आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
(यो चिनारी बटलरको पुस्तक, विभिन्न समयमा उनले दिएका मन्तव्य तथा उनको विषयमा एडम पारफ्रे र जेसी भेन्ट्युराले लेखेका लेखहरूमा आधारित छ । ‘मजदुर’ दैनिकका आगामी केही अङ्कमा स्मेड्ली बटलरको छोटो तर ओजिलो पुस्तक ‘युद्ध कालो धन्दा हो’ को भावानुवाद प्रकाशित हुँदै छ – सं)
स्मेड्ली डार्लिङटन बटलर संरा अमेरिकाको पेन्सिल्भेनिया राज्यमा १८८१ जुलाई ३० मा जन्मेका थिए । उनका हजुरबुबा र बुबा दुवै अमेरिकाका संसद् सदस्य थिए । बटलरलाई सानैबाट खेलकुदमा रुचि थियो । परिवारलाई नसोधी १७ वर्षको उमेरमा उनी सेनामा भर्ती भए । उमेर ढाँटेर उनले सुरुमै सेकेन्ड लेफ्टिनेन्ट पद पाए । उनी कर्मचारी मानसिकताका थिएनन् । त्यसैले सेनामा उनी तल्लो तहसम्म पनि प्रिय र प्रसिद्ध भए । उनले आफ्नो समयका सबैजसो साम्राज्यवादी युद्धमा भाग लिए । उनी क्युवा र मनिला गए । त्यसपछि बक्सर विद्रोह दबाउन चीन पुगे । मध्य अमेरिका र क्यारिबियामा भएका युद्धहरूमा पनि उनी लडे ।
प्रथम विश्वयुद्धताका बटलर फ्रान्समा थिए । सामान्य सैनिकहरूको स्वास्थ्य र सुरक्षामा उनी सधैँ ध्यान दिन्थे । युद्धपछि उनलाई फिलाडेल्फियाको नागरिक सुरक्षा विभागको निर्देशक बनाइयो । उनी कर्मकाण्डी थिएनन् । उनले जुवातास र वेश्यावृत्ति रोक्न ठोस कदम चाले । तर, त्यसबाट नाफा कमाइरहेका हुनेखानेहरू उनीबाट रुष्ट भए । फिलाडेल्फियाको प्रशासन भ्रष्ट थियो । यी दुवैको साँठगाँठमा सहरका मेयरले बटलरलाई बर्खास्त गर्ने घोषणा गरे । तर, बटलरको समर्थनमा ४ हजार नगरवासीहरू प्रदर्शनमा उत्रे । केही वर्ष काम गरेपछि अन्ततः उनले विभागबाट राजीनामा दिए ।
१९२० को दशकमा बटलरले जलसेनाको कमान सम्हाले । उनी मेरिन कोरको मेजर जनरलसम्म बने । त्यहाँ उनले देखाएको बहादुरीका कारण उनलाई राष्ट्रपति थियोडोर रुजवेल्टले दुईचोटि ‘मेडल अफ अनर’ ले विभूषित गरे । सन् १९३१ मा उनले मेरिन कोरबाट अवकाश लिए । यसबेला उनी ५० वर्षका थिए । त्यसपछिको जीवनमा पनि उनी सयौँपल्ट आलोचनाका पात्र भइरहे । अमेरिकाका वास्तविक शासकहरूको लागि उनी सधैँ आँखाका कसिङ्गर बने । संसारभरका विभिन्न युद्धमा भोगेको तीतोपिरोले गर्दा बटलर अमेरिकी सरकारको साम्राज्यवादी नीतिका विरोधी बनिसकेका थिए ।
युद्धविरोधी बटलर
स्मेड्ली बटलर इसाई धर्मको क्वेकर सम्प्रदाय मान्ने परिवारमा हुर्केका थिए । क्वेकर सम्प्रदायले इसाई कर्मकाण्ड, हत्याहिंसा र युद्ध अस्वीकार गर्छ । बटलरले जीवनमा यो आस्थालाई कतै न कतै जीवित राखेको उनलाई चिन्नेहरूले लेखेका छन् । आफ्नो हक्की स्वभावका कारण बटलर सैन्य नेतृत्वभन्दा सामान्य सैनिकहरूसँग नजिक थिए । यसकारण, सामान्य सैनिकहरू उनलाई धेरै आदर गर्थे । युद्धमा सैनिकहरूले भोग्नुपर्ने पीडा उनले बुझेका थिए ।
सन् १९३१ मा बटलरले एउटा सनसनीपूर्ण भाषण दिए । उनले भने, “मैले सेनामा ३३ वर्ष ४ महिना सेनामा बिताएँ । यसबिच धेरैजसो समय मैले ठूला पुँजीपतिहरू, वालस्ट्रीट र बैङ्कपतिहरूको उच्च कोटीको लठैत भई काम गरेँ । सारमा म पुँजीवादको लागि कालो धन्दा गर्ने ठग थिएँ, गुन्डा थिएँ । मैले सन् १९०३ मा होन्डुरसलाई अमेरिकी फलफुल कम्पनीको शोषणको लागि तयार पारेँ । मैले बैङ्कपति घराना ब्राउन ब्रदर्सको लागि सन् १९०२–१९१२ बिच निकारागुआलाई सुनपानी छर्केँ । सन् १९१४ मा मैले अमेरिकी तेल कम्पनीहरूको लागि मेक्सिको र खासगरी ताम्पिकोलाई सुरक्षित बनाएँ । अमेरिकी चिनी कम्पनीहरूको लागि सन् १९१६ मा मैले डोमिनिकन गणतन्त्रलाई तयार पारेँ । क्युवा र हाइटीमा नेसनल सिटी बैङ्कका मान्छेहरूले कर उठाउन सक्ने वातावरण मिलाएँ । मैले वालस्ट्रीटको नाफाको लागि आधा दर्जन मध्य अमेरिकी गणतन्त्रहरूको बलात् लुटपाटमा सघाएँ । चीनमा सन् १९२७ मा मैले स्ट्यान्डर्ड आयल कम्पनीको सुरक्षा गरेँ । पछि फर्केर हेर्दा म विश्वका तीन महादेशमा अमेरिकी ठगी धन्दाको हिस्सा बनेँ ।”
अमेरिकी सरकारले पहिलो विश्वयुद्ध लडेका अमेरिकी सैनिकहरूलाई १ हजार डलर ‘युद्ध बोनस’ बाँड्ने निर्णय ग¥यो । त्यो रकम सन् १९४५ सम्म दिने भनिएको थियो । यसबिच अमेरिकामा आर्थिक मन्दी छायो । मन्दीले अवकाश प्राप्त सैनिकहरूलाई पनि आच्छुआच्छु पा¥यो । छटपटिएका सैनिकहरूले छिट्टै ‘बोनस’ दिनुपर्ने मागसहित १९३२ को मे महिनामा अभियान चलाए । देशभरिबाट उनीहरू संसद्सामु आफ्नो माग राख्न वासिङ्टनमा भेला भए । स्मेड्ली बटलर ऐक्यबद्धता जाहेर गर्न आफ्ना छोरासित आन्दोलनकारीहरूलाई भेट्न गए ।
तत्कालीन अमेरिकी राष्ट्रपति हुभरले आन्दोलनकारीहरूको माग सुनेको नसुन्यै गरे । उनले उनीहरूको माग सम्बोधन हुने विधेयकविरुद्ध भिटो प्रयोग गर्ने धम्की दिए । महिनौँसम्म आन्दोलनकारीहरू वासिङ्टनमै रहे । तिनलाई दबाउन राष्ट्रपति हुभरले सेना परिचालन गरे । त्यसको नेतृत्व अमेरिकी जर्नेलहरू जर्ज प्याटन र डगलस म्याकआर्थरले गरेका थिए । (साम्राज्यवादी युद्धकै कारण यी दुई जर्नेलले पछि नाम कमाए ।) आन्दोलनकारीहरू तितरबितर भए । दमनमा परेर दुई जनाको मृत्यु भयो भने सयौँ घाइते भए । बटलर सरकारी कदमबाट रुष्ट भए । त्यसैले निर्वाचनमा उनले रुजवेल्टको पक्षमा मत दिए । उनले अमेरिकी सैनिकहरूले अमेरिकी पुँजीपतिहरूको लागि खुन–पसिना बगाएको हुँदा वालस्ट्रीटले हर्जाना तिर्नुपर्ने विचार राखे ।

अमेरिकी फासीवाद र बटलर
राष्ट्रपति हुभरको पालामा स्मेड्ली बटलरले एउटा भाषणमा इटालीका प्रधानमन्त्री मुसोलिनीको एउटा किस्सा सुनाए । एउटा बच्चालाई गाडीले कुल्चिँदै मुसोलिनीले ‘राज्यको मामिलामा एउटा तुच्छ जीवन के नै हो र’ भनेका थिए भनी बटलरले बताए । इटालीबाट मुसोलिनीले आपत्ति जनाए । त्यसपछि जताततैबाट बटलरको आलोचना भयो । राष्ट्रपति हुभरले बटलरलाई पक्राउ गर्न लगाए र उनीलाई कोर्ट मार्शलको सजाय दिन आदेश दिए । देशकै सम्मानित व्यक्तिलाई यस्तो सजायको आदेश दिनु नौलो थियो । जनदबाबका कारण राष्ट्रपतिको आदेश पालन भएन । तर, जानकारहरू यस घटनालाई दोस्रो विश्वयुद्धअघि अमेरिकामा विद्यमान मुसोलिनी–पूजाको नमुना मान्छन् । यही घटनापछि बटलरले सेनाबाट अवकाश लिएका थिए ।
सन् १९३० को दशकको आरम्भमा इटाली र जर्मनीमा मात्र नभई अमेरिकामा पनि पुँजीपतिहरू फासीवादी नेताहरूलाई अगाडि ल्याउने ताकमा थिए । अमेरिकी पुँजीपतिहरू बेनिटो मुसोलिनीको ‘कर्पोरेट शासन’ बाट प्रभावित थिए । मुसोलिनी र उनको कालो पोशाक लगाउने गुन्डा दलले मजदुर सङ्घ–सङ्गठनलाई दबाएर पुँजीपतिहरूको नाफाको द्वार खोलिदिएका थिए । अमेरिकाका ठूला पुँजीपतिहरू पनि यस्तै फुक्काफाल वातावरण चाहन्थे । यसको लागि उनीहरू फासीवादी सङ्गठनबाट सिक्ने र अमेरिका पनि फासीवादी शासकलाई सत्तामा ल्याउने तयारीमा जुटेका थिए । मोर्गन कम्पनीले फ्रान्सका प्रजातान्त्रिक देखिने फासीवादी सङ्गठनहरूबाट सिक्न आफ्ना एजेन्टहरू फ्रान्स पठाएको थियो । पछि दोस्रो विश्वयुद्धताका फ्रान्सका फासीवादीहरूले हिटलर र मुसोलिनीलाई खुसी पार्ने नीति लिएका थिए ।
अमेरिकी पुँजीपतिहरू राष्ट्रपति रुजवेल्टबाट खुसी थिएनन् । वालस्ट्रीटका बैङ्कपतिहरू रुजवेल्टलाई दुस्ट मान्थे किनभने उनले सेयर कारोबारलाई सरकारी नियमनमा ल्याए । उनले अमेरिकी मुद्रालाई स्वर्ण मानकबाट बाहिर निकाले । अब धेरै पैसा छापेर नागरिकहरूलाई ऋण दिन सकिन्थ्यो र लाखौँ रोजगारी सिर्जना गर्न सकिन्थ्यो । अमेरिकालाई आर्थिक मन्दीबाट निकाल्न रुजवेल्टले न्यु डील योजना अघि सारे । यसको खर्च धान्न उनी धनाढ्यहरूले बढी कर तिर्नुपर्ने बताउँदै थिए ।
१९३४ नोभेम्बरमा स्मेड्ली बटलरले अमेरिकी फासीवादको विषयमा एउटा महत्वपूर्ण खुलासा गरे । न्युयोर्कका पुँजीपतिहरूले संरा अमेरिकामा फासीवादी सत्ताविद्रोह गर्न चाहेको उनले बताए । त्यस विषयमा एउटा संसदीय समितिले छानबिन ग¥यो । छानबिनबाट बटलरको दाबी सही साबित भयो । तर, त्यसमा संलग्न बैङ्कपति, पुँजीपति र शक्ति राजनीतिका खेलाडीहरूको नाम खुलासा गरिएन । उनीहरूलाई सामान्य सोधपुछ समेत गरिएन । यसबाट अमेरिकी सत्ता कसको सेवक हो भन्ने प्रमाणित भयो । धेरै वर्षसम्म छानबिन समितिको प्रतिवेदन पूरा सार्वजनिक भएन ।
फासीवादी ‘कू’ को नालीबेली
अमेरिकी शक्ति राजनीतिका खेलाडीहरू सम्भावित नेतालाई ठूलो प्रस्तावमा लोभ्याउने गर्छन् । तर, स्मेड्ली बिकाउ थिएनन् । त्यसैले यो पूरै प्रकरण बाहिर आएको थियो ।
सन् १९३४ को एक दिन बैङ्क एजेन्ट म्याकग्वायर बटलरलाई भेट्न आए । उनले बैङ्कपति ग्रेसन मर्फीका लागि काम गर्दा रहेछन् । बटलरले पूरै खेल बुझ्न चाहे । त्यसैले म्याकग्वायरलाई निधो दिएनन् । म्याकग्वायरले अमेरिकाका धनाढ्यहरूले एउटा नयाँ सङ्गठन गठन गर्न चाहेको र त्यसको लागि ३० करोड अमेरिकी डलर बराबरको कोष खडा गर्ने बताए । त्यसमा म्याकग्वायरका मालिकले सवा १ करोड डलर लगाउँदै थिए । नभन्दै त्यो वर्ष सेप्टेम्बरमा ‘अमेरिकन लिबर्टी लीग’ नामक सङ्गठन खुल्यो । त्यसको घोषित लक्ष्य ‘परिवर्तनकारीहरूसँग भिड्ने, व्यक्तिको निजी र सम्पत्तिको अधिकारलाई सम्मान गर्नुपर्ने शिक्षा दिने तथा खुला अर्थनीतिलाई बढावा दिने’ थियो । त्यो सङ्गठनलाई अमेरिकी पुँजीपति घराना रकफेलर, मिलोन, पिउ, मोर्गन र डुपोन्टको पूर्ण सहयोग थियो ।
म्याकग्वायरले बटलरलाई रोबर्ट क्लार्क नाउँका बैङ्कपतिसँग भेट गराए । क्लार्कले एक दिन बटलरलाई भने, “राष्ट्रपति (रुवजेल्ट) कमजोर छन् । उनी हाम्रै वर्गमा जन्मेका हुन् । उनी पछि हामीसँगै आउनेछन् । उनी नआए हामीले अर्को तयारी गर्नुपर्छ ।”
सत्ताविद्रोहको तानाबाना बुनिरहेका पुँजीपतिहरूले सुरुमा डगलस म्याकआर्थर र हानफोर्ड म्याकनिडरलाई छनोट गरेका थिए । तर, उनीहरू साधारण सैनिकबिच उति लोकप्रिय थिएनन् । म्याकनिडर त पहिलो विश्वयुद्ध लडेका सैनिकहरूको मागका विरोधी नै थिए । अमेरिकी पुँजीपतिहरूकै इसारामा पछि उनले ती सैनिकहरूको पक्ष लिएका थिए । सत्ताविद्रोहका योजनाकारहरूले बटलरलाई छान्नुको प्रमुख कारण सेनाबिच उनको लोकप्रियता थियो । उनीहरू बटलरले सैनिकहरूको अर्को अभियान हाँकेको हेर्न चाहन्थे । यसको लागि उनीहरूले बटलरको नेतृत्वमा ५ लाख सैनिकहरूको फौज खडा गर्ने सोचेका थिए । फौजलाई रेमिङ्टन हतियार कम्पनीबाट हातहतियार र सैन्य उपकरण दिलाउने तय भएको थियो । उनीहरूको योजना यस्तो थियो : ‘उक्त विशाल जुलुसको दबाबमा परेर राष्ट्रपति रुजवेल्टले घुँडा टेक्नेछन् र बटलरलाई मन्त्री बनाउनेछन् । बिस्तारै उनले बटलरलाई सत्ताको बागडोर सुम्पिनेछन् र सेरेमोनियल राष्ट्रपति बन्नेछन् ।’
युरोपमा फासीवाद उदाइरहेको समय थियो । त्यसैले, बटलरले एकजना पत्रकारको मद्दतले सारा खेल बुझ्दै गए । यसकै आधारमा उनले म्याकोर्मिक–डिक्सटीन आयोगसामु बयान पनि दिए । आयोगले बटलरको दाबी सत्य रहेको बतायो । तर, त्यसले कहिल्यै आरोपीहरूलाई कठघरामा उभ्याएन । बटलर आफ्नो समयका एडवर्ड स्नोडेन थिए, जनतालाई शासकहरूको कर्तुत बताउने सचेतक थिए । तर, अमेरिकाका मूलधारे मिडियाले बटलरलाई हाँसोको पात्र बनाए । कतिले उनलाई बेवास्ता गरे । कतिले आधा सत्य मात्र बताए । आज पनि अमेरिकी मिडियाको चरित्र फेरिएको छैन ।
बटलरको आरोपपछि अर्का सैन्य नेता जेम्स भान जान्टले समेत सही ठह¥याए । बैङ्कपतिहरूले बटलरलाई १८ हजार डलरको लोभ देखाएका थिए । जान्टले आफूकहाँ पनि वालस्ट्रीटका एजेन्टहरूले फासीवादी तानाशाही चलाउने प्रस्ताव लिएर आएको बताए । यति हुँदाहुँदै पनि घटना सामसुम भयो । धेरै पछि सन् १९७१ मा छानबिन आयोगका अध्यक्ष म्याकोर्मिकले मुख खोले । उनले भने, “षड्यन्त्रकारीहरूले रुजवेल्टलाई सत्ताच्युत गरेको भए कति भद्रगोल हुने थियो भनिसाध्य छैन । पक्कै पनि उनीहरूले आफ्ना कर्तुत जनतालाई थाहा दिने थिएनन् । उनीहरूले सबथोक संविधानसम्मत देखाउने थिए । संवैधानिकरूपमै उनीहरूले तानाशाहलाई अघि सार्ने थिए । सबथोक असल अमेरिकी शैलीमा हुने थियो । सङ्गठित अल्पमतले सधँै असङ्गठित बहुमतलाई शासन गर्न सक्छ । एडोल्फ हिटलरले त्यही गरेका थिए । जनता अन्योलमा थिए । त्यसैले राष्ट्र कमजोर थियो । यस्तो स्थितिमा अतिवादी शक्ति खेल्ने मलिलो मैदान बन्दै थियो । जनताको असन्तोषले जे पनि ल्याउन सक्छ ।”
‘युद्ध कालो धन्दा हो’
स्मेड्ली बटलर धेरै समय बाँचेनन् । ५८ वर्षको उमेरमा पेटको क्यान्सरका कारण १९४० जून २१ मा उनको मृत्यु भयो । उनको मृत्युको महिना दिनपछि जापानले पर्ल हार्बरमा हमला ग¥यो । अमेरिका फेरि पनि युद्धमा होमियो । मर्नुअघि बटलरले संरा अमेरिका र विश्वका सम्पूर्ण न्यायप्रेमी जनताको निम्ति एउटा अमूल्य कृति लेखेर छोडे । बाँचुञ्जेल उनले भाषणमार्फत आफ्ना विचारलाई अमेरिकी जनतामाझ पु¥याइरहे ।
आफ्ना नागरिकहरूप्रतिको अमेरिकी सरकारको बेवास्ता र नचाहिँदा युद्धमा पसेर आफ्ना पुँजीपति र बैङ्कपतिहरूलाई मोटाउने काम गरेको देखेर बटलर वाक्क भइसकेका थिए । उनले युद्धले मोटाएका अमेरिकी पुँजीपतिहरूको हिसाबकिताब राखेका थिए । यिनै विषयवस्तु समेटेर सन् १९३५ मा उनले एउटा पुस्तिका लेखे । त्यसको नाम थियो – “युद्ध कालो धन्दा हो” । अमेरिकाले लड्ने युद्धहरूबारे बटलरले लेखे, “मर्न पठाउन हाम्रा छोराहरूलाई सुन्दर आदर्शहरू सुनाइयो । यो “युद्ध अन्त्य गर्ने युद्ध हो”, “विश्वमा प्रजातन्त्रलाई सुरक्षित बनाउने युद्ध” हो भनियो । कसैले पनि हाम्रा छोराहरूलाई वास्तविक कारण डलर र पैसा हो भनेन ।”
पुस्तकमा बटलरले अमेरिकी पुँजीपति र बैङ्कपतिहरूले पहिलो विश्वयुद्धमा कसरी अकुत नाफा कमाएका थिए भनी खुलासा गरेका छन् । उनले अमेरिकी शासकहरू धनाढ्य परिवारबाट आएका र तिनलाई युद्धमा अमेरिकी सर्वसाधारण तप्काबाट आउने सैनिकहरूको व्यथा थाहा नहुने लेखे । त्यसैले परिवारमा कोही न कोही युद्धमा परेको व्यक्तिलाई मात्र अमेरिकी राष्ट्रपति बनाउनुपर्ने उनले प्रस्ताव राखे । उनले स्पष्ट भाषामा अमेरिकी थल, जल र हवाई सेनालाई विदेशी भूमिमा लड्न पठाउन नहुने र विदेशबाट आफ्नो सेना फिर्ता बोलाउनुपर्ने विचार राखे । अमेरिकाको भौगोलिक अवस्थाका कारण अन्य देशले अमेरिकामाथि हमला गर्न असहज हुने तर्क गर्दै युरोपको किचलोबाट अमेरिका तटस्थ बस्नुपर्ने उनको प्रस्ताव थियो । पुस्तकमा बटलरले अमेरिकी पुँजीपतिहरूको नाफाको भोकले गर्दा अमेरिकी सेनाले विश्वका विभिन्न कुनामा गएर आँसु, पसिना र रगत बगाउनुपरेको लेखे । तसर्थ, अवकाश प्राप्त सैनिकहरूलाई अमेरिकी सरकारले भन्दा पनि वालस्ट्रीटका बैङ्कपतिहरूले पैसा तिर्नुपर्ने बताएर बटलरले आक्रोश पोखे ।
“युद्ध कालो धन्दा हो” एक इमानदार र स्वाभिमानी अमेरिकी युद्धवीरको भोगाइ, बुझाइ र चित्कार हो । संरा अमेरिकाका सचेत र जिम्मेवार सैनिक परिवार बटलरको यस पुस्तकलाई प्रत्येक नयाँ पिँढीले पढ्नुपर्ने बताउँछन् ।
अनुवाद : सम्यक
Leave a Reply