भर्खरै :

क्याम्पस प्रमुखको कार्यालयमा अझै ताला

क्याम्पस प्रमुखको कार्यालयमा अझै ताला

विगत केही महिना यता भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको किचलोको कारण क्याम्पसमा २ महिना बितिसक्दा पनि क्याम्पस प्रमुख, लेखा तथा प्रशासनमा लगाएको ताला खुल्न सकेको छैन । नेविसङ्घले लगाएको ताला दुई महिना भइसक्यो । क्याम्पसमा अध्यापन गराउँदै आएका शिक्षकलगायत अन्य कर्मचारीले आफ्नो पारिश्रमिक प्राप्त गर्न सकेका छैनन् । आखिर के कुराले क्याम्पसमा यस्तो भइरहेको हो सोको सम्बन्धित निकाय या त्रिभुवन विश्वविद्यालयको ध्यान जान जरुरी छ । क्याम्पसमा हुने भागबन्डाको खेल तत्काल अन्त्य गर्नुपर्छ ।
विदेशमा पढ्न जाने अर्बौँ रूपैँया रोक्ने भनेको देशको सरकारी आङ्गिक क्याम्पसको अवस्था सुधार्ने हो । तर, भक्तपुर बहुमुखी क्याम्पस हाताभित्रको फोहोर व्यवस्थापनमा थप समस्या देखिएको छ । क्याम्पसको पुरानो भवन नजिकै रहेको फोहोर फाल्नलाई राखेको डस्टविनलाई नजिकै रहेको फोहोरको डङ्गुरले गिज्याइरहेको छ । यहाँको फोहोर व्यवस्थापनको एक मात्र उपाय भनेको फोहोर जलाउने हो । ४ हजारभन्दा बढी विद्यार्थी पढ्ने क्याम्पसमा राम्रो गतिलो शौचालय छैन । त्यसमाथि छात्रा शौचालयको दुर्दशाको त कुरै नगरौँ । क्याम्पसको भवन हेर्ने हो भने पौराणिक कालको राणा कालमा बनेको भवनदेखि आधुनिक तरिकाको संरचना पनि छ तर सबै भवन एक आपसमा सम्बन्धित छैनन् र अस्तव्यस्त छन् । यतिको भवन भए तापनि यस क्याम्पसको विभिन्न सङ्कायको लागि कक्षा कोठा अपुग छ । तर, भएको नवनिर्मित कक्षाकोठा पनि प्रयोगमा ल्याइएको छैन । यस्तै हो भने ४ हजार विद्यार्थीको सङ्ख्या सदैव यही स्तर वा सङ्ख्यामा रहिरहने कुरामा शङ्का हुन्छ ।
भनिन्छ सुशासनको एक महत्वपूर्ण पक्ष भनेको पारदर्शिता हो । तर, यस क्याम्पसले अहिलेसम्म विगतदेखि आफ्नो वार्षिक हिसाबकिताबको लेखाजोखा पनि सार्वजनिक गर्दैन । लाग्छ, क्याम्पस केही व्यक्तिहरूको अखडा भएको छ । लेखा परीक्षण कसरी गरिन्छ, आन्तिरक लेखा परीक्षकले हिसाब गर्दा बिलविजकमात्र हेरि रुजु गर्छन् कि ?
क्याम्पसको व्यवस्थापन र प्रशासन राम्रो भएमा विद्यार्थीले गुणस्तर शिक्षा प्राप्त गर्नेमा कुनै शङ्का छैन । तर, क्याम्पस नै कोमामा छ भने क्याम्पसबाट उत्पादन हुने विद्यार्थीको हालत के होला ? हाम्रो देशको शिक्षा प्रणाली ध्वस्त हुनुको कारण पनि यिनै होला । गलत र भागबन्डाको राजनीतिले आज यस क्याम्पसमा अध्ययनरत विद्यार्थीको भविष्य अन्धकारतर्फ गइरहेको त छैन ? काठमाडौँ नजिकैको क्याम्पसको हालत यस्तो छ भने मोफसल क्षेत्रभन्दा बाहिरको सरकारी क्याम्पसको हविगत के होला ?
जसरी क्याम्पसको फोहोर अव्यवस्थित छ, स्रोत र साधनको राम्रो प्रयोग हुँदैन तबसम्म क्याम्पसले मुहार फेर्नेमा शङ्कै हुन्छ । हाम्रो देशको शिक्षा नीतिले हामीलाई कहाँ लैजान्छ, त्यो भने हर्न बाँकी नै छ । सम्बन्धित निकायले बेलैमा ध्यान दिए क्याम्पसको प्रगति हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *