आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
स्मेड्ली बटलर अमेरिकी जलसेनाका उत्कृष्ट जर्नेल थिए । उनी सेनाको तल्लो तहसम्म पनि लोकप्रिय थिए । उनी संरा अमेरिकाको साम्राज्यवादी नीतिका विरोधी थिए । अमेरिकी पुँजीपतिहरूले आफ्नो नाफा बढाउन युद्ध गर्ने र त्यस्ता युद्धले सारा अमेरिकीले दुःख पाउने गरेको उनको ठहर थियो । त्यसैले अमेरिकाले तटस्थ विदेश नीति अपनाउनुपर्ने र विदेशमा रहेका अमेरिकी सेनालाई स्वदेशमै फर्कानुपर्ने उनले पटक–पटक जोड दिएका थिए ।
यो धन्दा कसरी रोक्ने ?
युद्ध कालो धन्दा नै हो ।
थोरै मान्छे मालामाल हुन्छन् । धेरै कङ्गाल हुन्छन् । यो धन्दा चौपट पार्ने एउटा उपाय छ । सबै देश निःशस्त्र हुनुपर्ने भनेर सम्मेलन गर्दैमा यो धन्दा रोकिन्न । जेनेभामा मिलापत्र गर्दैमा यो ठप्प हुनेछैन । उद्देश्य सही भए पनि अव्यवहारिक समूहहरूले प्रतिबद्धता जनाउँदैमा धन्दा नष्ट हुनेछैन । युद्धबाट नाफालाई हटाए मात्र यसलाई प्रभावकारी ढङ्गले बन्द गर्न सकिनेछ ।
देशका मान्छेलाई भन्दा पुँजी, उद्योग र श्रमलाई भर्ती गर्नु यो धन्दा बन्द गर्ने एक मात्र उपाय हो । युवाहरूलाई भर्ती गर्नुभन्दा एक महिना पहिले उसले पुँजी, उद्योग र श्रमलाई भर्ती गर्नुपर्छ । हाम्रा हतियार उद्योग, स्टील कम्पनी, हाम्रा बारुद निर्माता, जहाज र विमान निर्माता तथा युद्धमा नाफा दिने सम्पूर्ण मालमत्ता उत्पादन गर्ने कम्पनीका कर्मचारी, निर्देशक र हाकिमलाई भर्ती गरौँ । बैङ्कपति एवम् सेयर कारोबारी सबैलाई भर्ती गरौँ । युद्धको मोर्चामा जाने लडाकाहरूको जस्तै सबैको मासिक ज्याला ३० डलर तोकौँ ।
सबै कामदारको ज्याला एकै बनाऔँ । सबै श्रमिक, सबै राष्ट्रपति, सबै हाकिम, सबै निर्देशक, सबै व्यवस्थापक, सबै बैङ्कपति, सबै जर्साब र सबै एडमिरल र सबै कर्मचारी, सबै राजनीतिक नेता र सरकारी अधिकारीहरू सबैको ज्याला एउटै बनाऔँ । युद्धमोर्चामा खट्ने सिपाहीको तलबभन्दा बढी रकम देशमा कसैलाई पनि नदिऔँ !
व्यापारका यी बादशाह, कुबेर र मालिकहरूलाई, उद्योगमा काम गर्ने सबै कामदार र हाम्रा सांसद, गभर्नर र मेयरहरूलाई आफ्नो मासिक तलब ३० डलरबाट आधा रकम काटेर तिनका परिवारलाई पठाउन भनौँ । तिनलाई बीमाको पैसा तिराऔँ । तिनलाई लिबर्टी बन्ड खरिद गर्न लगाऔँ ।
तिनलाई यी काम किन नगराउने ?
तिनले आफू मारिने, शरीर चोइटिने वा दिमाग खुस्किने जोखिम मोलेकै छैनन् । तिनीहरू हिलाम्य ट्रेन्चहरूमा सुतेका छैनन् । तिनीहरू भोका छैनन् । तर, सिपाहीले यी सबै जोखिम मोल्छन् !
पुँजी, उद्योग र श्रमलाई यस विषयमा तीस दिन घोत्लिन दिऔँ । अनि थाहा हुनेछ । त्यतिञ्जेल युद्ध बन्द भइसकेको हुनेछ । यसले युद्धको कालो धन्दा अन्त्य गर्नेछ । अरू उपाय छैन ।
म अलि बढी आशावादी भए हुँला । पुँजीले आनाकानी गर्न सक्छ । उसले युद्धबाट नाफालाई अलग्याउन अनुमति दिनेछैन । जबसम्म युद्धको कहर झेल्ने जनताले नाफाभोगीहरूको भन्दा आफ्नो हित हेर्ने नेता चुन्ने मन बनाउँदैनन्, पुँजीले आनाकानी गर्न सक्छ ।
युद्धको धन्दा रोक्न अर्को पाइला पनि चाल्न सकिन्छ । युद्ध घोषणा गर्ने कि नगर्ने भन्ने निर्णय सीमित जनताले गर्नुपर्छ । सबै मतदाता आवश्यक हुन्न । जो युद्धमा गएर लड्नुपर्ने र रगत बगाउनुपर्ने हो तिनैबाट चुनिएका सीमित मानिस हुनुपर्छ । कुनै हतियार उद्योगको ७६ वर्षे बुढो अध्यक्ष, कुनै अन्तर्राष्ट्रिय बैङ्कको तालुखुइले प्रमुख वा कुनै बर्दी कम्पनीको टेढो आँखा भएको मालिकको काम छैन । तिनीहरूले युद्धमा अकुत नाफाबाहेक अरू देख्दैनन् । तिनलाई देश युद्धमा जानुपर्छ वा पर्दैन भन्ने विषयमा मत दिन लगाउनुको तुक छैन । तिनलाई कहिल्यै युद्धमा हतियार बोक्न, ट्रेन्चमा सुत्न वा गोली खान पठाइनेछैन । जसले परेको बेला देशको लागि आफ्नो ज्यानको बाजी लगाउँछन् तिनलाई मात्र युद्धमा जाने वा नजाने भन्ने विषयमा मतदान गर्ने अधिकार हुनुपर्छ ।
प्रभावितहरूलाई मतदाता बनाउने नजीर हामीसित छ । हाम्रा धेरै राज्यमा सीमित मानिसलाई मात्र मतदाता बनाइन्छ । धेरैजसो राज्यमा मतदान गर्न लेख्न र पढ्न जानेको हुनुपर्छ । केहीमा त सम्पत्ति भए मात्र मतदाता बन्न पाइन्छ । सेनामा भर्ती हुने उमेर पुगेका व्यक्तिको नाम दर्ता गर्ने र शारीरिक जाँचबुझ गर्ने काम वर्षैपिच्छे हुन्छ । यति गर्न गा¥हो छैन । (पहिलो) विश्वयुद्धमा यसै भएको थियो । जाँचमा पास हुने र युद्धको बेला हतियार बोकाउन मिल्ने यिनै व्यक्तिलाई सीमित मतदाता बनाऔँ । तिनलाई नै निर्णय गर्ने अधिकार हुनुपर्छ । संसद्मा बस्ने मिति पुगिसकेका र शरीरले हतियार पनि बोक्न नदिने व्यक्तिलाई त्यस्तो निर्णय गर्ने अधिकार दिनुहुन्न । युद्धको सास्ती खेप्नुपर्नेहरूलाई नै मताधिकार हुनुपर्छ ।
युद्धको धन्दा चौपट पार्ने तेस्रो उपाय पनि छ । हाम्रो सेनालाई पूर्णतः रक्षात्मक सेना बनाउनुपर्छ ।
संसद्को प्रत्येक सत्रमा जलसेनाको बन्दोबस्तीको कुरा उठ्छ । वासिङ्टनको घुम्ने मेचमाथि बस्ने एडमिरलहरू बजेट बढाऔँ भन्नमा अगाडि छन् । देशभरि नै यस्ता मान्छेको कमी छैन । तिनीहरू बाठा पनि छन् । तिनीहरू “हामीलाई यो–यो देशमा यति–यति युद्धपोत चाहियो” भनेर चिच्याउँदैनन् । यस्तो कुरा पटक्कै खोल्दैनन् । अमेरिकालाई ठूला जलशक्तिको खतरा छ भन्दै उनीहरू कुरा गर्न सुरु गर्छन् । शत्रुको एउटा ठूलो जलबेडाले अचानक हमला गरेर हाम्रा साढे १२ करोड जनताको नामनिसान मेटाउनेछ भन्न उनीहरूलाई आइतबार चाहिँदैन । त्यसपछि बल्ल उनीहरू ठूलो जलसेना चाहियो भनी रोइलो गर्छन् । केको लागि ? शत्रुसँग लड्न ? होइन, होइन । केवल प्रतिरक्षाको लागि ।
अनि तिनीहरूले प्रशान्त महासागरमा युद्धअभ्यासको घोषणा गर्छन् प्रतिरक्षाको लागि । हाहाहा… ।
प्रशान्त महासागर विशाल छ । यो सागरसँग हाम्रो धेरै सीमा जोडिएको छ । के युद्ध अभ्यास सीमामा वा सीमाभन्दा २–३ माइल पर हुन्छ ? हुन्न । हाम्रो तटभन्दा २ हजारदेखि ३५ हजार माइल परसम्म हुन्छ ।
जापानीहरू स्वाभिमानी छन् । अमेरिकी युद्धपोत निप्पोन तटभन्दा परै बसे उनीहरू कति खुसी होलान् । यहाँ क्यालिफोर्नियाका बासिन्दा पनि बिहानी तुसारोसँगै लस एन्जलसमा जापानी युद्धपोतले अभ्यास गरेको हेर्न चाहँदैनन् ।
हाम्रो जलसेनालाई अमेरिकी कानुनले नै हाम्रो समुद्री तटबाट २०० माइलबाहिर लग्न बन्देज लगाएको पाइन्छ । सन् १८९८ मा सो कानुनको पालना गरेको भए माइन युद्धपोत हवाना बन्दरगाहमा जानुपर्थेन । त्यो युद्धपोत विस्फोटको सिकार बन्नुपर्थेन । स्पेनसँग लडाइँ नै हुने थिएन र त्यो विधि जनधनको क्षति हुने थिएन । विज्ञहरू हाम्रो प्रतिरक्षाका लागि दुई सय माइललाई लक्ष्मणरेखा मान्नुपर्ने बताउँछन् । हाम्रा जहाजहरू तटबाट २०० माइलबाहिर नगएपछि देशले आक्रामक युद्ध लड्न सक्दैन । रेकीको लागि विमानहरूलाई तटबाट ५०० माइल परसम्म जान दिन सकिन्छ । साथै हाम्रो सेनाले देशको माटो छोड्नै हुन्न ।
छोटकरीमा भन्छु : युद्धको कालो धन्दा रोक्न तीन पाइला चाल्नुपर्छ ।
नाफालाई युद्धबाट अलग्याऔँ ।
हतियार बोक्ने स्वदेशी युवालाई नै युद्ध गर्ने–नगर्ने छिनोफानो गर्न दिऔँ ।
हाम्रो सेनालाई देशको सुरक्षामै सीमित राखौँ ।

पाठ ५
युद्ध मुर्दावाद !
युद्ध उहिलेका कुरा हुन् भन्नेहरू छन् । म यस्तो कुरा पत्याउने मूर्ख होइन । मलाई थाहा छ, जनता युद्ध चाहन्नन् । तर, हामीलाई अर्को युद्धमा नधकेलिएला भन्नुको कुनै अर्थ छैन ।
पछि फर्केर हेरौँ । वुड्रो विल्सन सन् १९१६ मा राष्ट्रपति पदमा पुनः निर्वाचित भए । उनले “हामीलाई युद्धबाट पर राखे” र “पछि पनि युद्धबाट परै राख्नेछन्” भन्ने वचनका कारण उनले चुनाव जिते । तैपनि, पाँच महिनापछि उनले संसद्लाई जर्मनीविरुद्ध युद्धको घोषणा गर्न भने ।
त्यो पाँच महिनाको अन्तरालमा जनताले आफ्नो विचार फेरे–नफेरेको कसैले सोधेन । ४० लाख युवा बर्दी लगाएर बुट बजार्दै वा जहाजमा तैरिँदै युद्धमा होमिए । दुःख भोग्न र मर्न जान चाहन्छन्–चाहन्नन् तिनलाई सोधिएन । त्यसो भए हाम्रो सरकारले अचानक किन विचार फे¥यो ?
धनले गर्दा ।
युद्धको घोषणा हुनुभन्दा अलि समयअघि मित्रशक्तिको आयोगका मान्छेहरू यहाँ आएका थिए । तिनले राष्ट्रपतिसँग कुराकानी गरे । राष्ट्रपतिले आफ्ना सल्लाहकारहरूलाई डाके । आयोगका प्रमुखले आफ्नो कुरा राखे । कूटनीतिक भाषालाई एकातिर राखेर उनले हाम्रा राष्ट्रपति र उनको समूहलाई जे भने त्यो सुनौँ :
“अब पनि रमाउनुको कुनै अर्थ छैन । मित्र शक्ति असफल भइसकेको छ । हामीले तपाईँहरूलाई ५–६ अर्ब डलर तिर्नु छ । अमेरिकी बैङ्कपति, हतियार निर्माता, मालसामान उत्पादक, सेयर कारोबारी र निर्यातकर्तालाई यति रकम बुझाउनु छ ।
संरा अमेरिकाले सहयोग नगरे हामी हार्नेछौँ । हामी हारे हामी बेलायत, फ्रान्स र इटालीले त्यत्रो रकम तिर्नसक्ने छैनौँ । जर्मनीले तिर्नेछैन ।
तसर्थ…”
युद्ध सम्झौता गोप्य नभए† त्यो भेलामा पत्रकारहरूलाई पनि पस्न दिएको भए अथवा रेडियोमा त्यो छलफल प्रसारण गरिएको भए अमेरिका (पहिलो) विश्वयुद्धमा जाने नै थिएन । तर, सबै युद्धवार्ताजस्तै यो भेला पनि गुपचुप राखियो । त्यसको सूचना चुहिन दिइएन ।
हाम्रा लडाकाहरूलाई युद्धमा धकेलियो । जाँदै गर्दा तिनलाई भनियो, “यो युद्ध अन्त्य गर्ने युद्ध हो । विश्वमा प्रजातन्त्रलाई सुरक्षित बनाउने युद्ध हो ।”
युद्धको अठार वर्षपछि विश्वमा पहिलेभन्दा थोरै प्रजातन्त्र छ । रुस, जर्मनी, बेलायत, फ्रान्स, इटाली वा अस्ट्रियामा प्रजातन्त्र होस् वा राजतन्त्र, हामीलाई के चासो ? तिनीहरू फासीवादी हुन् वा साम्यवादी ? आफ्नै मुलुकको प्रजातन्त्र जोगाउनु हाम्रो चिन्ताको विषय बन्नुपर्छ ।
(पहिलो) विश्वयुद्धलाई सबै युद्ध अन्त्य गर्ने युद्ध बनाउन सिन्को भाँचिएन ।
निःशस्त्रीकरण सम्मेलन भयो । हतियार सीमित गर्ने बैठक बस्यो । तर, पालन गर्ने कसैको मनसाय थिएन । एउटा सम्मेलन भर्खरै विफल भयो । अर्को बैठकको परिणाम फासफुस भयो । हामीले आफ्नो पेशेवर सैनिक, जहाजी, राजनेता र कूटनीतिज्ञहरूलाई ती सभा सम्मेलनमा पठायौँ । त्यहाँ के भयो ?
पेशेवर सैनिक र जहाजीहरू हतियार बिसाउन चाहन्नथे । कुनै पनि एडमिरल युद्धपोत छोड्न चाहन्नथ्यो । कुनै पनि जर्नेल पल्टन त्याग्न चाहन्नथ्यो । त्यसो गरे बेकामे भइन्थ्यो । हतियारविहीन बन्ने उनीहरूको सोचै थिएन । हतियार घटाउने कुरै थिएन । यी सबै सभा म्मेलनमा पर्दापछाडि सर्वशक्तिमान नाफाखोरहरू सल्बलाइरहेका थिए । युद्धलाभका दुष्ट दलालहरू वरपर थिए । यी बैठकबाट निःशस्त्रीकरण नहोस् वा हतियारको सङ्ख्या नघटाइयोस् भनेर उनीहरू ढुक्क हुन चाहन्थे ।
सम्मेलनमा जम्मा भएको सबै शक्तिको एउटै उद्देश्य थियो । उनीहरू सदालाई युद्ध अन्त्य गर्न निःशस्त्रीकरण गर्न चाहन्नथे । बरु, आफूले सकेसम्म धेरै हतियार राख्ने र सम्भावित शत्रुलाई सकेसम्म कम हतियार राख्न लगाउने कसरतमा थिए ।
व्यवहारमा निःशस्त्रीकरण गर्ने एउटै उपाय छ । सबै देश जम्मा भएर संसारका सबै जहाज, सबै बन्दुक, सबै राइफल, सबै ट्याङ्क, सबै युद्धविमान नष्ट गर्नुपर्छ । यति गर्न सम्भव नै भए पनि यतिले पुग्दैन ।
विज्ञहरू भन्छन्, अर्को युद्ध युद्धपोत, तोप, राइफल वा बन्दुकले लडिनेछैन । त्यो युद्ध रसायन र ग्यासले लडिनेछ ।
सबै देशले शत्रुलाई सफाया गर्ने नयाँ र डरलाग्दा उपायहरूबारे भित्रभित्रै अध्ययन गर्दै छन् । युद्धपोतको निर्माण जारी रहनेछ किनभने युद्धपोत निर्माताले नाफा हसुर्नुपर्नेछ । बन्दुक, बारुद र राइफलको पनि उत्पादन हुनेछ । हतियार व्यापारीहरूको नाफाको सवाल छ । तर, युद्धको हारजीत हाम्रा वैज्ञानिकहरूको सीप र खोजमा भर पर्नेछ ।
तिनलाई विषालु ग्यास, नृशंस उपकरण र विस्फोटक पदार्थको निर्माणमा लगायौँ भने के होला ? हाम्रा देशवासीलाई समृद्ध बनाउन ती वैज्ञानिकले रचनात्मक काम गर्ने फुर्सद पाउनेछैनन् । उनीहरूलाई जनताको उन्नतिको काममा लगायौँ भने हामीले युद्धभन्दा बढ्ता धन शान्तिबाट कमाउन सक्छौँ । हतियार व्यापारीले समेत आफ्नो नाफा बढाउन सक्छन् ।
त्यसैले भन्छु, “युद्ध मुर्दावाद !”
समाप्त
अनुवाद : सम्यक
Leave a Reply