भर्खरै :

भाजपाविरुद्ध केरालामा कम्युनिष्टहरुको जनजागरण अभियान

भारतमा कम्युनिष्ट पार्टी नेतृत्वको केराला प्रादेशिक सरकारले केन्द्रीय सरकार नेतृत्व गरिरहेको हिन्दु अतिवादी भारतीय जनता पार्टीका जनविरोधी कामको भण्डाफोर गर्न दुई साता लामो अभियानको थालनी गरेको छ । ‘केन्द्रीय सरकारका जनविरोधी नीति र उसले गरेको घृणाको राजनीतिको भण्डाफोर गर्न’ अभियानको शुरुवात गरिएको आयोजकले बताएको छ ।
जनजागरण यात्रा नाम दिइएको सो अभियान भाजपाले जनताबीच फैलाएका झुठ्ठा खबरबारे सत्यतथ्य प्रचार गर्न पनि शुरुवात गरिएको भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीले जनाएको छ ।
गएको साता भाजपाले जनरक्षा यात्राको नाममा जनताबीच झुठ प्रचार गरेको उनीहरुको भनाई छ ।
‘उनीहरुका झुठा प्रचार र अतिरञ्जनापूर्ण अभियानमा केही केन्द्रीय मन्त्री र मुख्यमन्त्रीहरुका अभिव्यक्तिको उद्देश्य केरालामा कायम शान्ति अमनचयनमा दखल पु¥याउनु थियो ।’,केरालाका मुख्यमन्त्री पिनारायी विजयनले आफ्नो फेसबुक पोस्टमा भने ।
‘संघीयताको सिद्धान्तको उल्लंघन पनि भएको छ…अब हामी भाजपाको दोहोरो चरित्र र पाखण्डी जनताको बीचमा बाहिर ल्याउनेछौं ।’, उनले भने ।
भारतीय जनता पार्टीका अध्यक्ष अमित साहले भने केरालाका मुख्यमन्त्रीलाई विकासको मामिलामा आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् ।
साहको चुनौतीलाई विजयनले आफू उनको चुनौती स्वीकार्न तयार रहेको प्रतिक्रिया दिएका छन् । ‘भाजपाले शासन चलाएको कुनै पनि प्रदेशमा केरालामा जति विकास देखाउन म पनि चुनौती दिन चाहन्छु ।’, उनले भने ।
वास्तवमा भाजपाका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा बेरोकतोक बजार कट्टरपन्थ, तानाशाही र अल्पसंख्यकलाई उपेक्षा गर्ने प्रवृत्ति बढेको छ ।’, भाकपा माक्र्सवादीले बताएको छ । केराला भारतकै सबभन्दा बढी साक्षर, बाल मृत्युदर कम भएको र औसत आयु बढी भएको प्रदेश हो । त्यहाँ विद्यालय जाने विद्यार्थीहरुको संख्या प्रथम विश्वका मुलुकसँग तुलनायोग्य मानिन्छ ।
‘भारतीय जनता पार्टी र राष्ट्रिय स्वंयसेवक संगठनबाट केरालाले सिक्नुपर्ने कुरा केही छैन ।’, केरालाका मुख्यमन्त्रीले भने । ‘त्यसकारण केरालाका जनता केराला सरकारविरुद्ध फैलाएका झुठलाई अस्वीकार गर्दै आएका छन् ।’
शनिबारबाट शुरु भएको अभियानको भाकपा माक्र्सवादीका सचिव कोदियारी बालकृष्णनले केरालाको उत्तर र भकपाका सचिव कमान राजेन्द्रनले दक्षिणी भेगमा नेतृत्व गर्ने बताइएको छ ।
केरालामा भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको नेतृत्वमा वाम प्रजातान्त्रिक मोर्चाको सरकार छ । त्यो मोर्चामा केरालाका विभिन्न कम्युनिष्ट र समाजवादी पार्टीहरु आबद्ध छन् । अभियानअन्तर्गत केरालाका एक सय चालिस निर्वाचन क्षेत्रमा दुई साताभित्र जनसभाहरु गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सन् २०१६ को मे २५ मा वाम प्रजातान्त्रिक मोर्चाको सरकार बनेपश्चात केरालाले जातिवाद, श्रम कानुन र लिंगीय समानताको विषयमा विभिन्न महत्वपूर्ण कानुन पारित गरेको छ ।
केरालामा ९३.९ प्रतिशत जनता शिक्षित छन् भने त्यहाँको औसत आयु ७७ वर्ष रहेको छ ।
सन् २०१५ मा त्यहाँको मानव विकास सूचकांक ०.७१२ रहेको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *