भर्खरै :

युद्ध कालो धन्दा हो – ३

युद्ध कालो धन्दा हो – ३

स्मेड्ली बटलर अमेरिकी जलसेनाका उत्कृष्ट जर्नेल थिए । उनी सेनाको तल्लो तहसम्म पनि लोकप्रिय थिए । उनी संरा अमेरिकाको साम्राज्यवादी नीतिका विरोधी थिए । अमेरिकी पुँजीपतिहरूले आफ्नो नाफा बढाउन युद्ध गर्ने र त्यस्ता युद्धले सारा अमेरिकीले दुःख पाउने गरेको उनको ठहर थियो । त्यसैले अमेरिकाले तटस्थ विदेश नीति अपनाउनुपर्ने र विदेशमा रहेका अमेरिकी सेनालाई स्वदेशमै फर्कानुपर्ने उनले पटक–पटक जोड दिएका थिए ।
जुत्ता बनाउने कम्पनीहरूलाई हेरौँ । तिनीहरू युद्ध रुचाउँछन् । यसले तिनको व्यवसायमा असामान्य बढोत्तरी हुन्छ । हाम्रा मित्र देशहरूलाई माल बेचेर तिनले अकुत नाफा कमाउँछन् । सैन्य हतियार र उपकरण उत्पादकहरूले जस्तै तिनले शत्रुलाई समेत माल बेच्छन् । जर्मनीबाट आओस् वा फ्रान्सबाट, डलर त डलर नै हो । तर, साम काका (अमेरिकी पुँजीपति) ले पनि तिनलाई गुन लगाए । उदाहरणको लागि, तिनले साम काकालाई ३ करोड ५० लाख जोर सैन्य जुत्ता बेचे । जब कि युद्धमा ४० लाख अमेरिकी सैनिक मात्र सहभागी थिए । यसको अर्थ एक सैनिकको भागमा ८ जोर जुत्ता प¥यो । युद्धताक मेरो पल्टनका सैनिकहरूले केवल एकजोर जुत्ता पाएका थिए । यीमध्ये केही जुत्ता अझै दुरुस्तै छन् । जुत्ता टिकाउ थियो । तर, युद्ध सकिँदा साम काकासँग २ करोड ५० लाख जोर जुत्ता बाँकी रह्यो । तिनको मोल तिरिसकिएको थियो । नाफा कम्पनीको खल्तीमा पुगिसकेको थियो ।
युद्धपछि पनि धेरै छाला बाँकी रह्यो । कम्पनीहरूले त्यो छाला साम काका (अमेरिकी पुँजीपति) लाई बेचे । घोडचढी सेनाको लागि लाखौँको सङ्ख्यामा म्याकलेलन काठी बनाउन त्यो छालाको प्रयोग भयो । तर, अमेरिकी घोडचढी सेनालाई समुद्रपार पठाइएकै थिएन ! कसैलाई त्यो छालाबाट पिण्ड छुटाउनु थियो । कसैलाई नाफा कमाउनु थियो । त्यसैले, सरकारले अचाक्ली काठीहरू खरिद ग¥यो । सके अझै हामीकहाँ ती काठी बाँकी छन् ।
अर्को घटना । कसैकहाँ ठूलो मात्रामा लामखुट्टेबाट बच्ने झुल थिए । तिनले समुद्रपार लड्न गएका अमेरिकी लडाकाहरूका लागि अमेरिकी सरकारलाई २ करोड झुल बेचे । हिलाम्य ट्रेन्चहरूमा सुत्न खोज्दै तिनले सायद झुल लगाउने कल्पना गरिएको थियो । एउटा हातले ढाड कन्याउँदै र अर्कोले मुसा धपाउँदै उनीहरूले झुलको प्रयोग गर्ने सोचिएको थियो । तर, यी २ करोड झुलमध्ये एउटा पनि फ्रान्स पुगेन !
यद्यपि, यी विचारशील झुल उत्पादकहरू कुनै पनि अमेरिकी सिपाहीँ झुलविहीन नहोस् भनी ढुक्क हुन चाहन्थे । त्यसैले उनीहरूले साम काकालाई थप ४ करोड थान झुल बेचे । युद्धको बेला झुलबाट राम्रै आम्दानी भयो । जब कि फ्रान्समा लामखुट्टे नै हुँदैन ।
मेरो विचारमा युद्ध अलि लम्बिएको भए झुल उत्पादकहरूले फ्रान्समा पठाउन भनेर साम काकालाई केही पल्टन लामखुट्टे पनि बेच्ने थिए । यति भएपछि सबथोक ठाउँमा आउने थियो ।
विमान र इन्जिन कम्पनीहरूले पनि युद्धमा आफ्नो भाग पाउनुपर्छ भन्ठाने । किन नपाउने ? सबैले आआफ्नो भाग पाएकै थिए । साम काकाले विमान र विमानको इन्जिन बनाउन १ अर्ब डलर खर्च गरे । अलि बढी बाँच्नु छ भने यो अङ्क नभुल्नु होला । यी विमान र विमानका इन्जिनले कहिल्यै अमेरिकी भूमि छोडेनन् ¤ अर्बौँ डलर खर्च गरेर तयार भएका विमान र मोटरलाई कहिल्यै फ्रान्सको लडाइँमा पठाइएन । तर, उत्पादकहरूले ३०, १०० वा ३०० प्रतिशत नाफा कमाए ।
सिपाहीँको एकजोर भित्री लुगा बनाउन १४ सेन्ट खर्च हुन्छ । साम काकाले त्यसलाई ३० देखि ४० सेन्टमा किने । यसले गर्दा भित्री लुगा उत्पादकहरूले कति नाफा कमाए, आफैँ अनुमान गर्नुस् । एवम्रितले मोजा र पोशाक उत्पादकहरू, टोपी र स्टीलको हेल्मेट उत्पादकहरूले पनि युद्धलाभमा आआफ्नो भाग पाए ।
युद्ध सकिँदा समेत अमेरिकाका सरकारी भन्डारहरू ४० लाख सैन्य सामानसहितका झोलाले भरिएका छन् । सैनिक झोलामा राखिने समानको नयाँ नियम बनेको हुनाले अहिले ती झोला थोत्रा हुनपुगेका छन् । तर, उत्पादकहरूले युद्धकालीन नाफा हसुरिसकेका छन् । युद्ध भए अर्कोचोटि पनि उनीहरूले त्यो कर्म दोहो¥याउनेछन् ।
युद्धको बेला नाफा कमाउने गजब–गजबका काइदा छन् ।
एउटा असाध्यै देशभक्त कम्पनीको मालिकले साम काकालाई ४८ इन्चका २ दर्जन सनासो बेच्यो । गजबका सनासा थिए । तर, समस्या के थियो भने अमेरिकी उपकरणमा ती सनासाले समात्न मिल्ने एउटा मात्र नटको प्रयोग भएको थियो । त्यो पनि नायग्रा फल्समा प्रयोग भएको टर्बाइनमा मात्र ती सनासा काम लाग्थ्यो । साम काकाले ती सनासा किने र उत्पादकले नाफा सोहो¥यो । त्यसपछि ती सनासालाई मालवाहक गाडीमा हालेर कतै काम लाग्छ कि भनेर अमेरिकाभरि घुमाइयो । शान्ति सम्झौतामा हस्ताक्षर भएपछि सनासो उत्पादकलाई झट्का लाग्यो । उसले आफ्नो सनासोको मुखसँग मिल्ने नट उत्पादन गर्दै थियो । युद्ध अन्त्य भएपछि पनि उसले साम काकालाई ती नट बेचेरै छोड्यो ।
अर्को गजबको काइदा कर्नेलहरू घोडा वा अटोमोबाइल चढ्नु हुन्न भन्ने नियम थियो । कसैले एन्डी ज्याक्सनले बकबोर्ड गाडी चढेको देखेको हुनुपर्छ । कर्नेलहरूको प्रयोगको लागि साम काकालाई ६ हजार बकबोर्ड गाडी बेचियो । तीमध्ये एउटा पनि गाडी प्रयोगमा आएन । तर, बकबोर्ड उत्पादकहरूले नाफा कमाए ।
जहाज निर्माताहरूले पनि युद्धलाभको भाग पाउनुपर्छ भन्ठाने । तिनीहरूले प्रशस्त जहाज बनाए र नाफा कमाए । तिनको मूल्य ३ अर्ब डलर थियो । तीमध्ये केही जहाज ठिक्कै थिए । तर, साढे ६३ करोड डलर बराबरका जहाज काठले बनाएको हुँदा पानीमा तैरेनन् ¤ तिनलाई पानीमा पठाउँदा सबै डुबे । तैपनि, सरकारले सबैको मूल्य भुक्तान ग¥यो । कसैले नाफा हसु¥यो ।
तथ्याङ्कशास्त्री, अर्थशास्त्री र केही अध्येताहरूले पहिलो विश्वयुद्धमा साम काकाले ५२ अर्ब डलर खर्च गरेको हिसाब निकालेका छन् । यसमध्ये ३९ अर्ब डलर युद्धकै बेला खर्च भएको थियो । त्यो खर्चले १६ अर्ब नाफा दियो । यसप्रकार अमेरिकाले २१ हजार करोडपति र खर्बपति जन्माएको थियो । यो १६ अर्ब नाफा चोखो मुनाफा थियो । तर, यो मुठ्ठीभर मानिसहरूको खल्तीमा गयो ।
हतियार उद्योग र त्यसको युद्धकालीन नाफाको छानबिन गर्न गठन भएको संसदीय समितिले केही सनसनीपूर्ण खुलासाहरू ग¥यो । तर, त्यसले गहिराइमा गएर छानबिन गर्न सकेन ।
यद्यपि, यसले केही असर छोड्यो । विदेश मन्त्रालयले ‘केही समय’ युद्धबाट टाढै रहने विधिहरूको अध्ययन गर्दै छ । युद्ध मन्त्रालयले अकस्मात् अगामी वसन्तको लागि आफूले आश्चर्यजनक योजना बनाएको बतायो । सरकारले एउटा नयाँ समिति बनायो । यसको नाम युद्ध तथा जलसेना विभाग राखिएको छ । यसको अध्यक्षमा वालस्ट्रीटका सट्टेबाजलाई नियुक्त गरिएको छ । युद्धकालीन नाफालाई सीमित गर्न सो समिति गठन गरिएको बताइएको छ । नाफाको सीमा कति हुने भनिएको छैन । अँ, विश्वयुद्धमा जसले अमेरिकी रगतलाई सुनमा फेरे तिनको नाफालाई ३००, ६०० र १६०० प्रतिशतबाट झारेर सानो सङ्ख्यामा ल्याउने हुनसक्छ ।
सरकारको कार्यक्रममा घाटा कसरी सीमित पार्ने भन्ने उल्लेख छैन । युद्धमा लड्नेहरूको क्षति कसरी घटाउने, केही बताइएको छैन । मलाई थाहा भएसम्म सरकारको नयाँ कार्यक्रममा सिपाहीँको क्षतिलाई कसरी एउटा आँखा, एउटा पाखुरा वा तीनचार घाउलाई कसरी एउटा घाउमा झार्ने कुनै योजना छैन । अथवा, मर्नेहरूको सङ्ख्या कसरी घटाउने भन्ने विषयमा सरकारी योजना केही बोल्दैन ।
सरकारी कार्यक्रम रित्तो छ । त्यसले एउटा लडाइँमा पल्टनको क्षति १२ प्रतिशतभन्दा बढी हुनुहुन्न वा एउटा डिभिजनमा ७ प्रतिशतभन्दा बढी सैनिक मारिनुहुन्न भन्दैन । निश्चय नै सरकारी समितिलाई यस्ता झिनामसिना विषयमा सताउनु राम्रो होइन !


पाठ ३
बिल कसले तिर्छ ?
२०, १००, ३००, १५०० र १८०० प्रतिशत नाफा कसले दिलाउँछ ? हामी दिलाउँछौँ । राजस्वको रूपमा हामी तिर्छौँ यो बिल । बैङ्कपतिहरूलाई नाफा कसले ति¥यो । हामी आफैँले ति¥यौँ । १०० डलरमा किनेको लिबर्टी बन्ड हामीले तिनैलाई ८४ वा ८६ डलरमा बेच्यौँ । यी बैङ्कपतिहरूले थप १०० डलर कमाए । यो एउटा छलछाम मात्र थियो । धितो बजारमा यिनै बैङ्कपतिहरूले नियन्त्रण जमाउँछन् । बन्डको भाउ घटाउन यिनलाई सजिलो थियो । भाउ घटेपछि हामी सारा जनता यत्तिकै हायलकायल भयौँ र १०० डलरमा किनेको बन्ड ८४–८६ डलरमा बेच्यौँ । यिनै बैङ्कपतिहरूले नाफाको बहार ल्याए र सरकारी बन्डको भाउ बढ्यो । त्यसपछि तिनले नाफा सोहोरे ।
सैनिकहरूले सबैभन्दा ठूलो बिल तिर्छन् ।
विश्वास नलागे विदेशी रणमैदानमा बनाइएका अमेरिकी चिहानहरू हेर्न जानुहोला । अथवा, संरा अमेरिकाका पूर्वलडाकु अस्पतालहरूमा पुग्नुहोला । यतिबेला म एक यस्तै अस्पतालमा छु । स्वदेश भ्रमणको क्रममा मैले देशका अठार सरकारी पूर्वलडाकु अस्पताल घुमेको छु । यी अस्पतालमा जम्माजम्मी ५० हजार अङ्गभङ्ग भएका पूर्वलडाकु छन् । यिनलाई १८ वर्षअघि सरकारले युद्धमा पठाएको थियो । मिलवाइकी सरकारी अस्पतालमा मात्र ३८ सय अधमरा लडाकु छन् । त्यहाँका प्रमुख शल्य चिकित्सकले एउटा गम्भीर आँकडा बताए । घरमा बसिरहेका भन्दा अस्पतालमा भर्ना भएका पूर्वलडाकु तीन गुना बढी मरेको उनले सुनाए ।
सामान्य दृष्टिकोण भएका केटाहरूलाई खेतखलिहान, अफिस, कारखाना र कक्षाकोठाबाट तानेर सेनामा भर्ती गरियो । त्यहाँ तिनको दिमाग भरियो । तिनलाई तम्तयार पारियो, ‘उल्टोमुख’ पारियो । हत्या गर्नु मामुली हो भन्ने बनाइयो । तिनलाई काँधमा काँध जोडेर उभ्याइयो । आम मनोविज्ञानको प्रयोग गरेर एकदम भिन्न मान्छे बनाइयो । हामीले तिनलाई दुईचार वर्ष प्रयोग ग¥यौँ । मर्ने र मार्नेबाहेक अरू कुरा सोच्दै नसोच्ने तालिम दियौँ ।
अचानक हामीले ती लडाकाहरूलाई फुक्का छोड्यौँ । त्यसपछि अर्कोतिर ‘मुख फर्काउन’ भन्यौँ ! यसपालि तिनलाई जेसुकै गर भनियो । आम मनोविज्ञानको टेवा तथा अफिसरको सरसल्लाह र सहायताबेगर तिनलाई एक्लो छोडियो । राष्ट्रव्यापी प्रचारबाजीको बिचमा तिनलाई धकेलियो । हामीलाई तिनको खाँचो थिएन । त्यसैले ‘तीन मिनेट’ को भाषण नदिई, परेड नखेलाई तिनलाई तितरबितर पारियो । ती युवाहरू बिस्तारै मानसिकरूपमा विक्षिप्त हुँदै छन् । किनभने, तिनले एक्लै यो अन्तिम लडाइँको सामना गर्न सक्दैनन् ।
इन्डियाना राज्यको मारियोन सहरमा एउटा सरकारी अस्पताल छ । त्यहाँ १८ सय पूर्व लडाकाहरू कैदमा छन् ! ५ सयजना छाउनीमा छन् । तिनलाई राखिएका भवन र बार्दलीहरूमा तारबार गरिएको छ । यिनीहरू मानसिकरूपमा तहसनहस भइसकेका छन् । यी लडाकाहरू मान्छेजस्ता पनि देखिन्नन् । यिनको अनुहार हेर्नै हम्मेहम्मे पर्छ । शरीर तन्दुरुस्त नै देखिन्छ । तर, मानसिकरूपमा काम नलाग्ने भइसकेका छन् ।
यस्ता हजारौँ हजार युवा छन् । वर्षैपिच्छे यी युवाको सङ्ख्या थपिँदै छ । युद्धले मान्छेलाई असाध्यै उत्तेजित पार्छ । त्यो उत्तेजनाबाट अचानक छुट्टिनुपर्दा जवानहरूलाई खपिनसक्नु हुन्छ ।
यो बिलको एक अंश हो । मर्नेहरूको अर्को हिसाब छ । युद्धलाभमा आफ्नो भागको बिल चुक्ता गरेर उनीहरू मरिसकेका छन् । मानसिक र शारीरिक चोटपटक खेप्नेहरूको अर्को हिसाब हुन्छ । तिनले अहिले आएर युद्धलाभमा आफ्नो भागको बिल चुक्ता गर्दै छन् । तर, अरूले पनि तिरे । साम काकाको बर्दी लगाउन तिनीहरू जहानपरिवार र घरबाट अलग्गिए । मन छियाछिया पारेर तिनले युद्धलाभको बिल तिरे । कम्पनीहरूले लाभ लिए । तालिम शिविरहरूमा तिनले अर्को बिल तिरे । त्यहाँ भर्ती भएर तालिम लिँदै गर्दा अरूले तिनको जागिर लिए । समाजमा तिनले बनाएको स्थान अरू कसैले लिए । युद्ध मोर्चामा बसेर कसैलाई मार्दा वा आफैँ मर्दा तिनले अझ अर्को बिल तिरे । भोकभोकै बस्नुपर्दा† हिलो, जाडो र झरी नभनी सुत्नुपर्दा तिनले बिल तिरे । अमेरिकी शासकहरूको डरलाग्दो शान्तिगानका लागि ज्यान फाल्नेहरूको ऐया र आत्थु सुनेर तिनले बिल तिरे ।
नभुलौँ सिपाहीँहरूले रूपैयाँ–पैसामा पनि बिल तिरे ।
स्पेन–अमेरिका युद्धसम्म हामीकहाँ पुरस्कार प्रथा थियो । सिपाहीँ र जहाजीहरू पैसाको लागि लड्थे । लिङ्कनको पालामा गृहयुद्ध भयो । लडाइँमा जानुअघि तिनलाई पटकपटक बोनस बाँडिएको थियो । भर्ती हुनेलाई सरकारले प्रतिव्यक्ति १२ सय डलरसम्म ति¥यो । स्पेन–अमेरिका युद्धमा सरकारले पुरस्कारमा पैसा बाँड्यो । शत्रुको कुनै जहाजी बेडा समाते सैनिकहरूले आफ्नो भाग पाउँथे । कम्तीमा तिनलाई पाउने आस थियो । त्यसपछि त्यो सबै पुरस्कार रकम आफैँ राखेर युद्धको खर्च घटाउन सकिन्छ भन्ने जुक्ति फि¥यो । सरकारले सैनिक भर्ती गर्न थाल्यो । सैनिकहरूले आफ्नो श्रमको मोलमोलाइ गर्न नपाउने भए । सबैले मोलमोलाइ गर्न सक्छन्, सिपाहीँले सक्दैनन् ।
फ्रान्सका नेपोलियनले एकचोटि भनेका थिए, “सबै मान्छे मानसम्मानले मुग्ध हुन्छन् । सबै मानपदवीका भोका हुन्छन् ।”
यहाँ त्यही नेपोलियन शैलीलाई मलजल गरियो । पदक प्रथा लागु गरियो । लडाकाहरू मानपदवी रुचाउँछन् भन्ने सरकारले थाहा पायो । थोरै पैसामा पनि चलाउन सकिने उसले बुझ्यो । त्यसपछि संसदीय सम्मान पदक स्थापना गरियो । यसले गर्दा गल्लाको काम सजिलो भयो । गृहयुद्धपछि स्पेन–अमेरिका युद्धसम्म कुनै नयाँ पदक जारी गरिएन ।
दोस्रो विश्वयुद्धमा हामीले युवालाई भर्ती गराउन प्रचारबाजी ग¥यौँ । सेनामा भर्ती नभए लोकलाज हुने माहोल बनायौँ । प्रचारबाजी कति चर्को थियो भने देवतालाई समेत लतारीलतारी युद्धमा ल्याइयो । केहीलाई छोड्ने हो भने सबैजसो गुरूपुरोहितहरू हानौँ, मारौँ र काटौँको नारामा कुम जोडेर मिसिए । उनीहरू चिच्याए, “जर्मनहरूलाई मार । देउता हाम्रो पक्षमा छन् । जर्मनहरूलाई मार्ने देउताको आदेश छ ।”
उता जर्मनीका पन्डापुरोहितले पनि देवतालाई नै घिसारे । उनै देवतालाई खुसी पार्न मित्र गठबन्धनका मान्छे मार्नुपर्ने फर्मान जारी गरे । आम प्रचारबाजीको ढर्रा नै त्यस्तो थियो । साधारण जनतालाई युद्ध र मारकाटमा उतार्न त्यसो गरिएको थियो ।
मर्न पठाउन हाम्रा छोराहरूलाई सुन्दर आदर्शहरू सुनाइयो । यो “युद्ध अन्त्य गर्ने युद्ध हो” भनियो । “विश्वमा प्रजातन्त्रलाई सुरक्षित बनाउने युद्ध हो” भनियो । कसैले पनि हाम्रा छोराहरूलाई युद्धको वास्तविक कारण डलर र पैसा हो भनेन । बुट बजार्दै तिनीहरू बाहिरिँदा कसैले पनि तिनीहरू विशालकाय युद्धलाभको लागि मर्न जाँदै छन् भनेन । ती अमेरिकी सैनिकहरू आफ्नै दाजुभाइले बनाएका गोलीले ढल्न सक्छन् भनेर कसैले बताएन । तिनीहरू चढिरहेको पानीजहाजलाई अमेरिकामै प्याटेन्ट भएका पनडुब्बीले उडाएर समुद्रमा डुबाउन सक्छन् भनेर कसैले बताएन । तिनलाई “यो एउटा गौरवपूर्ण यात्रा हुनेछ” मात्र भनियो ।
देशभक्तिका चक्कीहरू घाँटीघाँटी आउने गरी कोचेर तिनलाई युद्धको बिल तिर्नलाई तयार पारियो । त्यसैले पनि हामीले तिनलाई महिनाको ३० डलर ज्याला दियौँ । यो ठूलो रकम थियो ।
यो गतिलो रकमका लागि तिनले आफ्ना स्वजनलाई छोड्नुप¥यो । आफ्ना नोकरीहरू त्याग्नुप¥यो । हिलाम्य ट्रेन्चहरूमा पल्टिनुप¥यो । पाए डिब्बाका खान्की खानुप¥यो अनि हान्नु, काट्नु र मार्नुप¥यो । उस्तै परे मारिनु पनि प¥यो ।
पख्नुस् !
आधा ज्याला सैनिकबाट खुसुक्क खोसिन्थ्यो । त्यो रकम घरमा बसेका जहानपरिवारलाई जान्थ्यो । समाजको भार नबनून् भनेर त्यसो गरिन्थ्यो । (तिनताका एकजना सिपाहीँको आधा ज्याला अमेरिकामा नाउ खियाउने जहाजी वा हतियार उद्योगमा काम गर्ने ज्यामीको तलब बराबर थियो ।) आधा ज्याला काटेपछि सैनिकले महिनाको ६ डलर भइपरीको लागि जम्मा गर्नुपथ्र्यो । सबै गर्दा प्रत्येक मसान्तमा सिपाहीँको खल्तीमा ९ डलरमात्र बच्थ्यो ।
त्यसपछि सबैभन्दा ठूलो अपमानको पालो आयो । सिपाहीँलाई युद्धमा आफूले बोकेको हतियार, लगाएको लुगा र खाएको आहारको खर्च तिर्न बाध्य पारियो । लिबर्टी बन्ड १०० डलरमा किन्न लगाइयो । युद्धबाट फर्केपछि त्यही बन्ड ८४–८६ डलरमा बेच्नुपर्ने भयो । अघि सैनिकहरूले झन्डै २ अर्ब डलरको बन्ड खरिद गरेका थिए !
सैनिकले सबैभन्दा ठूलो बिल तिर्नुपर्छ । उसका जहानपरिवारले पनि मूल्य चुकाउनुपर्छ । जहानपरिवारले पनि सिपाहीँले जस्तै मन भाँचेर यो बिल तिरे । ऊ छटपटिएजस्तै परिवार पनि छटपटिए । रातमा ऊ सैनिक ट्रेन्चमा पल्टिन्छ । नजिकै बमका छिर्का पड्किन्छन् । यति नै बेला घरमा उसका जहानपरिवारले ओछ्यानमा अनिँदा रात कटाए । उसका आमाबुबा, दाजुभाइ, दिदीबहिनी, स्वास्नी र छोराछोरी यसरी नै पिल्सिए ।
सिपाहीँ घर फर्कियो । उसको एउटा आँखा थिएन वा एउटा खुट्टा थिएन । कसैको बुद्धि खुस्केको थियो । त्यो देखेर पनि परिवार ऊजत्तिकै पिल्सिए । अर्कोतिर तिनीहरू आफैँले पनि हतियार निर्माता, बैङ्कपति, जहाज निर्माता, उद्योगपति र सेयरबजारीहरूको नाफा बढाउन मद्दत गरे । तिनीहरूले पनि लिबर्टी बन्ड किनेका थिए । शान्ति सम्झौताको झमेलाबिच लिबर्टी बन्डको भाउ तलबितल पारियो । सस्तोमा बन्ड बेचेर सैनिक परिवारले बैङ्कपतिहरूको आम्दानी बढाए ।
अझै पनि घाइते, मानसिकरूपमा विक्षिप्त र कहिल्यै निको नहुने सैनिकका आफन्तजन पिल्सिरहेका छन् । युद्धलाभमा आफ्नो भागको बिल तिरिरहेका छन् ।
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *