भर्खरै :

प्राकृतिक र सांस्कृतिक दुवै सम्पदालाई संरक्षण गर्नु जरूरी

प्राकृतिक र सांस्कृतिक दुवै सम्पदालाई संरक्षण गर्नु जरूरी

भक्तपुर, २० साउन । भक्तपुर नगरपालिकाको आयोजनामा भएको सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम शनिबार एक कार्यक्रमबिच सम्पन्न भयो । भक्तपुरका सम्पदाहरूबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले शनिबार आयोजित सम्पदा पदयात्राको समापन कार्यक्रम भक्तपुर नपा वडा नं. १ स्थित न्हु पुखु (रानीपोखरी) मा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले मानव सभ्यताको विकाससँगसँगै संस्कृति र सम्पदाको पनि विकास भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बेलायती यात्री ईए पावेलले भक्तपुरको सम्पदा अवलोकन छुटेकालाई आधार संसार अवलोकन गर्न छुटेको जस्तो हुने बताएका थिए । यसले पुर्खाको गौरव बढायो भने सँगसँगै हामीलाई सम्पदा संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी पनि दियो ।”
“युनेस्कोले भक्तपुरको संस्कृति, सम्पदा संरक्षण एवम् सरसफाईको मूल्याङ्कन गरी पुरस्कार पनि दिएको थियो भने अन्य सहरलाई पुरस्कार दिन भक्तपुलाई मूल्याङ्कनकर्ताको जिम्मेवारी पनि दिएको थियो”, उहाँले भन्नुभयो ।
प्राकृतिक र सांस्कृतिक दुवै सम्पदालाई संरक्षण गर्नु जरूरी रहेको आवश्यकता औँल्याउँदै सांसद सुवालले भन्नुभयो, “यो न्हुपुखु हाम्रो सांस्कृतिक सम्पदा हो । तर, काठमाडौँ उपत्यकाका कतिपय सांस्कृतिक सम्पदा अतिक्रमणमा परेका छन् । खोलानालाको धार फर्काएर घर–बस्ती निर्माण गरिएका छन् । काठमाडौँ ठमेलको सार्वजनिक कमलपोखरी म्हासेर छाया कम्प्लेक्स व्यापारिक भवन बनाइएको छ । यो व्यापारिक भवन सरकारमा गएका दलको सांसदले उद्घाटन गरेका थिए । सम्पदा अतिक्रमण गर्ने र गराउने पनि भ्रष्टाचार नै हो ।”
ख्वप विश्वविद्यालय विधेयक पारित नगरेको बारे सांसद सुवालले भन्नुभयो, “ख्वप विश्वविद्यालयको विधेयक पारित नगराउने सरकारहरूमा राणा शासनको अवशेष रहेको स्पष्ट हुन्छ ।”
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई अझ जीवन्त बनाउने प्रयासस्वरूप भक्तपुर नपाले यहाँका सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने नीति लिँदै आएको बताउनुभयो ।
कार्यक्रम सफल पार्ने सहभागी सम्पूर्णमा धन्यवादज्ञापन गर्दै उहाँले भक्तपुर महोत्सवको तयारीको रूपमा पनि सम्पदा पदयात्रा कार्यक्रमलाई विशेष महत्वका साथ अगाडि बढाइएको बताउनुभयो ।
पुर्खाले सिर्जेको सम्पत्तिलाई जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरभित्रका पोखरीहरूको उपयोगिताबारे प्रस्ट पार्दै पोखरीहरू ऐतिहासिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण सम्पदाको रूपमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुरानो सम्पदालाई नयाँ किसिमले उपयोग गर्ने भक्तपुर नपाको सोच रहेको छ । पोखरीहरूले वरिपरिको वातावरण सफा र स्वच्छ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले मानव सभ्यताको विकास सँगसँगै मूर्त र अमूर्त सम्पदाहरूको विकास भएको धारणा राख्दैै यस किसिमको कार्यक्रम आयोजनाले भक्तपुरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रमको उद्घाटन सत्रमा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र समापन कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ !’ भन्ने नाराका साथ भनपा वडा नं. ९ को लामगः पुखुबाट सुरू भएको सांस्कृतिक पदयात्रा नगाँचा – ग्वंग पुखु– क्वाठण्डौ पुखु – तिनाछेँ– सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछेँ पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु – नः पुखु – तः पुखु (सिद्ध पोखरी) हुँदै न्हु पुखु (रानी पोखरी) मा पुगी समापन भएको थियो ।
सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिएको थियो । ¥यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, स्वयम्सेवक, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, खेलकुद समिति, बाजा समूह र नगरवासीहरूको उत्साहजनक सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *