ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
मध्यपुर, २९ साउन । यो वर्षको विविध भाषा साहित्य सम्मेलन नगदेशमा हुने भएको छ । विविध भाषा साहित्य समाजको आयोजनामा सोमबार नगदेशमा भएको भेलाले अशोक अवालको अध्यक्षतामा ११ सदस्यीय आयोजक समिति (ग्वसाखल) गठन गरेको छ ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले साहित्य सम्मेलन जनताको चेतनास्तर उठाउने र वर्गसङ्घर्षको एक भाग भएको हुँदा भव्यरूपमा सम्पन्न गर्न सबैले मेहनत गर्नुपर्ने बताउनुभयो ।
उहाँले सम्मेलनमा शिक्षा, स्वास्थ्य, कानुन, संस्कृति, साहित्य, इन्जिनियरिङलगायत विभिन्न क्षेत्रका विज्ञहरूले सम्बोधन गर्ने हुँदा साहित्य सम्मेलन जनताका लागि एक प्रकारको विश्वविद्यालय हो भन्नुभयो ।
सम्मेलनमा प्रस्तुत हुने साहित्यहरू उत्कृष्ट हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “सम्मेलनअघि स–साना साहित्य गोष्ठीहरू गर्नुपर्छ । त्यहाँ उत्कृष्ट ठहरिएका साहित्यहरूलाई मौका दिनुपर्छ । यसले सम्मेलनको स्तर बढ्छ ।”
“यस अवधिसम्म आइपुग्दा विविध भाषा साहित्य समाजबाट तयार भएका कवि, साहित्यकार, कलाकारको समीक्षा गर्नुपर्ने र हालसम्मका उत्कृष्ट साहित्यहरूको सङ्ग्रह गरी पुस्तक प्रकाशित गर्नु उचित हुन्छ,” उहाँले बताउनुभयो ।
नेमकिपा मध्यपुर नगर समितिका संयोजक रमेश वैद्यले विविध भाषा साहित्य सम्मेलन सबै भाषाभाषीहरूको साझा मञ्च हो र त्यस मञ्चको तर्फबाट जनतालाई राजनैतिक र सांस्कृतिकरूपले सचेत पार्दै आएको बताउनुभयो ।
स्थानीय विक्रम वैद्यले विविध भाषा जनताबिच सम्पर्क बढाउने माध्यम भएको र नयाँ नयाँ सम्पर्क बढाई सङ्गठनात्मक गतिविधिमा पनि सक्रिय हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भेला विविध भाषा साहित्य समाजका कोषाध्यक्ष विजयलक्ष्मी प्रजापतिको सभापतित्वमा भएको थियो ।
Leave a Reply