भर्खरै :

डेङ्गुसम्बन्धी सचेतना र सतर्कता अपनाऔँ

डेङ्गुसम्बन्धी सचेतना र सतर्कता अपनाऔँ

डेङ्गु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक सरुवा रोग हो । यो एडिस लामखुट्टेले दिउँसो मात्र टोक्ने गर्दछ । डेङ्गु रोग लागेको मानिसबाट अर्को मानिसमा सिधै सर्दैन, लामखुट्टेको टोकाइबाट आफू पनि बच्न अरूलाई पनि बचाउन सबैजना सचेत हुनुपर्छ । यो रोगबाट बचाउन सबै क्षेत्रबाट प्रयास गर्नु आवश्यक छ ।
यो लामखुट्टेले पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । वर्षायामको समयमा पानी जम्ने भाँडाकुडाहरू, रङ्गका खाली बट्टाहरू, अलकटा वा मट्टीतेल, खाली ड्रमहरू, तेलका भाँडाहरू, फूलदानी, गमला, पानीका साना ठूला ट्याङ्की आदिमा फुल पार्ने गर्दछ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप बढेको देखिन्छ ।
डेङ्गु ज्वरोका मुख्य लक्षणहरू
– एक्कासि उच्च ज्वरो आउनु
– आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु
– शरीर कटकटी दुख्नु
– जोर्नी, हड्डी र मांसपेशीहरू साह्रै दुख्नु
– शरीरमा बिमिरा आउने र रक्तचाप हुने
– खाना नरुच्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने
उच्च ज्वरोसँगै माथिका लक्षणहरू देखापरेको अवस्थामा डेङ्गु ज्वरो लागेको शङ्का गर्न सकिन्छ ।
यो डेङ्गु ज्वरो विषाणुको कारणबाट हुने भएकोले यसको खास उपचार छैन भनिन्छ, स्वास्थ्य संस्थाहरूमा रोगको लक्षणअनुसार उपचार गरिन्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु सबैभन्दा उत्तम उपाय हो । पहिले नै संयमित भएर बच्ने उपाय अपनाउनु सही हुन्छ ।
यो रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय हो । त्यसैले अहिले वर्षात्को समयमा पानी परिरहने र आफ्नो घर वरपर फालिएका खाली बट्टा, सिसी र सिसीको बिर्को, गिलास, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, पुराना फालिएका भाँडा, गमला आदिमा पानी जम्न नदिने र यदि पानी भएमा फ्यालेर भाडाहरू सफा गरी घोप्टाउनुपर्छ र सुक्न दिनुपर्छ ।
आफ्नो घरमा राखिएको गमलाको पानी घटीमा हप्ताको दुई पटक सुक्न दिनुपर्छ । यदि सुकाउन सम्भव नभए २ चम्चा डढेको मोविल, मट्टीतेल वा डेटोल हालिदिनुपर्छ । भाँडामा पानी जम्न नदिन घोप्टयाएर राख्नुपर्छ । घरमा प्रयोगका लागि राखिएका पानी ट्याङकीलाई हरेक हप्ता खाली गरी सफा राख्नुपर्छ ।
लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न मलम लगाउनुपर्छ ।
डेङ्गु ज्वरो विरुद्धको खोप तथा खास उपचार नभएको यस परिस्थितिमा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्नु मुख्य उपाय हो ।
अहिले यो रोगको प्रकोप धेरै फैलिरहेको छ । नेपालमा सन २००४ मा डेङ्गुको पहिचान भएको पाइन्छ र २००६ बाट केही क्षेत्रमा डेङ्गु ज्वरो देखिएको थियो । त्यसलगायत चितवन, सर्लाहीलगायत तराईका विभिन्न जिल्लामा फैलिँदै बिस्तारै हाल अन्य धेरै जिल्लामा यसको प्रकोप फैलिएको छ । डेङ्गुको त्रासबाट स्थानीय जनता आक्रान्त छन् । नेपाल सरकारले डेङ्गु रोगबाट बच्न डेङ्गुको वृद्धि र विकास हुने स्रोत तथा क्षेत्रको पहिचान गरी नष्ट गर्नु ‘खोज्न र नष्ट गर’ अभियान नै चलाएको छ । विभिन्न क्षेत्रबाट डेङ्गु रोगको प्रकोप न्यूनीकरण गर्न लागेपरेका छन् । भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवाअन्तर्गत स्थानीय तहमा, ‘समुदायमा खोज र नष्ट गरौँ’ अभियान चलाइरहेको छ । भनपाले स्थानीय विद्यालय र समुदायमा डेङ्गुसम्बन्धी सचेतना अपनाउन विभिन्न क्रियाकलापहरू गर्दै आइरहेको छ । भक्तपुरका जनताले डेङ्गु ज्वरोबाट बच्न, सचेतना अपनाउन आफू र आफ्ना वरपर डेङ्गु रोग फैलिन नदिन महामारी हुनबाट बच्न घर–घरमा, टोल–टोलमा स्थानीय जनताबिच ‘खोज र नष्ट गर’ अभियानलाई प्रभावकारी बनाउन सचेतना ¥याली, घरदैलो कार्यक्रमलगायत वडा र विद्यालयहरूको सहकार्यमा विद्यालयमा, स्थानीय जनताको सहकार्यमा सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । स्थानीय वासीहरूको बसोबास र वरिपरिको वातावरणले जनतालाई स्वास्थ्यसम्बन्धी अझ धेरै सचेतना अपनाउन आवश्यक महसुस भयो । खानेपानीको अभावसँगै सङकलित पानीको उचित व्यवस्थापन गर्न नसक्दा, खुलारूपमा सङकलित पानी राख्नुपर्ने बाध्यता छ, चोकमा आकासेपानी बाल्टिन या भाँडोमा पानी सङ्कलित गर्दा लामखुट्टेका अण्डा र लार्भा प्रशस्त देखियो । खानेपानीका ड्रमहरू अधिक मातामा खुला रहेको र प्लाष्टिक वा बोराहरूले छोपेर राख्दा पनि खुकुलो र व्यवस्थित नभएको स्थिति रहेको दखियो ।
हामी आफू स्वस्थय रहन स्थानीय तहमै हामीले आ–आफ्नो घरघरबाट डेङ्गुलाई न्यूनीकरण गर्ने उपायहरू अपनाउनु जरुरी छ । डेङ्गु रोग लाग्न नदिन सबै तर्फबाट सचेतना अपनाऔँ, डेङ्गुबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ, लामखुट्टेको बासस्थान खोजी खोजी नष्ट गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *