भर्खरै :

देश जोगाउने र बनाउने सरकारको दायित्व

देशलाई जोगाउनु र बनाउनु सरकारको प्रमुख दायित्व हो । देश नजोगाउने र देश नबनाउने दल देशभक्त हुनै सक्दैन । कुनै लोभलालच र दबाबमा फसेर देशलाई दूरगामी असर पार्ने, देशको सार्वभौमसत्तामा आँच पुग्ने काम कुनै पनि सरकारले गर्नु हुँदैन । सरकारले देश जोगाउन मनलागी सन्धि सम्झौतामा हस्ताक्षर गर्नु हुँदैन भने देश बनाउन मुलुकको अर्थतन्त्रलाई गतिशील, उत्पादनशील र प्रतिस्पर्धा बनाउनुपर्छ । मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन यहाँका उद्योगधन्दा, कलकारखाना, घरेलु उद्योग सञ्चालन तथा स्रोत र साधन उपयोग गर्नुपर्छ । देश जोगाउन देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच पुग्ने खालको कुनै पनि सहमति, सन्धि र सम्झौतामा सरकारले हस्ताक्षर गर्नुहुँदैन । यसमा सरकार चुके नेपालको भविष्य अन्धकार हुनेछ । यस मामिलामा सत्तासीन दलका नेता र मन्त्रीहरू चनाखो हुनुपर्छ, देश र जनताप्रति गम्भीर र संवेदनशील हुनुपर्छ ।
मुलुकमा राणा हुँदै निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य भयो । सवैधानिक राजतन्त्र हुँदै सङघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । यो एक प्रकारको राजनीतिक परिवर्तन हो । तर, यो राजनीतिक परिवर्तनपछि बहुमत जनताले के पाए ? देशमै काम मामको व्यवस्था कति भयो ? भ्रष्टाचार, कालाबजारी कति कम भयो ? पैसा, सामान र लोभलालच बाँडेर चुनाव जित्ने काममा कति सुधार भयो ? देशमा निर्यात कति कम भयो र आयात कति बढी भयो ? यो राजनीतिक परिवर्तनपछि देश केकेमा आत्मनिर्भर भयो ? कि परनिर्भर हुँदै गएको छ ? यी काममा गणतन्त्र स्थापनापछिका सरकारहरू कति सफल भए ? यी काममा सरकार सफल भएन भने अरूले प्रश्न तेस्र्याउनु स्वाभाविक हो । तर, सरकारको कमजोरीलाई आधार बनाएर देशमा प्रतिगमन फर्काउनु त्यसको विकल्प होइन । समाज पछि होइन अघि बढ्छ ।
सरकारको अर्को महत्वपूर्ण काम स्थिरता र विकास हो । स्थिरता र विकासको निम्ति सरकार, सत्तारुढ दल, दलका जनवर्गीय सङ्गठन र कर्मचारीहरू निरन्तर लाग्नुपर्ने हो । तर, यो पनि व्यवहारतः देशमा देखिँदैन । गठित सरकारले आफ्नो कार्यकाल पूरा गर्न सकेन । एउटै कार्यकालमा पनि तीन चार पटक सरकार फेरियो । राजनीतिलाई भागबन्डा, पद र पैसासँग तुलना गर्दा, पद र पैसाको निम्ति राजनीति गर्दा यो समस्या निम्तिएको हो । त्यसकारण, सरकार स्थिर भएन । यसमा भागबन्डाको राजनीति गर्ने ठूला दलहरू नै जिम्मेवार छन् । विकासको गति पनि उचाइमा पुगेन । विकास कार्य ५० प्रतिशत पनि गर्न सकिएन । एकातिर विकास समयमा भएको छैन भने अर्कोतिर विकासमा व्यापक चुहावट भइरहेको छ, अनियमितता भइरहेको छ । यो देशको अर्को समस्या हो । यो समस्या यथावत छ ।
यहाँ अपराधीहरू कारबाहीमा पर्दैनन् । अपराधीहरूले मान–सम्मान पाउँछन् । नेता र मन्त्रीहरू ठेकेदार, बिचौलिया, भ्रष्टाचार र कमिसनखोरको चक्करमा फस्छन् । उनीहरूबाटै सत्तारुढ दलका नेता र कार्यकर्ताहरू पालिएका हुन्छन् । अनि देशमा कसरी स्वच्छ राजनीति हुन्छ, देशमा कसरी सुशासन हुन्छ ? सर्वसाधारणले न्याय पाउँदैनन्; काम पाउँदैनन्; कामअनुसार ज्याला पाउँदैनन् भने देश कसरी समृद्ध हुन्छ, जनताको जीवन कसरी सुनिश्चित हुन्छ ? घोषित अघोषित अपराधीहरूको घेरामा फसेका देशका शासक र सरकारी नेताहरू कसरी इमानदार हुन्छन् ? कसरी स्वच्छ मनका हुन्छन् ? यस्तो सरकारले देश कसरी बन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *