भर्खरै :

देश र जनताको निःस्वार्थ सेवा गर्ने भावना आवश्यक

देश र जनताको निःस्वार्थ सेवा गर्ने भावना आवश्यक

भक्तपुर, १६ साउन । नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप माध्यमिक विद्यालय स्थापनाको २५ औँ वर्ष प्रवेशको (२०५६ साउन १६ गते स्थापना भएको) अवसरमा तथा ख्वप मा.वि. र शारदा क्याम्पस मा.वि.मा कक्षा ११ अध्ययनको लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बिजुक्छेँले कलेजमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीहरूले अध्ययन सँगसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको विषयमा पनि चासो राखी देश र समाजको निःस्वार्थ सेवा गर्ने भावनाले अगाडि बढ्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
राज्यको उन्नति र प्रगतिमा राजनीतिले मुख्य भूमिका खेल्ने बताउँदै उहाँले निःस्वार्थरूपमा गरिएको राजनीतिले देशको आर्थिक उन्नति गतिशील बनाउने हुँदा विद्यार्थी जीवनदेखि विद्यार्थीहरूलाई असल राजनीति गर्नेतर्फ उत्प्रेरित गरिँदै लानुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले देश विदेशको भूगोल अध्ययनले विद्यार्थीहरूमा व्यापक दृष्टिकोणको विकास हुने बताउँदै किताबी ज्ञानमा मात्र भर नपरी विभिन्न अध्ययन अनुसन्धानबाट नयाँ नयाँ पत्ता लगाउनेतर्फ विद्यार्थीहरूको चासो हुनुपर्ने बताउनुभयो ।
देशभक्तिको भावना भएका विद्यार्थीहरूले आफ्नो देशको प्रगति र उन्नतिको लागि सधैँ तत्पर भएर लाग्ने बताउँदै उहाँले विदेशबाट सिकेको ज्ञान र सीपलाई आफ्नै देशमा प्रयोग गरी उपलब्धिपूर्ण काम गर्नु आफैँमा एउटा सफलता भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले सरकारले ख्वप विश्वविद्यालयको विधेयक पारित गराउन ढिलाइ गर्न नहुने बताउंदै ख्वप विश्वविद्यालय सञ्चालन गरी विद्यार्थीहरूलाई नयाँ नयाँ विषयमा अध्ययन अनुसन्धान गराउने लक्ष्य रहेको बताउनुभयो ।
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक भागबन्डाकै कारण देश लथालिङ्ग अवस्थामा पुगेको बताउँदै उहाँले सरकारले युवालाई विदेशी भूमिमा सस्तो ज्यामी बनाउन लिएको नीतिको सबैले विरोध गर्नुपर्ने बताउनुभयो ।
ख्वप माविको जगमा उभिएर भक्तपुर नपाले नयाँ–नयाँ शैक्षिक संस्थाहरू स्थापना गर्दै सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै २१ औँ शताब्दीको लागि योग्य, देशभक्त नागरिक तयार गर्नेमा यी शैक्षिक संस्थाहरूको विशेष भूमिका रहेको सांसद सुवालले बताउनुभयो ।
ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन काण्ड प्रकरण आदिमा शासक दलको संलग्नता रहनु आफैँमा राजनैतिक नैतिकताको कमीको कारण हो, उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् विद्यालय सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेको लगानीले देश र समाजले उपलब्धि हासिल गरेको बताउँदै देशभर जनस्तरबाट शैक्षिक संस्थाहरू सञ्चालन भएमा गरिब जनताका छोराछोरीहरू महँगा विद्यालय र कलेजहरूमा गएर पढ्नुपर्ने बाध्यताको अन्त्य हुने धारणा राख्नुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालनलाई भक्तपुर नपाले प्राथमिकताका साथ अगाडि बढाइरहेको चर्चा गर्दै उहाँले अध्ययनको सिलसिलामा बर्सेनि लाखौँ विद्यार्थीहरू विदेसिँदै गर्दा नेपालका कलेजहरू सङ्कटग्रस्त अवस्थामा पुगेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् विद्यालय सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नपाबाट सञ्चालित ८ वटा कलेजहरूले भक्तपुरको मात्र नभई सिङ्गो देश विकासको लागि महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो । उहाँले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नपाको दीर्घकालीन सोच भएको बताउँदै छिटोभन्दा छिटो ख्वप विश्वविद्यालय संसद्बाट पारित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
नेपाल खुला विश्वविद्यालय व्यवस्थापन तथा कानुन सङ्कायका डीन प्रा.डा. अरहन स्थापितले नेपालमा २०१७ सालबाट खुला विश्वविद्यालय स्थापना भएको र उक्त विश्वविद्यालयले प्रविधिमा आधारित विषयवस्तुहरूको अध्ययन अध्यापनमा जोड दिँदै आएको बताउनुभयो । नेपाल खुला विश्वविद्यालयको शैक्षिक विशेषताहरूमाथि प्रस्ट पार्दै डा. स्थापितले दक्ष जनशक्ति देशकै लागि अर्थपूर्ण सम्पत्तिको रूपमा रहेको बताउनुभयो ।
ख्वप अस्पतालका मेडिकल डाइरेक्टर, डा. मजेशप्रताप मल्लले ख्वप सर्कलको गौरवपूर्ण इतिहासलाई अझ उँचो बनाउन विद्यार्थीहरूले थप मेहनत गर्नुपर्ने बताउँदै नयाँ नयाँ कुरा सिक्ने कुरामा विद्यार्थीहरू सधैँ प्रेरित हुनुपर्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले भक्तपुर नपाले ‘एक घर एक स्नातक’ को अवधारणाका साथ स्थापित कलेजहरूको उद्देश्य क्रमशः पूरा हुने क्रममा रहेको बताउँदै यी कलेजहरूले अध्ययन अनुसन्धानलाई गुणस्तरीय बनाउँदै समय सान्दर्भिक विषयहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनामा जोड दिँदै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले कक्षा ११ मा १९ सत्न्दा बढी विद्यार्थी भर्ना भएको तथ्याङ्क प्रस्तुत गर्दै विद्यार्थीहरूलाई खोजमूलक स्वअध्ययनमा सहभागी हुन र सामाजिक सञ्जालको विवेकपूर्ण उपयोग गर्न मार्गनिर्देश गर्नुभयो ।
कार्यक्रमको बिचबिचमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *