निजेर विद्रोहले साहेल क्षेत्रमा रुसको बढ्दो भूमिकाको परीक्षा लिइरहेको छ !
- भाद्र १७, २०८३
कोलकाता (भारत) । “हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ । तर, कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।” पश्चिम बङ्गालको कोलकाता–बेहलास्थित परिवहन (ट्रान्सपोर्ट) सम्बन्धी व्यवसाय गर्दै आएका तनहुँका केशव अधिकारी क्षेत्रीलाई नेपाल र नेपालीको प्रसङ्ग आउनेबित्तिकै भावनाको गहिराइमा पुगेको अनुभूति हुन्छ ।
सानो छँदा तनहुँको मिर्लुङस्थित चन्द्रावती खोलामा साथीसङ्गीसँग खेलेको र नुहाएकोदेखि अनेक स्मरणहरू उहाँका मानसपलटमा ताजा भएर आउने गर्छ । उहाँ प्रवासमा रहँदा वा जुनसुकै मुलुकमा पुग्दा नेपालको परिचय नलुकाई व्यक्त गर्ने गर्नुहुन्छ । अहिले उक्त खोलामा पक्की पुल बनेर सतिश्वरा र मिर्लुङ जोडिएका जस्ता प्रगतिका कुराले प्रवासमा रहँदा पनि क्षेत्रीको छाती गर्वले फुल्ने गर्छ । यहाँका राइपाली भन्ज्याङ, बयापानी भन्ज्याङ, मिर्लुङकोट, छहरे, ठुलढुङ्गा आदि स्थलहरूलाई थप पर्यटकीय बनाउन के गर्न सकिन्छ भन्ने चासो उहाँलाई बरोबर भइरहन्छ । ‘देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि…’ नाट्यसम्राट बालकृष्ण समले भनेझैँ विकसित मुलुक भारतमा रहे पनि प्रवासी नेपालीलाई नेपालप्रतिको माया र सम्मानमा कुनै कमी आएको देखिँदैन ।
अहिले पनि उपचार नपाएर प्रवासमा भौँतारिएका र बेरोजगार भएर गुजारा चलाउन मुस्किल पर्ने नेपालीका लागि प्रवासी नेपाली संस्था र व्यावसायिक व्यक्तिहरूको समूहले सामाजिक सञ्जालकै सूचनाको भरमा आवश्यक प्रबन्ध र सहयोग जुटाउँदै आएको छ ।
कोलकोतामा नेपालीभाषीहरू चौकीदारी, सरकारी सेवा, अनौपचारिक श्रम, पारवहन, होटल व्यवसाय, गहनासम्बन्धी व्यवसायदेखि चिकित्सा, इन्जिनियरिङ पेसामा समेत संलग्न छन् । भारत सरकारले नेसनल रजिष्ट्रर सिटिजन्स (एनआरसी) लागू गरेपछि विगतमा जस्तो प्रवासी नेपालीले सहजरूपमा पेसा– व्यवसाय गर्न नपाउने हो कि भन्ने चिन्ता पैदा भएको छ । दोहोरो नागरिकता लिएर दुवै मुलुकमा पेसा–व्यवसाय गर्ने सवालमा यदाकदा कानुनी समस्या र झन्झट आइलाग्ने गरेका छन् ।
प्रवासी नेपालीले कोलकोताको कुनै सडकलाई आदिकवि भानुभक्त आचार्यको नामाकरण गराउन यहाँको प्रदेश सरकारलाई सहमत पनि गराइसकेका छन् । यहाँ नेपालीभाषी र बङ्गाली भाषी समुदायबिच आत्मीयता र प्रेमभावका साथ जनस्तरमा सम्बन्ध पनि जोडिएको छ । उनीहरू आपसमा एकाकार भएर सामाजिक गतिविधिमा जोडिने गर्ने गरेका छन् ।
प्रवासी नेपाली सङ्घ, भारतका केन्द्रीय अध्यक्ष एवं भारत–नेपाल जनमैत्री मञ्च, कोलकाताका संस्थापक अध्यक्ष साहित्यकार नारायणप्रसाद होमागाईँ नेपालबाट यहाँ आएर काम गर्ने र बसोबास गर्नेहरू अधिकांश प्रवासी नेपाली रहेको र उनीहरूको मूलथलो नेपाल नै भएको स्पष्ट गर्नुभयो ।
बडाबजारस्थित ‘मेटल फिनिसिङ’ व्यवसाय गर्दै आएका प्रवासी नेपाली चन्द्रबहादुर श्रेष्ठ आफूले हालसम्म ६०–७० जना नेपालीलाई यता ल्याएर रोजगारी र व्यवसायमा लगाएको, सीपमूलक तालिम दिलाएको र आनन्दमय जीवनयापनका उपायबारे उत्प्रेरणा पनि दिने गरेको जनाउनुहुन्छ । “नेपालमा काम नपाएर वा अभिभावकलाई दुःख दिएर बसेका कोही युवाहरू छन् । यहाँ आउन चाहेमा हामी सीप विकाससहित आदत सुधार गराइदिन सक्छौँ । हामीले हाम्रो पालामा निकै सङ्घर्ष गरेका छौँ । अबको बाँकी जीवन नेपाल र नेपाली तथा मानव कल्याणका लागि दिन तयार छौैँ”, पुख्र्यौली घर रामेछाप भएका श्रेष्ठले भन्नुभयो ।
कोलकोतास्थित नेपाली महावाणिज्य दूतावास र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको शाखाले दुई देशबिचको व्यापार, पारवहन र द्विपक्षीय सम्बन्धका क्षेत्रमा कार्य गर्दै आएको छ ।
प्रवासी नेपाली र नेपालीभाषीले आफ्ना रीतिरिवाज र चाडपर्व भने आफ्नो परम्पराअनुसार नै मनाउँदै आएका छन् । उनीहरूले घरपरिवारमा नेपाली भाषा बोल्ने गर्छन् भने विद्यालय र कार्यालयमा आवश्यताअनुसार हिन्दी, बङ्गाली र अङ्ग्रेजी भाषाको प्रयोग गर्छन् । यहाँस्थित प्रवासी नेपाली सङ्गठन र सामाजिक संस्थामा उनीहरूको सहभागिता हुने गरेको छ । रासस
Leave a Reply