झन्डै तीन महिनादेखि भोगेको बहुसङ्ख्यकको हिंसाको मुद्दालाई छायामा परेर महिला हिंसाको मुद्दामा सीमित गरियो । यस्तो हिंसा प्रायः सबैभन्दा डरलाग्दो ढङ्गमा भारतका सबै राज्यहरूमा र विश्वव्यापीरूपमा पनि महिलाहरूका लागि दैनिक वास्तविकता हो ।
घटनाको झन्डै तीन महिनापछि दुई कुकी महिलालाई भिडले नग्न पारेर यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । एफआईआरमा घटनामा तीन जना महिला पीडित भएको बताइएको छ । यो भिडियोले मानिसहरूलाई त्रसित पा¥यो र अविश्वास र आक्रोशपूर्ण सार्वजनिक प्रतिक्रियाहरू जन्मायो । तर, भारतको प्रधानमन्त्रीको बारेमा पनि यस्तै भन्न सकिन्छ र ? वा प्रदेशको मुख्यमन्त्री ? कर्नाटक विधानसभा चुनावको प्रचारको क्रममा मणिपुरमा तीन दिन बिताएका गृहमन्त्रीको नाम उल्लेख गर्न आवश्यक छैन ? के हामीले ती अति विशिष्टहरूले पनि आम मानिसले जस्तै यो घटनाको बारेमा भिडियोमार्फत मात्र थाहा पाएका र कुकी जनतामाथि भएको हिंसाबारे अनभिज्ञ छन् भन्ने विश्वास गर्ने अपेक्षा गरिएको हो ?
यदि त्यसो हो भने, हामीले भारतको केन्द्र र राज्य सरकारको उद्देश्यमाथि प्रश्न उठाउनुपर्छ । मणिपुरका महिला हिंसाका पीडित महिलाहरूले प्रहरी र राष्ट्रिय महिला आयोगमा दर्ता गरेपछि ती उजुरीहरूबारे उनीहरू राम्ररी जानकार थिए भन्ने स्पष्ट छ । यसले मुख्यमन्त्रीले कुकीहरूविरुद्ध बहुसङ्ख्यकको हिंसालाई सक्रियतापूर्वक उक्साएको, हिंस्रक मेइटी समूहहरूलाई समर्थन गरेको, यी ज्ञात तथ्य हुन् र यिनलाई निरन्तरता देऊ भनेको अर्थ लाग्न जान्छ ।
आफ्नो भाषणको क्रममा, मोदीले मणिपुर हिंसामा छोटकरीमा छुनुअघि राष्ट्रलाई गहिरो असर गर्ने मुद्दाप्रति आफ्नो उदासीनता र घृणा प्रदर्शन गर्दै साउनको महिना (मनसुन) र युवाहरूको डिजिटल इन्डियासँगको सम्बन्धको बारेमा खुसी साथ कुरा गरे । मोदीको भनाइले उनको धूर्तता र आत्मविश्वासलाई प्रकट गर्दछ कि उनले आफ्ना निर्वाचन क्षेत्रहरूको संवेदनालाई अपमानित गरेका छन्, उनीहरूलाई आफ्नो धूर्तता र दुष्टता स्वीकार गर्न बाध्य तुल्याएको छ ।
यौन दुव्र्यवहार र हत्या हिंसाका रूपहरू भए तापनि आफ्नो पहिचानका कारण सम्पूर्ण समुदायविरुद्ध हुने हिंसा फरक र बढी गम्भीर श्रेणीमा पर्दछ । मणिपुरमा दुव्र्यवहार र बलात्कार गरिएका महिलाहरू कुकी थिए र आक्रमणकारीहरू मेइती समुदायका थिए । यौन दुव्र्यवहार राज्य सरकारको मौन समर्थनका साथ मेइती समूहहरूले उक्साएको बहुसङ्ख्यक हिंसाको हिस्सा थियो ।
मेइती महिलाको बलात्कार र हत्याको झूटो समाचारले मेइती जनतालाई यी महिलामाथि आक्रमण गरेर बदला लिन उक्साएको दाबी गर्नु पनि गलत हो । कुकी महिलामाथि हुने यौन हिंसालाई ढाकछोप गर्ने र त्यसका लागि बहाना खोज्ने उद्देश्यले फेक न्युज हुने सम्भावना बढी हुन्छ । तसर्थ, झूटा समाचार फैलाउने र कुकी महिलाहरूमाथि आक्रमण गर्नेहरू उही थिए – हिंसात्मक मेइती समूह जसले कुकीहरूविरुद्धको हिंसामा भाग लिन आम मेइती व्यक्तिहरूलाई पनि परिचालन ग¥यो ।
इन्डियन एक्सप्रेसका अनुसार हिंसा गर्ने भिडले मात्रै होइन, राज्य प्रहरीले पनि महिलालाई भिडको जिम्मा लगाएर भाग लिएको थियो । कसै–कसैले दाबी गरेअनुसार उनीहरूलाई भिडले जबरजस्ती खोसेको थिएन ।
प्रधानमन्त्रीले हिंसाको एक हिस्सा भएकोले बोल्ने आशा गर्नु गलत थियो र सायद यसको लागि उनको राजनीतिको ब्रान्ड जिम्मेवार छ । गुजरातमा मुस्लिमविरुद्धको नरसंहारको नेतृत्व गर्दा नरेन्द्र मोदी अहिले मणिपुरका बिरेन सिंहकै स्थितिमा थिए ।
मोदी अस्वीकृतिका विशेषज्ञ हुन्, तर अझ डरलाग्दो कुरा के छ भने उनी हिंसात्मक भिडलाई परिचालन गर्छन् र नेतृत्व गर्छन् । न्याय खोज्ने र मुद्दाहरू छलफल गर्न चाहनेहरूलाई आक्रमण गर्छन् । सत्तामा उनको निरन्तरता भनेको मानिसहरूलाई वास्तवमै मानव बनाउने सबै चीजहरूको मृत्यु हो ।
(लेखक अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा पढाउँछन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *