भर्खरै :

युनेस्को के पूर्वेली वास्तुविरुद्ध पश्चिमेली वास्तुको पहरेदार हो ?– १

युनेस्को के पूर्वेली वास्तुविरुद्ध पश्चिमेली वास्तुको पहरेदार हो ?– १

युनेस्को भनेको के हो ? हाम्रा पुर्खाले बनाएको सम्पत्ति उसको खटनमा किन ? हाम्रै सीप, प्रविधि र सामग्रीले मर्मत, जीर्णोद्धार र पुनःनिर्माण गर्नुपर्छ ।
यस्तै आसयको अभिव्यक्ति केही वर्षपहिले भक्तपुर नपाले आयोजना गरेको सम्पदा संरक्षण (सम्भवतः ५५ झ्याल दरबार) सम्बन्धी एक कार्यक्रममा एक सम्पदाविद्ले जङ्गिएर व्यक्त गरेका थिए ।
भक्तपुर लाय्कुस्थित न्हाय्कं झ्यः दरबार अर्थात् सिंहध्वाका दरबारको पुनःनिर्माणको सन्दर्भमा उक्त घटना स्मरण भएको छ ।
यस दरबारको सग्लोे पुरानो एउटा चित्र नेपालका एक प्रख्यात चित्रकार राजमान सिंह चित्रकार (सन् १७९७–१८६५/विसं १८५४–१९२२) ले सन् १८४४ (वि.सं. १९०१) मा ‘भक्तपुरको दरबार’ (न्हाय्कं झ्याल र सिंहढोका र दायाँतिर लामपाटी) भनेर चित्र लेखेका थिए जुन बेलायतका हड्सनको सङ्ग्रहमा छ ।

एडवार्ड अलेक्जेन्डर पावेल

त्यस्तै, सन् १८५३ (वि.सं. १९१०) मा हेनरी एम्ब्रोस ओल्डफिल्ड (सन् १८२२–१८७१/विसं १८७९–१९२८) ले ‘चुमालीचोक जाने द्वार’ भनी चित्र लेखेका थिए ।
भक्तपुर नपाले ७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त दरबार प्राप्त विश्वसनीय पुराना तस्बिरको आधारमा पुरानै वास्तु शैली र स्वरूपमा पुनः निर्माण गर्न खोजेको बताइरहेको छ । यसको लागि पुरातत्व विभागबाट स्वीकृति प्राप्त गरिसकेको छ । लाय्कु विश्व सम्पदा सूचीमा समावेश भएकोले युनेस्कोको पनि सहमति, अनुमति वा स्वीकृति चाहिने रहेछ । तर, नेपाल सरकारले ख्वप विश्वविद्यालय अड्काएजस्तै युनेस्कोले न्हाय्कं झ्यः दरबारको पुनःनिर्माणलाई अड्काइराखेको छ । परिणाम, भक्तपुर लाय्कु विरूपको राणाकालीन शैलीको दरबार टेकोको भरमा ठडिरहेको छ ।

राजमान सिंह चित्रकार

काङ्ग्रेस र कम्युनिस्ट भनिएका पुँजीवादी सरकारले नेमकिपाको बहुमतको भक्तपुर नपालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न नदिनु ‘ओपन सिक्रेट’ हो । भक्तपुर नपाले सम्पदा संरक्षण, शिक्षाको विकास, स्वास्थ्य सेवालाई जनताको पहुँचमा पु¥याएर संविधानको ‘समाजवादउन्मुख’ भावनालाई व्यवहारमा ल्याउन खोजेबाट सत्तामा जाने पुँजीवादी पार्टीहरूलाई निकै अप्ठ्यारोमा पु¥याइसकेको छ । लाज र नैतिकताको अर्थ थाहा नभएर मात्र तिनीहरू आफूलाइ अझै स्वघोषित राजनैतिक व्यक्ति ठानिरहेका छन् । तर, युनेस्कोलाई नेमकिपाको बहुमत भएको भक्तपुर नपाप्रति कुनै इष्र्या, द्वेष, वैर र पूर्वाग्रह राख्नुपर्ने देखिँदैन । उसले त विश्वकै मानवनिर्मित धरोहरको संरक्षणमा भक्तपुर नपाले गरिरहेको कार्यलाई उत्साहित, प्रोत्साहित, सहयोग र साथ दिनुपर्ने सबैको सामान्य बुझाइ छ । व्यवहारमा त्यसको विपरीत व्यवहार हुनु युनेस्कोका पदाधिकारीहरूको कमजोरी हो वा बदनियत ? सम्पदाप्रेमीहरूले निक्र्याेल गर्नुपर्ने भएको छ ।


संयुक्त राष्ट्र सङ्घको उद्देश्य र लक्ष्य प्राप्त गर्ने शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन युनेस्को (UNESCO) एउटा महत्वपूर्ण निकाय हो । यसले विश्व मानव जातिको सभ्यता र संस्कृतिका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदालाई संरक्षण र संवद्र्धन गर्न विश्व सम्पदा (World Heritage) सूचीमा सूचिकृत गर्छ । प्राकृतिक, ऐतिहासिक–सांस्कृतिक र दुवैको मिश्रित गरी तीन वर्गीकृत सूचीमध्ये नेपालका केही सम्पदाहरू सूचिकृत गरिएका छन् । त्यसमा ‘काठमाडौँ उपत्यका’ को नाममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न सम्पदा परेका छन् । जस्तै :– काठमाडौँ, ललितपुर र भक्तपुरका दरबार क्षेत्र, स्वयम्भू, पशुपति, चाँगुनारायण आदि ।

हेनरी एम्ब्रोस ओल्डफिल्ड

सबै सम्पदाका आ–आप्mनै महत्व र विशेषता हुन्छन् । त्यस्तै भक्तपुर दरबार क्षेत्रको पनि आप्mनै महत्व र विशेषता छ । भक्तपुर दरबार क्षेत्रको महत्ताको चर्चा गर्दा प्रायःले एडवार्ड अलेक्जान्डर पावेल (सन् १८७९–१९५७) को भनाइलाई उल्लेख गर्ने गर्छन् ।
पहिलो विश्वयुद्धमा संरा अमेरिकाको युद्ध संवाददाता पावेलले विश्वका धेरै देश घुमेका छन् । उनको सन् १९२९ मा प्रकाशित The Last Home of Mystery पुस्तकमा भादगाउँबारे यसरी लेखेका छन्–
‘The golden temples of Siam, the pagodas of the summer palace in Peking, the sculpture-crowded terraces of Boroboedor, the grotesque structure which line the bank of the Ganges at Benares, Samarkand’s wealth of colors, the carvings at Angkor, the torii of the Shinto sanctuaries in Japan-Bhatgaon holds vague suggestions of them all without actually resembling any of them. I who have seen all, or nearly all, the famous cities and buildings of the world, gives you my world, give you my world that were there nothing else in Nepal save the Durbar Square of Bhatgaon it would still be amply worth making a journey half-way round the globe to see. I don’t expect to be believed, of course that would be expecting too much of human credulity and of the human imagination but it is at least a satisfaction to know that those few white men who have seen this hidden city will admit that I am not exaggerating.’

सन् १८५३ (वि.स. १९१०) मा हेनरी एम्ब्रोस ओल्डफिल्डले लेखेको चित्र, “चुमालीचोक जाने द्वार” ।

(सियाम (थाइल्यान्डको प्राचीन नाम) का सुनौला मन्दिर, पेकिङ (चीन) को ग्रीष्मकालीन छाने मन्दिर, बोरोबोइडर (जाभा, इन्डोनेसिया) को मूर्तिले भरिभराउ छाना, बनारस (भारत) को गङ्गा नदीको किनारमा बनाइएका भव्य स्थापत्य, रङ्गले शोभायमान समरकाण्ड (उज्वेकिस्तान), अङ्कोर (कम्बोडिया) को बुट्टेदार मन्दिर र जापानको शिन्तो पवित्रधामको ध्वाका । वास्तवमा यीमध्ये कसैसँग पनि भादगाउँको मेल खाँदैन । तथापि, भादगाउँले यी सबैको झलक दिइरहन्छ । मैले यी सबै ठाउँ हेरिसकेको छु अथवा संसारका सबैजसो प्रसिद्ध नगर र संरचना अवलोकन गरिसकेको छु । त्यस आधारमा म ठोकेर भन्न सक्छु, भादगाउँको दरबार क्षेत्रबाहेक नेपालमा त्यस्तो कुनै ठाउँ छैन जहाँ पुग्दा आधा विश्व घुम्नुभन्दा बढी हुन्छ । मेरो कुरा सबैले पत्याइहाल्ने अपेक्षा म गरिहाल्दिनँ । किनभने, त्यसो गर्नु मानिसको विश्वास र कल्पनशीलताबाट बढी अपेक्षा गर्नु हुनेछ । तर, कम्तीमा यो लुकेको सहर हेरिसकेका निकै थोरै गोराहरूले मेरो यो प्रभाव अतिरञ्जना होइन भनी स्वीकार्ने कुराले मलाई सन्तोष अनुभव हुनेछ ।)
यसरी विश्वकै एक उत्कृष्ट, महत्वपूर्ण र अद्वितीय भक्तपुर दरबार क्षेत्र प्राकृतिक र मानवीय विध्वंशका कारण बरोबर कुरूप र विभत्स अवस्थामा पुग्ने गरेको छ । त्यसलाई मर्मत, जीर्णोद्धार र पुनःनिर्माण गर्दै पुरानै स्वरूप र मनोरम बनाउन भक्तपुरले हदैको प्रयास गरिरहेको छ । यसमा युनेस्कोले साथ सहयोग दिन कञ्जुस्याइँ गर्नु विडम्बना भएको छ ।

न्हाय्कं झ्यः दरबारको सबभन्दा पुरानो चित्र, राजमान सिंह चित्रकार, “भक्तपुरको दरबार” विसं १९०१ ।

दरबार क्षेत्रको न्हाय्कं झ्यः दरबारका पुराना मौलिक चित्र इन्टरनेटमा यत्रतत्र पाइन्छ । विशेषगरी सन् १८४४ मा राजमान सिंह चित्रकार र पछि हेनरी एम्ब्रोस ओल्डफिल्डले बनाएका चित्र प्रामाणिक र आधिकारिक मानिएका छन् । त्यसमा हिजो एउटै खण्डको दरबारलाई अहिलेको राष्ट्रिय चित्र सङ्ग्रहालय र ‘लाल’ बैठक गरी दुई फरक वास्तु र स्वरूपको दुई खण्डमा बनाइएको स्पष्ट दृष्टिगोचर हुन्छ । ती आधिकारिक चित्रकै आधारमा भक्तपुर नपाले न्हाय्कं झ्यः दरबारलाई पुरानै स्वरूपमा पुनःनिर्माण गर्न पुरातत्व विभागबाट स्वीकृति लिइसकेको वर्षौँ भइसकेको छ । तर, युनेस्कोले वर्षौँदेखि नेपालकै एक अद्वितीय सम्पदाको पुनःनिर्माण ‘जस्ताको तस्तै’ अर्थात् अमौलिक र कुरूप नै बनाउनुपर्ने अड्डी लिई अड्काइराखेको छ । किन ? जिज्ञासा, आशङ्का र रहस्यमय प्रश्न उठेको छ ।
कुनै सम्पदा र स्मारकको पुनःनिर्माण पुरानै वस्तु, सामग्री प्रयोग गरेरमात्र गर्नुपर्ने हो भने त्यो अब सम्भव छैन । तर, पुरानै वास्तु स्वरूप र शैलीमा गर्न सकिन्छ र गर्नु पनि पर्छ । यदि न्हाय्कं झ्यः दरबारमा प्रयोग भएका पुराना सामग्री नभएकोले राणाकालमा विरूप ढङ्ग र शैलीमा निर्माण गरेकोलाई नै मान्यता दिइराख्ने हो भने त्यो दरबार ऐतिहासिक र पुरातात्विक हुन सक्दैन । सबैलाई थाहा छ, राणाकालमा त्यो एउटै दरबारको पुनः निर्माण दुई खण्ड र दुई स्वरूपमा गरिएको थियो । त्यसका पुरानै वस्तु र सामग्रीमध्ये कतिपय प्रयोग गरिएन, नयाँ सामग्री नयाँ शैलीमा पुनःनिर्माण गरिएको आज पनि स्पष्टै देखिन्छ । युनेस्कोको मत ‘लाल बैठक’ खण्ड राणाकालमा बनाइएको पश्चिमेली वास्तु स्वरूप जस्ताको तस्तै बनाउनुपर्ने र १९९० सालको भूकम्पपछि राणाकालमै बनाइएको नयाँ स्वरूपको पश्चिमी खण्ड पनि यथावत बनाउनुपर्ने रहेको छ । यसको स्पष्ट अर्थ, मल्लकालीन दरबारको स्वरूप राणाकालमा बिगारेर विरूप बनाए पनि स्वीकार्य छ तर मौलिक शैलीमा पुनःनिर्माण अस्वीकार्य छ । यो कस्तो पुरातात्विक नीति हो ? यो त पूर्वीय मौलिक वास्तु शैलीविरुद्ध पश्चिमी शैली थोपर्ने जबरजस्ती हो ।
सन्दर्भमा, सिंहध्वाका अर्थात्् न्हाय्कं झ्यः दरबार कहिले भत्क्यो भनी उठाएको जिज्ञासा (‘भक्तपुर’ मासिक, सङ्ख्या २३६, वि.सं. २०७३ कार्तिक) मा अझै कुनै इतिहासविद्, भूकम्पविद्, पुरातत्वविद्को दृष्टि र कानमा परेजस्तो लागेन अन्यथा जिज्ञासा समाधान हुन्थ्यो ।
प्राप्त पुराना तस्बिर–चित्रको आधारमा त्यो दरबार कुनै भूकम्पमा भत्केको नभई भत्काइएको हुनुपर्छ । पङ्क्तिकारले भत्केको वा भत्काइएको प्रमाण फेला पार्न नसके पनि सन् १८५८ मा राणाकालमा उक्त ‘लाल बैठक’ खण्ड पश्चिमेली वास्तु शैलीमा पुनःनिर्माण गरिएको विवरण भने ‘भक्तपुर’ को उक्त अङ्कमा दिइसकेको छ । उक्त खण्ड पुनःनिर्माण गर्नुपर्नाको ‘कारण’ बारे विज्ञ जानकारबाट सहयोग हुने अपेक्षा अझै छ । यद्यपि, त्यो दरबार सन् १८५६ र सन् १८५८ को बिचमा नयाँ स्वरूपमा बनाइएको तथ्य ओल्डफिल्डको निम्न दुई चित्रले दिन्छ –
सन् १८५६ र १८५८ को अवधिमा भक्तपुरमा कुनै भूकम्प गएको वा विध्वंसात्मक युद्ध भएको अभिलेख पाइँदैन । त्यसैले उक्त दुई चित्र लेखिएको बिचको अवधिमा सग्लो दरबारको पूर्वी खण्ड भत्काएर पश्चिमेली वास्तु शैली–स्वरूपमा ‘लाल बैठक’ बनाएको देखिन्छ ।
ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदा हिजोको पुस्ताले बिगारे पनि आजको पुस्ताले सच्याउनु पर्छ र मौलिकतालाई जगेर्ना गर्नुपर्छ । त्यो नयाँ पुस्ताको कर्तव्य हो । त्यसो नगरिएको भए पृथ्वी आज पनि चेप्टो नै रहने र सूर्यले पृथ्वीलाई घुमिरहने थियो । त्यसैले मानव सभ्यता र संस्कृतिका हराएका सम्पदाका इतिहास खोज्ने, मौलिक वास्तुलाई पुनर्जीवन दिन अध्ययन–अनुसन्धानका गतिविधि भइरहेका छन्, अध्येता र अनुसन्धाताहरू रातदिन लागिपरेका छन् । भक्तपुरले त्यही गौरव पुनर्जीवन दिने जमर्को गरिरहेको छ ।


फसि देगःको स्वरूप
पुरानो मौलिक स्वरूपलाई पुनर्जीवन दिन पुरातत्व विभागले फसि देगः (सिलु महादेव मन्दिर) को पुनःनिर्माण गरेको छ । तर, न्हाय्कं झ्यः दरबारलाई राणा शासकले स्वरूप फेरेजस्तै पुरातत्व विभागले स्वरूप फेरेर फसि देगः को पुनःनिर्माण गरिएको छ । पटक–पटक भत्केको र पुनःनिर्माण गरिएको यस मन्दिरमा पुराना सामग्री कति प्रयोग भए होलान् ? अझ आश्चर्यको कुरा, यो मन्दिरका विभिन्न स्वरूपका थुप्रै चित्र इन्टरनेटमा भेटिन्छन् तर कुनै चित्रसँग वर्तमान स्वरूप मिल्दैन । केही पुराना चित्र यस्ता छन्–
माथिका चित्रहरू हेर्दा नवनिर्मित फसि देगः फेला परेका कुनै चित्रसँग मेल खाँदैन । यो सर्वथा नौलो देखिन्छ । पुरातत्व विभागले बिना कुनै प्रमाण र आधार वर्तमान स्वरूपमा पक्कै बनाएन होला । त्यो प्रमाण र आधार सायद सार्वजनिक गरिएको छैन वा पङ्क्तिकारको जानकारीमा नभएको हुनसक्छ ।
यस मन्दिरको पुनःनिर्माणमा पुराना सामग्रीको नाममा पुरानो ब्व सिंह भने गोल्मढीको गःहिटीबाट ल्याएर पुनःस्थापना गरिएको छ । त्यसबाहेक ढुङ्गाका बुट्टेदार नयाँ खम्बाहरू, इँटा, काठ आदि निर्माणको क्रममा निर्माणस्थलमा ठड्याइराखेको सबैले देखेका छन् । बरु, अहिलेको फसि देगःको स्वरूप लाय्कुकै केदारनाथ मन्दिरसँग धेरै मिल्छ । फसि देगः र केदारनाथ मन्दिरको मौलिक स्वरूप मल्लकालमा एउटै थिए होलान् ? जानकारी र तुलनाको लागि फसि देगः र केदारनाथको चित्र माथि दिइएको छ ।
यहाँनिर युनेस्कोसँग प्रश्न छ, भक्तपुर नपालाई विरूप र विभत्स निर्माणलाई पुरानै स्वरूप र शैलीमा पुनःनिर्माण गर्न रोक्ने तर सर्वथा नयाँ स्वरूपको पुनःनिर्मित फसि देगः स्वीकार्य हुनुको कारण र आधार के हो ?
युनेस्कोले लहडमा पक्कै निर्णय गर्दैन होला । तर, नियोजित अड्डीले नेपालका सम्पदाप्रेमीहरूको चाहना र आग्रहलाई लत्याइरहनुको औचित्यको पनि कुनै तार्किक जवाफ देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *